नेविसंघका पदाधिकारीहरु राजीनामा दिने मनस्थितिमा

काठमाडौं-नेपाल विद्यार्थी संघ नेविसंघकै पदाधिकारीको चाहना विपरीत माउ पार्टी नेपाली कांग्रेसले नेविसंघको कार्यसमितिको कार्यकाल थप दुई महिना थपेपछि पदाधिकारीहरु राजीनामा दिनुपर्ने मनस्थितिमा पुगेका छन् ।

काँग्रेस केन्द्रिय समिति बैठकले आइतबार राति बहुमतका आधारमा नेविसंघको वर्तमान कार्यसमितिको म्याद दोश्रो पटक थप गरेको हो । गत २ भदौसम्म वर्तमान निर्वाचित कार्यसमितिको म्याद भए पनि विधान अनुसार तीन महिना थप गरेर २ मंसिरसम्म पुर्याइएको थियो । त्यसपछि फेरि दुई महिना थपेर माघ २ गतेसम्म पुर्याइएको छ ।

आइतबारको बैठकमा म्याद थप गर्ने कि विघटन गर्ने भन्नेमा नेताहरु बीच विवाद थियो। तर बैठकले विवाद बीच पुनः दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो। शनिबार र आइतबार गरी सो विषयलाई टुंगो लगाउन भन्दै नेताहरु दिनभर जसो अनौपचारिक बैठकमा बसेका थिए।

तर नेताहरु कुनै एक विकल्पमा सहमत हुन नसक्दा सभापति शेरबहादुर देउवाले बहुमतबाटै २ महिना थप गर्ने निर्णय गरेका हुन् ।

दुई महिना थप भएसँगै अब वर्तमान नैनसिंह महर अध्यक्ष रहेको समितिको म्याद अब २ माघसम्म रहने छ। बैठकले यसअघि निर्णय भएको ३२ वर्षे उमेरहदलाई समेत लागू गर्ने निर्णय गरेको छ।

काँग्रेसका नेताहरु पनि कोही ६ महिना थप्नुपर्ने र कोही तदर्थ समिति बनाउनु पर्ने पक्षमा थिए । नेविसंघ भित्र पनि विभिन्न गुट उपगुट भइरहँदा दुई महिनाभित्रै चुनाव गर्ने सम्भावना छैन ।

अध्यक्ष महर र महामन्त्री कुन्दनराज काफ्लेले दुई महिनाभित्र निर्वाचन गर्न सक्ने सम्भावना नरहने भन्दै दुई महिनामात्र समय थप गरिए राजिनामा दिन तयार रहेको भन्दै नेतृत्वलाई दबाब दिंदै आएका थिए ।

आइतबार रातिको उक्त निर्णयपछि नेविसंघका पदाधिकारीहरु सामुहिक र छुट्टाछुट्टै अबको रणनीति बनाउन बसिरहेका छन् । महामन्त्री काफ्लेले सोमबार बिहान बिभिन्न चरणमा छलफलमा बसेको र अधिकांश पदाधिकारीहरु राजीनामा नै गर्नुपर्ने मनस्थितिमा रहेको बताए ।

अध्यक्ष महरसंगै पनि बसेर छलफल भइसकेको भन्दै काफ्लेले भने, ‘हामी सरसल्लाह गर्दैछौं, तर अधिकांश साथीहरुले सामुहिक राजीनामा दिनुपर्ने भन्नुभएको छ ।’

काफ्लेले मंगलबारसम्म पदाधिकारीले एउटा निर्णय गर्ने पनि बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न पार्टीको महासमिति बैठकमा नेविसंघको विवाद विषयले प्रवेश नपाओस् भनी छोटो समय थपे पनि यो समस्या झन् बल्झेर जाने देखिएको छ ।

प्रतिक्रिया जनाउनुहोस्