भोजपुर भिडन्त : सांसदहरुले मागे गृहमन्त्री र प्रहरी महानिरीक्षकको जवाफ

भोजपुरमा भएको भिडन्त र मृत्युको विषयलाई लिएर सांसदहरुले गृहमन्त्रीको जवाफ मागेका छन् । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा कांग्रेस सांसद डिला संग्रौलाले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण माग गर्नुभएको हो । उहाँले प्रहरीको नै मृत्यु हुने गरी भएको भिडन्तले शान्ति सुरक्षामाथि समेत प्रश्न उठेको भन्दै जवाफ दिन माग गर्नुभयो ।

जवाफमा महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चलेको र जवाफी फायरिङमा प्रहरीका र चन्द पक्षका एक कार्यकर्ताको मृत्युको पुष्टि भएको जानकारी दिनुुभयो । उहाँले घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि समितिलाई जानकारी गराउनुभएको थियो ।

आज बिहान भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्