सेमिफाइनल पुग्ने भारत बन्याे दोस्रो टिम, बंगलादेशलाई २८ रनले हरायाे

भारतले विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियापछि सेमिफाइनलमा पुग्ने भारत दोस्रो टिम हो ।

मंगलबार बर्मिङ्घममा भएको खेलमा भारतले बंगलादेशलाई २८ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले बंगलादेश सामु ३ सय १५ रनको लक्ष्य राखेको थियो । तर ४८ ओभरमा अल आउट हुँदै बंगलादेशले २ सय ८६ रन मात्रै बनाउन सक्यो । बंगलादेशका लागि शकिब अल हसनले ६६, मोहम्मद सैफुद्दिनले ५१, सबिर रहमानले ३६, सौम्य सरकारले ३३, मुस्फिकर रहिमले २४, लिटोन दास र तमिम इक्बालले २२–२२ रन बनाए ।

भारतका जसप्रीत बुमराहले चार तथा हार्दिक पाण्डेयले तीन विकेट लिए । पहिलो ब्याटिङ गरेको भारतले रोहित शर्माको शतकीय पारीको सहयोगमा ९ विकेटको क्षतिमा ३ सय १४ रन बनायो । शर्माले १ सय ४ रन बनाए । त्यसैगरी केएल राहुलले ७७, ऋषभ पन्तले ४८, महेन्द्र सिंह धोनीले ३५ र विराट कोहलीले २६ रन बनाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले पाँच विकेट लिए । हारसँगै बंगलादेशको सेमिफाइनलमा पुग्ने संभावना सकिएको छ । आज इग्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ । आजकाे खेलमा विजयी हुने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *