बागलुङ नगरपालिकाको सेवा अब बजारबाटै

बागलुङ, – 
बागलुङ नगरपालिका कार्यालयले बागलुङ बजारबाटै सेवा दिने भएको छ । विगत केही वर्ष देखि बागलुङ नगरपालिका—४ रात्माटामा रहेको कार्यालयबाट सेवा सञ्चालन गरिरहेको नगरपालिका बजार भित्रै झर्ने भएको हो । नगरपालिकाले बागलुङ बजार स्थीत साविकका कृषि विकास कार्यालय, पसु सेवा कार्यालय, महिला तथा बालबालिका कार्यालय र भू—संरक्षण कार्यालयबाट आफ्नो सेवा दिन लागेको हो । नगरपालिकाको मुख्य कार्यालय साविकको कृषि विकास कार्यालयमा रहनेछ भने अन्य ठाउँमा मातहतका कार्यालय रहनेछन् ।
बागलुङ बजारमा कार्यालय सार्नका लागि भवनको खोजी गरिरहेको नगरपालिकाले केन्द्रीय सरकारको स्वामित्वमा रहेको भवनमा आफै नगरपालिकाको बोर्ड राखेको छ । बागलुङ नगरप्रमुख जनकराज पौडेल र उपप्रमुख सुरेन्द्र खड्का तथा वडाध्यक्षहरु सहित जनप्रतिनिधिको टोलीले उक्त कार्यालयहरुमा नगरपालिकाको बोर्ड राख्ने र ताल्चा लगाउने कार्य गरेको हो । जिल्ला समन्वय समितिमा बैठक बसेर कृषि र पशु, महिला बालबालिका र भूसंरक्षणको कार्यालय बागलुङ नगरपालिकालाई १० दिन भित्र हस्तान्तरण गर्ने भनिए पनि ढिलाई गरेका कारण आफुहरुले ती भवनमा बोर्ड राखेर तालाचाबी समेत आफ्नो हातमा लिएको बागलुङ नगरपालिका—९ तित्याङका वडाध्यक्ष गणेश थापाले बताए ।
‘यी भवनहरु बागलुङ नगरपालिकाकै सम्पत्ती हुन्, जनतालाई सेवा प्रवाहका असहज भएका कारण हामीले यहाँबाट कार्यालय सञ्चालन गर्न माग गरेका थियौं,’ थापाले भने,‘अटेर गरेका कारण हामीले अहिले आफै आएर बोर्ड राख्ने काम गरेका छौं ।’ जनशक्ति सहित कार्यालय नै स्थानीय तहमा दिईएको भए पनि जिल्लामा रहेका कार्यालयहरु अटेर गर्दै बसेका कारण आफुहरुले यो कदम चाल्नुपरेको उनको भनाई छ । तपाईहरुले भवन कब्जा गर्नुभएको हो ? भन्ने प्रश्नमा एक जनप्रतिनिधिले भने,‘हामीले यो कब्जा गरेका होईनौं, केन्द्र सरकारले स्थानीय तहको समस्या बुझेन, त्यसैले त्यो समस्या समाधानका लागि हामी आफै कस्सिएका हौं । यी भवनहरु खाली भैसकेका छन्, हामीले हाम्रो लागि होईन जनताको सेवामा सहजताका लागि प्रयोग गर्न खोजेका हौं ।’
बागलुङ नगरपालिको आफ्नो मुख्य कार्यालयसंगै कृषि शाखाको सेवा साविकका कृषि विकास कार्यालयबाट प्रदान गर्नेछ । पशु शाखाको सेवा साविकको पशु सेवा कार्यालयबाट, सहकारी सम्बन्धी सेवा साविककको भू—संरक्षण कार्यालयबाट प्रदान गरिने बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । महिला तथा बालबालिका शाखा, अल्पकालिन महिला सेवा केन्द्र र बागलुङ नगरपालिका न्यायिक ईजलासको कार्यालय साविकको महिला तथा बालबालिका कार्यालयमा रहनेछ । साविकको बागलुङ नगरपालिकामा राज्य पुनःसंरचना हुँदा अरु थप वडाहरु थपिएकाले अहिलेको ठाउँ नगरपालिका कार्यालयका लागि उपयुक्त नभएकाले बजारमा सार्ने निर्णय गरिएको बागलुङ नगरपालिका—११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।
‘पहिले धेरै जसो वडाहरु माथितिर थिए र त्यताका जनतालाई सहज बनाउनुपर्छ भन्ने हिसाबले माथि रात्माटा लगिएको थियो होला,’ उनले भने,‘संघिय संरचना अनुसार स्थानीय तह बन्ने बेलामा रायडाँडा, अमलाचौर र पैयँुपाटा नारायणस्थान समेत बागलुङ नगरपालिकामा परेकाले त्यहाँका जनताकालागि साह्रै अपायक ठाउँमा कार्यालय थियो । बागलुङ बजार नै सबै हिसाबले केन्द्र भागमा पर्ने भएकाले यहाँ सार्ने निर्णय भएको हो ।’ बागलुङ नगरपालिका—१२ का वडाध्यक्ष गुरुदत्त पाठकले अहिले जनप्रतिनिधिले कार्यालयको बोर्ड राखेको र आवश्यक परे जनता नै उतार्ने समेत चेतावनी दिए । अहिले सांकेतिक रुपमा कार्यालयको बोर्ड स्थापना गरिएको केही दिन भित्रै बजारको कार्यालयबाट नगरबासीले सेवा पाउने बागलुङ नगरउपप्रमुख सुरेन्द्र खड्काले बताए ।
‘अहिले बोर्ड मात्रै सारेका छौं, केही दिनमा कार्यालयका सबै सामग्रीहरु यही सारेर जनतालाई यहीबाट सेवा दिन्छौं,’ उनले भने । साविकको कृषि कार्यालमा कृषि ज्ञानकेन्द्रको समेत बोर्ड राखिएको छ । कृषि सम्बन्धी कार्यक्रम हेर्नका लागि गण्डकी प्रदेश सरकार मातहत रहने गरी पर्वतमा कार्यालय छ । पर्वतमा रहेको कार्यालयले बागलुङमा पनि हेर्ने जिम्मेवारी पाए पनि ज्ञानकेन्द्रको बोर्ड राखिएको छ । सरुवा भएर पनि अहिलेसम्म बागलुङमै रहेका वरिष्ठ कृषि विकास अधिकृत दिनेश पौडेलले कुनै जानकारी नै नगराई जबरजस्ती कार्यालय कब्जा गरिएको बताए । ‘हामीलाई कुनै जानकारी नै दिईएको छैन,साउन देखि यहाँ पनि ज्ञानकेन्द्र रहेने भन्ने कुरा छ,’ उनले भने,‘यो त मन्त्रालयबाट निर्णय भएर आउनुपर्ने कुरामा उहाँहरुले जबरजस्ती गर्नुभयो ।’ कृषि ज्ञानकेन्द्र हेर्ने पर्वत कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले आफुहरु चेपुवामा परेको गुनासो गरे ।
‘त्यहाँ भएको सम्पत्ती त उहाँहरुकै हो, तर हामीलाई प्रदेश सरकारले त्यहाँबाट पनि सेवा दिने भनेको छ,’ उनले भने,‘केन्द्र प्रदेश र स्थानीय तहबीच सम्पत्तीको बाँडफाँडको टुङ्गो नहुँदा हामी चेपुवामा परेका छौं ।’ बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले भने आफुहरुले कार्यालय कब्जा नगरेको बताए । ‘यो कब्जा गरिएको होईन, समन्वय समितिको निर्णय अनुसार हामीले यहाँ आउने तयारी स्वरुप बोर्ड राखेका हौं,’ उनले भने,‘कृषि र पशुको सेवा दिने पनि यहीको जनताका लागि हो, हामीले सेवा दिन पनि यहाँका जनतलाई नै हो । सबै कुरा मिलाएर जान्छौं । समस्या हुँदैन ।’ उनले जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर नै उक्त भवनहरुमा कार्यालयको बोर्ड राखिएको बताए । जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुङ्गाना भने साविकको महिला विकास कार्यालय र पशु कार्यालय बागलुङ नगरपालिकालाई सिफारिस नगरिएको बताउँछन् ।
‘केन्द्र सरकारले सुरुमा खारेज हुने कार्यालयहरु स्थानीय तहलाई हस्तान्तरणका लागि सफारिस गर्न भनेपछि हामीले कृषि कार्यालय र भू—संरक्षण कार्यालय बागलुङ नगरपालिकालाई, महिला विकास कार्यालय जिल्ला निर्वाचन कार्यालयलाई र सहकारी डिभीजन कार्यालय आन्तरिक राजस्व कार्यालयका लागि सिफारिस गरेका हौं,’ उनले भने,‘पछि हामीलाई हस्तान्तरण गर भनेर माथिको निर्देशन नआएपछि हामीले हस्तान्तरण गर्न सकेनौं । आन्तरिक राजस्व कार्यालय त आएर बसेको छ । अब बागलुङ नगरपालिकाले कसरी बोर्ड राख्यो त्यो बारेमा त मैले पनि बुझ्नुपर्छ ।’ मन्त्रीपरिषदले निर्णय गरेर नपठाएसम्म आफुहरुले हस्तान्तरण गर्न नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया जनाउनुहोस्