विश्व अर्बपति सूचीमा चौधरीको छलाङ,कति पुग्यो त सम्पत्ति ?

काठमाडौं -विश्वका २१ सय ५३ डलर अर्बपतिमध्ये नेपालका विनोद चौधरीले पनि छलाङ मारेका छन्। चौधरीले गत वर्षभन्दा २१४ स्थान माथि उक्लिने क्रममा २० करोड अमेरिकी डलरबराबरको सम्पत्ति थपेको फोर्ब्सले जनाएको छ। आजकाे डलर विनिमयअनुसार चाैधरीकाे सम्पत्ति २२ अर्ब ६५ कराेड रुपैयाँ बढेकाे हाे।

नेपालका एक मात्र डलर अर्बपति चौधरीको सम्पत्ति २०१९ मा बढेको फोब्र्सले जनाएको छ। फोब्र्सले जारी गरेको विश्वका अर्बपतिहरुको सूचीमा चौधरी १३४९औँ स्थानमा पर्न सफल भएका हुन्।

फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर अर्थात् झण्डै १ खर्ब ९२ करोड नेपाली रुपैयाँ रहेको छ।

चौधरी सीजी कर्प ग्लोबलका प्रमुख हुन् भने नेपालमा नबिल बैंकमा समेत उनको स्वामित्व रहेको छ। त्यस्तै चौधरी ग्रुपमार्फत समेत विनोद चौधरीले खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालन गरेका छन् भने विद्युतीय व्यापार र होटल क्षेत्रमा समेत चौधरीको उल्लेख्य लगानी रहेको छ।

चौधरीको सीजी फुडअन्तर्गत वाइवाइ चाउचाउ उत्पादन हुने गरेको छ, जुन भारत, सर्विया, बंगलादेश र साउदी अरेबियाबाट समेत उत्पादन हुन्छ।

फोब्र्सका अनुसार चौधरीको होटलतर्फ २९ वटामा लगानी स्वामित्व र ७० वटामा व्यवस्थापकीय सम्पत्ति समेत रहेको छ, जुन इन्डियाको प्रसिद्ध ताज होटलको चेन होटलका रुपमा सञ्चालनमा रहेका छन्।

उनका छोराहरुमध्ये निर्वाणले नेपालमा र वरुण र राहुलले नेपालबाहिर चौधरीलाई व्यवसायमा सघाउँदै आएका छन्।

सन् २०१८ को मार्चमा चौधरीको सम्पत्ति १५ सय ६३औँ स्थानमा रहेका चौधरीले १ वर्षको अन्तरालमा २० करोड डलर सम्पत्ति थप्दै १३४९औँ स्थानमा छलाङ मार्न सफल भएका हुन्।