सापटी रकम लिन बाेलाएर महिलालाई प्रहरी अधिकारीले नै गरे बलात्कार

मुगु । सापटी लिएको रकम फिर्ता लिन बोलाएको र रकम लिन गएकी महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा एकजना प्रहरी नायब निरीक्षकलाई प्रहरीले पक्राउ गरिएको छ ।

छायानाथ-रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी एक महिलालाई प्रहरी नायब निरिक्षक (सई) सुर्यबहादुर शाहीले सापटी लिएको रकम लिन आउन भनी बोलाएको र रकम लिन जाँदा शुक्रबार बेलुकी साढे ६ बजेतिर जबरजस्ती करणी गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छायानाथ-रारा नगरपालिका वडा नम्बर २ मा पर्ने चैन खोलामा हुम्ला जिल्ला चंखेली गाउँपालिका दार्मा गाउँ स्थायी घर भई हाल अस्थायी प्रहरीचौकी, चैन, मुगुमा कार्यरत शाहीले महिलामाथि जबर्जस्ती गरेका हुन् ।

काम विशेषले आफु घरबाहिर गएको र साँझ साढे ६ बजेतिर घरमा श्रीमती नदेखेपछि सोध्दा कसैले पैसा लिन बोलाएकाले त्यतैतिर गएको भन्ने सालीबाट थाहा पाएको तर लामो समयसम्म पनि नआउँदा खोजी सुरु भएकाे पिडीत महिलाका श्रीमान कमल नेपालीले बताए ।

खाेजी गर्ने क्रममा रातिसम्म कता गएको भने पछि प्रहरी चौकि चैनमा रहेका सईले रकम लिन बोलाएको र चैन खोलामा पुग्दा जर्बजस्ती गरेको श्रीमतीले बताएपछि तत्काल अाफूले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको कमलले बताए ।

प्रहरीले दोषी शाहीलाई पक्राउ गर्न आनाकानी गरेको तर आफूले लगातार दबाव दिएपछि पक्राउ गरेको उनकाे भनाइ छ । तर जिल्ला प्रहरी कार्यालय भित्रै दोषी शाहीले आफूलाई धम्क्याएको समेत नेपालीको भनाई छ ।

पहिला बजारमा रहेको किराना घुम्ती पसलबाट सामानहरु लिने गरेका शाहीले एक दिन राती मदिरा सेवन गरि घुम्ती समेत फुटाएको तर चैन गाउँका स्थानीयको आग्रहमा आफुले छुट दिएको नेपालीले बताएका छन् ।

शुक्रबार साँझ शाहीले फोन गरी आफु प्रहरी चौंकि सोरुकोटमा सरुवा भईसकेको र बिहानै जाने तयारी भएकाले पैसा लिन आउन भनेपछि पैसा लिन गएको बेला चैन खोलामा जबरजस्ती गरेको पिडीत ३० वर्षीया कान्छी नेपाली (नाम परिवर्तन) ले बताईन् । शाहीले आफनो घुम्ती पसलबाट बेला बेलामा सामान लिने गरेको र असईबाट सईमा बढुवा भएको बेला केही महिना पहिले दुई हजार नगद समेत सापटी लिएको उनले बताईन् ।

शुक्रवार साँझ पैसा लिन आउन भन्दै फोन गरे पछि आफुले साँझको बेला नआउने बताए पनि शाहीले आफू सरुवा भई जान लागेकाे भन्दै अत्याएका थिए । विश्वासकै अाधारमा आफू पैसा लिन जाँदा पैसा पाउनुकाे साटाे बलात्कृत हुनुपरेको पीडितले बताईन् । अब दोषी शाहीलाई कारवाहीका लागि मुद्दा दिने तयारी गरिरहेको नेपाली दम्पतिले बताएका छन् ।

जर्बजस्ती करणी भएको भन्ने मौखिक जानकारी आउनेबित्तिकै सई शाहीलाई पक्राउ गरिसकिएको र दुबैजनाको स्वास्थ्य परीक्षणसमेत भएकाे जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरिक्षक लालबहादुर ऐरले जानकारी दिए । उनले पिडितका पक्षबाट जाहेरी दरखास्त नआएको बताउँदै क्यामेरामा बोल्न चाहेनन् ।

प्रतिक्रिया जनाउनुहोस्