रेडियो पर्वतमा आगलागी हुँदा प्रसारण बन्द

जिल्लाको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा मंगलवार राति आगालागी भएको छ ।

राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ ।

आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, २ मिक्सचर, हाइब्रिड, टेलिभिजन लगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेसन म्यानेजर शंकर शर्माले बताए ।

आगलागी भएसँगै बिहानदेखि रेडियोको प्रसारणसमेत बन्द भएको छ । कुनै पनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको विकल्प नभएको शर्माले बताए । उनका अनुसार आगलागी भएपछि स्थानीय र प्रहरीको सक्रियतामा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

विद्युत् जडान गरिएको स्वीचमा समस्या आएका कारण पूर्णरूपमा क्षति पुगेको हो । आगलागीबाट रेडियो सञ्चालित घरका ३ कोठामा समेत क्षति पुगेको छ । झण्डै ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएपनि यकिन विवरण भने आइनसकेको शर्माले जानकारी दिए । तत्काल थाहा पाएका कारण कुनै मानवीय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

विक्रम संवत् २०६४ देखि ग्रामीण क्षेत्र फलेवासबाट प्रसारण हुँदै आएको यो यस क्षेत्रको पहिलो सामुदायिक रेडियो हो ।

Leave Comment

Your email address will not be published. Required fields are marked *