तेस्रो संस्करणको डीपीएलको उपाधि अत्तरियालाई

धनगढी- तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को उपाधि सीवाईसी अत्तरियाले जितेको छ ।

शनिवार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा सीवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गरेको हो ।

च्याम्पियन बनेको अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको महेन्द्रनगरले १२ लाख पायो । टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२३ जोडेको थियो ।

महेन्द्रनगरले दिएको लक्ष्य अत्तरियाले खेल सकिन एक बल बाँकी छँदा सात विकेट गुमाएर भेट्टायो ।

अत्तरियाको जीतमा सन्नी पटेल नायक बने । उनले २६ बलमा नटआउट ४७ रन जोडे । त्यस्तै जयकिशन कोल्सावालाले ३० रनको योगदान दिँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन जोडे ।

बलिङतर्फ महेन्द्रनगरका लागि मोहमद नाभिद र सागर ढकालले समान दुई/दुई तथा अविनाश बोहरा र शाहब आलमले समान एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाउने क्रमममा दिलिप नाथले सर्वाधिक ४३ रन जोडे । त्यस्तै कुशल मल्लले २५ रनको योगदान दिँदा रोहित कुमार पौडेलले २४ तथा आरिफ शेखले ११ रन बनाए ।

अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान दुई/दुई विकेट हात पारे ।

प्रतिक्रिया जनाउनुहोस्