जापानका बूढापाकालाई किन जेल नै प्यारो ?

बीबीसी -विश्वमै सबैभन्दा बढी वृद्ध जनसङ्ख्या रहेको देश जापानमा पछिल्लो समय ६५ वर्ष माथिका अपराधीहरुको सङ्ख्या पनि लगातार वृद्धि भइरहेको पाइएको छ । बिबिसीले हिरोसिमास्थित कैदीहरु मुक्त गरिने ठाउँमा एक ६९ वर्षीय कैदी तोसियो तकातासँग कुरा गरेको हो । उनले आफू गरिब भएका कारण कानुन तोडेर जेलमा बस्न आएको बताए । आफूले जेलमै भएपनि निःशुल्क शरण लिन चाहेको उनको भनाइ छ ।

उनले भने, ‘म पेन्सन पाउने उमेरमा पुगिसकेँ तर मेरो सबै पैसा बस्न खानमा सकियो । यसैले जेलमा निःशुल्क बस्न पाइन्छ भन्ने सोचेर मैले एक व्यक्तिको साइकल लिएर पुलिसचौकी भागेँ ।’ ६२ वर्षको उमेरमा यो उनको पहिलो अपराध थियो र उनका अनुसार यो योजनाले साचेजस्तै काम गर्यो र उनी विरुद्ध एक वर्षको जेल सजायँ तोकियो । जापानमा सानातिना अपराधलाई पनि गम्भीर रुपमा लिइने गरिएको हुँदा तोसिओले यस्तो सजायँ पाएका हुन् । बीबीसीसँगको कुराकानीमा बेलाबेला हाँस्दै बोल्ने तोसियोलाई हेर्दा कसैले पनि उनले चक्कु देखाएर महिलालाई धम्क्याउन सक्छन् भन्ने अनुमान गर्न सक्दैन । तर उनले एक वर्षपछि जेलबाट छुट्नासाथ वास्तवमै एउटा पार्कमा गएर केही महिलाहरुलाई चक्कु देखाइ धम्क्याए । उनी भन्छन्, ‘म कसैलाई हानि पुर्याउन चाहदिनथेँ तर धम्की दिँदा कसैले पुलिस बोलए हुन्थ्यो भनेर मैले त्यसो गरेँ र मेरो इच्छा पूरा पनि भयो ।’ यसरी तोसियोले पछिल्लो ८ वर्ष आधा भन्दा बढी समय जेलमा बिताए ।

यसपछि उनलाई जेल किन यति धेरै मन पर्छ भन्ने प्रश्न गर्दा उनले यस्तो जवाफ दिए, ‘जेलमा भएपनि मेरो पेन्सन आउने क्रम रोकिँदैन । त्यसैले जेलबाट छुटेपछि मसँग थुप्रै पैसा जम्मा भएको हुन्छ । मलाई जेल मन परेर म यसरी बसेको होइन निःशुल्क शरण लिनलाई मात्र यस्तो गरेको हुँ ।’

तोसियोको जस्तै कारण देखाएर अपराधमा संलग्न हुने ट्रेन्ड वृद्धहरुमाझ प्रचलित बन्दै गइरहेको छ । हाल जापानमा ५ मध्ये एक वृद्ध यसरी नै विभिन्न अपराधमा संलग्न हुने गरेको पाइएको छ । जुन २० वर्ष अगाडिसम्म २० मध्ये एकको दरमा थियो । त्यस्तै यी अभियोग लागेकाहरुको अपराध पनि तोसियो जसरी नै बारम्बार दोहोरिने गरेको पाइएको छ । सन् २०१६ मा कैद २ हजार ५ सय वृद्ध अपराधीहरुमा एक तिहाइ भन्दा बढी त्यसअघि ५ पटक दोषी पाइएका थिए ।

यसमा अर्की उदाहरण हुन् ७० वर्षीया केइको (नाम परिवर्तन) । सानो शरीर र सफा चट्ट देखिने केइकोले पनि गरिबीका कारण जेल बस्न बाध्य भएको बताएकी छन् । उनी भन्छिन्, ‘म मेरो पतिसँग मिल्न सकिनँ । तर मसँग अन्त कतै जाने ठाउँ थिएन । त्यसैले म चोरी गर्न बाध्य भएँ ।’  राम्ररी हिँड्न समेत नसक्ने ८० वर्षीय वृद्धहरु समेत विभिन्न अपराधमा संलग्न भइरहेको पाइएको छ । खाना र पैसा नभएकाले नै उनीहरु यस प्रकारका हर्कत गर्ने गर्दछन् किनकी जेलमा उनीहरुले दिनमा तीनपटक निःशुल्क खाना र शरण लिन पाउँछन् । विशेषगरी वृद्धहरु पसलबाट सामान चोरी गर्दैगर्दा पक्राउ पर्ने गरेका छन् । यसरी उनीहरुले एकदम थोरै मूल्यका सामान चोरी गर्दा समेत भारी सजायँको सामना गर्नुपर्ने हुन्छ ।

टोकियोस्थित अनुसन्धानकर्ता मिकेल न्युमनका अनुसार जापानले वृद्धहरुका लागि प्रदान गर्ने पेन्सन दैनिकी कटाउन पर्याप्त नभएकाले पनि यस्तो भएको हो । पेन्सनबाट प्राप्त रकमले मात्र खान, कोठा भाडा, स्वास्थ्य लगायतका खर्च एक्लै बेहोर्दा यसले जोकोहीलाई पनि ऋणमा डुबाउन सक्ने न्युमन बताउँछन् । यसरी अन्य कुनै आयको श्रोत नभएका वृद्धहरुले तातो लुगासमेत जुटाउन नसक्ने उनको भनाइ छ । विगतमा छोराछोरीले वृद्ध बाबुआमाको ख्याल राख्ने परम्परा रहेको थियो । तर रोजगारीको अवसर कम हुँदै गएपछि धेरैले बाबुआमालाई आफैँ गुजारा गर्न भनि छाडेर जान थालेका हुन् । यस्तोमा उनीहरु पनि आफ्ना छोराछोरीका निम्ति बोझ बन्न चाहाँदैनन् र आफैँ जीउने प्रयास गर्छन् । तर पेन्सनले मात्र दैनिकी चलाउन नसकेपछि अधिकांशले जेललाई नै घर बनाउने गरेको न्युमनले बताए । यसरी जेलमा दैनिक तीनपटक निःशुल्क खान पाउने भएकाले उनीहरु पटकपटक एकैकिसिमका अपराधमा संलग्न भइ बारम्बार कैद हुने गर्दछन् ।

यसबारेमा ८५ वर्षीया कानिची यमाडाले भनेकी छन्, ‘गरिबी त एउटा बाहाना मात्र हो वास्तवमा हामी सबै एक्लोपनाका कारणले यस्तो भएका हौँ । समयसँगै मानिसबीचको सम्बन्ध बदलिँदै गइरहेको छ । हिजोका मानिसहरु धेरै एक्लो भइसकेका छन् । जसकारण उनीहरुले समाजमा कतै स्थान पाउँदैनन् र अन्त्यमा जेलबाहेक कुनै विकल्प रहँदैन ।’ श्रीमान वा श्रीमतीको मृत्यु हुने र त्यसपछि छोराछोरीले पनि छाडेर जाने गरेपछि वृद्धहरु एक्लै गुजारा गर्न बाध्य हुन्छन् । तर जेलमा उनीहरुले आफ्नो उमेरका धेरै साथी फेला पार्ने पार्छन् जसकारण वृद्धहरु जेलमै बढी रमाउने गरेको पाइन्छ ।

सरकारले जेलको क्षमता बढाउँदै गर्दा पछिल्लो समय वृद्धहरुको औषधि उपचारको खर्च पनि बढ्न पुगेको हो । यस्तोमा परामर्शकर्ताले उनीहरुलाई वास्तविक खुसी जेल बाहिर छ भन्ने बताइरहे पनि वृद्धहरु जेल जीवनलाई नै धेरै राम्रो मान्ने गर्दछन् र फेरि सानातिना अपराधको अभियोगमा कैद हुने गर्दछन् ।

यता जापानी सरकारको साना अपराधका लागि पनि वर्षौँ जेल राख्ने नीति पनि विवादास्पद बताइएको छ । अपराधका हिसाबाले यस प्रकारको सजायँ उपयुक्त नभएको विश्लेषकको भनाइ छ । जस्तै २०० येनको खानेकुरा चोरी गर्दा उनीहरुले कि ८४ लाख येन जरिबाना तिर्नुपर्छ नत्र दुई वर्ष जेलमा कैद हुनु पर्छ । तर सरकारी अधिकारीहरुले भने जनतालाई अपराधमुक्त समाजमा बस्न सिकाउन यस्तो कडा नीति लागु गरिएको बताउने गरेका छन् ।

Leave Comment

Your email address will not be published. Required fields are marked *