डलर र सुन साट्ने भन्दै ठगी गर्ने गिरोह काठमाडाैंमा सक्रिय

वैदेशिक रोजगारीबाट फर्किएकासँग डलर र सुन साट्ने भन्दै नक्कली नोट दिएर ठग्ने तथा लुटपाट गर्ने गिरोह काठमाण्डाैलगायत आसपासका क्षेत्रमा सक्रिय छन्।

उनीहरू काठमाण्डौको नयाँ बसपार्क, बौद्धलगायत क्षेत्रमा यसरी ठगी कार्यमा सक्रिय रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डाैले डलर र सुन साट्ने भनेर कसैले प्रलोभन दिएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार विगतदेखि नै यस्ता व्यक्तिहरू सक्रिय रहेकाले निगरानी बढाएर धेरैलाई पक्राउ गरिएको छ।

आइतबार मात्रै पनि परिसरले यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको साँगाबाट डलर र सुन साट्ने भनी लुटपाट गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ घर भई काभ्रे पाँचखाल बस्ने जीतबहादुर तामाङ र धुलिखेल बस्ने रामबहादुर तामाङ पक्राउ गरेको परिसरले जनाएको छ।

यसअघि नयाँ बसपार्कबाट यसैगरी ठगी गर्दै आएका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको थियो। जीतबहादुर र रामबहादुरले नयाँ बसपार्क र बौद्ध क्षेत्रलाई मुख्य आधार बनाई विदेशबाट फर्किएका व्यक्तिहरूलाई डलर र सुन साट्नेलगायत अन्य विदेशी रकम बढीमा साट्ने भन्दै ठगी गर्ने गरेको खुल्न आएको छ।

उनीहरूले पैसाको बण्डलको अगाडि र पछाडि सक्कली नोट राखी भित्र कागज राखेर ठग्ने गरेको परिसरको भनाइ छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Leave Comment

Your email address will not be published. Required fields are marked *