बागलुङकाे स्वास्थ्य क्षेत्रको सुधार गर्न स्थानिय तह प्रतिवद्ध

बागलुङ-
जिल्लाको पोषण तथा स्वास्थ्य क्षेत्रलाई सुधार गर्नका लागि बागलुङका दश वटै स्थानिय तहले प्रतिवद्धता व्यक्त गरेका छन ।
जिल्ला स्तरीय स्वास्थ्य तथा पोषण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी मार्फत जिल्लामा संचालन भएको सुआहारा कार्यक्रम र स्वास्थ्य क्षेत्रका अन्य कार्यक्रमलाई प्रभावकारी बनाउनका लागी १८ बुँदे प्रतिवद्धता पत्र समेत तयार पारिएको छ ।
हरेक स्थानिय तह अनुसार जिल्लाको मातृ शिशु बाल स्वास्थ्य तथा पोषण संग सम्बन्धित मुख्य सुचकहरुको जानकारी लिने र छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा आगामी दिनमा थप प्रगतीको लागि कार्ययोजना समेत निर्माण गरिएको स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले जानकारी दिए ।
विषेश गरी बालबालिका र एक हजार दिनका आमाहरुको स्वास्थ्य र पोषणका लागि स्थानिय तहको भुमिका कस्तो हुने । आगमी दिनमा सुआहारा कार्यक्रमलाई कसरी अगाडी बढाउने विषयमा सरकोकारवाला विच छलफल पश्चात उक्त प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।
बालबालिकाहरुलाई कुषोषण बाट मुक्त र पोषणका कार्यक्रमलाई व्यापक बनाउनुका साथै स्वाथ्यका अन्य कार्यक्रमलाई पनि सहज ढंगले संचालन गर्नका लागि लागि स्थानिय तह प्रतिवद्ध भएका छन ।
स्वास्थ्य क्षेत्रको सुधारको लागि जिल्लाका सवै स्थानिय तहले सवै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने, बालबालिकाको पोषणको लेखाजोखा, तथा बृद्धि अनुगमन, एक घर एक करेसाबारी निर्माण कार्यक्रमलाई अगाडी बढाउने, आगामी ५ वर्ष भित्र स्वस्थ्य सफा र पुर्ण पोषयुक्त वडा घर अभियान संचालन गर्ने जस्ता योजना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
त्यसैगरी, बालविवाह न्युनिकरण अभियान संचालन, विद्यालयमा महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण गर्दै महिनावारी स्वच्छताका लागि सेनेटरी प्याड निर्माण तालिम दिने पनि प्रतिवद्धतामा उल्लेख गरिएको सुआहारा कार्यक्रम बागलुङका कार्यक्रम संयोजक चिरञ्जीवी दाहालले बताए ।
स्थानिय तहले विद्यालयहरुमा जंकफुड निषेधित कार्यक्रम संचालन गर्ने घरमा हुने सुत्केरी दरलाई शुन्य गर्ने रणनिति लागु गर्ने, गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुलाई पोषणयुक्त खाना, हरेक बार खाना चार लागनुगर्ने अभिप्रेरीत गर्ने र सुत्केरी प्रश्चातको चेक जाँचका लागि स्वास्थ्यकर्मिहरु घरमा नै गएर सेवा दिने जस्ता कार्यक्रमलाई अगाडी बढाउन प्रतिवद्ध भएका छन ।
कार्यक्रम प्रति जिल्ला समन्वय समिति, सवै स्थानिय तहका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्य कार्यालय, बागलुङ, सुआहारा कार्यक्रम र स्थानिय नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशन र अन्य सरोकारवालाको प्रतिवद्धता रहेको छ ।
जिल्लामा पोषण लक्षित कार्यक्रमको विकास भएर कार्यान्वयनको पक्षमा रहेको हुनाले आगामी दिनमा थप प्रगतीका लागि कार्ययोजना समेत निर्माण गरिएको नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनका कार्यक्रम संयोजक विश्वनाथ आचार्यले बताए । आफ्ना स्थानिय तहका हरेक स्वास्थ्यका सूचकमा छलफल गरी आगामी दिनमा नयाँ कार्ययोजना निर्माण गर्ने जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले बताए । उनले स्वस्थ्य नगर निर्माणका लागि समाज र समुदायमा छलफल गरी सोही अनुसारका कामलाई अगाडी बढाई प्रतिवद्धतामा उल्लेखित बुदाँहरुलाई कार्यान्वयन तर्फ लैजाने बताए । गोष्ठीमा जिल्लाका सवै स्थानिय तहहरुले स्वास्थ्यका कार्यक्रमका बारेमा प्रस्तीकरण गरेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णराज गौतमको अध्यक्षता स्वास्थ्य कार्यालयका तथ्याङक सहायक घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्