कुलतन्त्रको आकांक्षा

किशोर नेपाल–
नेपाली कांग्रेसका संस्थापक सभापति तथा मार्ग्निर्देशक बिपी कोइरालाले भन्नुभएजस्तै ‘सुकिला–मुकिला’ले कांग्रेस पार्टी कब्जा गरिसके । कांग्रेसभित्रका सामान्य कार्यकर्ता बिस्तारै पन्छिए अथवा पन्छाइए । यो साता मात्रै ‘कांग्रेस जोगाउने’ अभियानका संरक्षकका रूपमा स्वयं बिपीका कनिष्ठ पुत्र तथा महामन्त्री डा. शशांक कोइराला, भतिजा डा. शेखर कोइराला तथा भतिजी सुजाता कोइराला स्थापित भएको समाचार पढ्न पाइयो । कांग्रेसका यी नेताका विचारमा शेरबहादुर देउवालाई कांग्रेसका कार्यकर्ताले सभापति निर्वा्चित गरेपछि अब ‘कांग्रेस सकिने भो’ भनेर कार्यकर्ताहरू कोलाहल गर्न थालेका छन् । देउवाको नेतृत्वबाट पार्टी मुक्त भएपछि कांग्रेसको नेतृत्व एकपटक फेरि कोइरालाको हातमा आउनेछ । त्यसपछि पार्टी जोगिनेछ ।

गएको सोमबार बसेको कोइराला सन्ततिहरूको बैठकमा सर्वमान्य नेता गणेशमान सिंहका कनिष्ठ पुत्र प्रकाशमान सिंह पनि थिए । नुवाकोटका दुई राजनीतिक जिम्मावाल डा. रामशरण महत र अर्जुननरसिंह केसी आफ्नो राजनीतिक अस्तित्व जोगाउन भेलामा सामेल थिए । डा. महतको तुलनामा केसी आफ्नो राजनीतिक अस्तित्व जुनसुकै परिस्थितिमा जोगाउन माहिर मानिन्छन् । कांग्रेसको कुलमा जन्मिएका केसी पञ्चायत कालमा गाउँफर्क अभियान, सूर्यबहादुर थापा पक्षका पञ्च हुँदै बहुदलीय संरचना आएपछि कांग्रेसमा फिर्ता आएका हुन् । राजनीतिक अवसरअनुसार ‘ट्युनिक’ पहिरिन केसीलाई कसैले सिकाउनु पर्दैन । बैठकमा आफू सदैव कांग्रेसको मूल्य–मान्यतामा दृढ रहेको दाबी गर्दै आएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्ना अनन्त गनगन र आलाप–विलापसहित उपस्थित थिए ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले देश विकासको योजना बनाएजस्तै अहिले जुर्मुराएका कांग्रेस नेताहरूले पानीविनाको पोखरीमा डुंगा खियाएर संकटको वैतरणी पार गराउने योजना बनाएका छन् । भारतीय राष्ट्रिय कांग्रेसमा सोनिया र राहुलप्रति बफादार कार्यकर्ताले मान्यता पाउने परिपाटी कांग्रेसमा पनि दोहो(याउन खोजिएको आभास हुन थालेको छ । नेपालमा के यो सम्भव छ ? स्मरणीय छ, बिपी कोइराला र त्यसपछिका गिरिजाप्रसाद कोइरालामा त्यस्तो प्रवृत्तिको पक्षधरता नदेखिएको अनुभव धेरैले गरेका छन् । के लोकतान्त्रिक चेतना भएका कांग्रेस कार्यकर्ताले यस्तो प्रावधानलाई स्वीकार गर्लान् ? यसमा ठूलै शंका छ ।

निश्चय पनि उल्लेख गरिएका व्यक्तित्वहरूको योग्यता, विद्वता, सैद्धान्तिक प्रतिबद्धता र आफ्नो मान्यतामा टिक्न सक्ने दृढता भएको भए कुरा अर्कै हुने थियो । तर, यी व्यक्तित्वका हकमा त्यस्तो केही छैन । आँखाका कुशल चिकित्सकका रूपमा ठूलो लोकप्रियता कमाएका शशांक कोइराला जनताको जस्तै देशको पनि आँखा खोल्ने हेतुले राजनीतिमा आएका होलान् । तर, राजनीति उनको रुचि हो भन्ने कतैबाट पनि देखिँदैन । पिताश्रीका प्रिय पुत्र ‘मुनु’लाई पिताश्रीकै प्रतापका कारण जनताले संसद् सदस्यका रूपमा निर्वा्चित गर्दै आएका छन् । उनका लागि यति नै धन्य हुनुपर्ने हो । बिपीको पुत्र हुनुबाहेक कांग्रेसका लागि उनले के योगदान दिएका छन् ? कसैलाई थाहा छैन ।

अर्का कुलदीपक शेखर कोइराला कालाजर नामको प्राणघातक रोगका विशिष्ट र पहिलो नेपाली चिकित्सक हुन् । उनले आफ्नो विद्यार्थी जीवन कांग्रेसको एक्टिभिस्टका रूपमा बिताए । विद्यार्थी जीवन सकिएपछि पनि उनको एक्टिभिस्ट भूमिका जारी रह्यो । पार्टीमा उनको योगदान छैन कसैले भन्न सक्दैन । उनले युवावस्थामै ठूला जिम्मेवारी पाइसकेका छन् । धरानको बिपी कोइराला शिक्षण अस्पतालको निर्माणदेखि सुसञ्चालनसम्ममा उनको भूमिका गहन छ । पछिल्लो समयमा उनले काका गिरिजाप्रसाद कोइरालालाई माओवादीसँगको वार्तामा सघाएका हुन् । तर, गिरिजाप्रसादले उनको राजनीतिक क्षमताको कदर गर्ने जाँगर भने चलाएनन् । पछिल्लो चुनावमा मोरङबाट उनको पराजय भयो ।

गिरिजाप्रसाद कोइरालाकी एक मात्र छोरी सुजाता कोइरालाबारे यति धेरै लेखिइसकेको छ, अब केही लेख्न बाँकी छ जस्तो लाग्दैन । पछिल्लो समय बिरामी परेपछि उनमा निकै ठूलो परिवर्तन आएको बताउँछन् उनका निकटवर्तीहरू । गिरिजाप्रसाद कोइरालाकी छोरी हुनुबाहेक पार्टीमा उनको पनि खासै योगदान देखिँदैन । पहिलो जनआन्दोलनको सफलतापछि जब कांग्रेस सत्ताको घोडा चढ्यो, त्यसपछि उनी जर्मनीको घरबार त्यागेर माइती फर्किएकी हुन् ।

यी तीन कोइरालामध्ये कसैले पनि बिपीका विचारको साधिकार व्याख्या गरेको र बिपीका मान्यताको अनुयायी भएको प्रमाण फेला पर्दैन । सामान्य नेपालीले बिपीको महानताका सम्बन्धमा जति चासो राख्छन्, बिपीको व्यक्तित्वको जति चर्चा गर्छन्, त्यति जानकारी उहाँका यी सन्तानले पनि राखेका होलान् त ? त्यस्तो लाग्दैन । यी पात्रहरूले राजनीतिको भौतिकवादी चरित्रलाई आत्मसात् गरेका छन् । नैतिक वा अन्य प्रवृत्तिको पहिचान गरेका छैनन् । यो अवस्था कांग्रेस जोगाउन संगठित भएका सन्ततिका हकमा जति साँचो हो, त्यति नै कांग्रेसलाई गतिहीन बनाउने आरोप लागेका हाल संस्थापन पक्षका नेताहरूको हकमा पनि यही कुरा लागू हुन्छ ।

कांग्रेस अहिले विचारशून्य अवस्थामा छ । बिपी कोइरालाको अभावलाई गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले कहिल्यै महसुस हुन दिएका थिएनन् । ०४६ को परिवर्तनको सफलतापछि बिपीकै परिकल्पनाअनुरूप बनेको कांग्रेसको त्रिकोणात्मक नेतृत्व संकटमा प(यो । कांग्रेसका भाग्यविधाता भएर चम्किने गिरिजाप्रसाद कोइरालाको उच्च–आकांक्षा र गिरिजाप्रसादलाई विशाल बहुमतले जिताएर भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीजस्तै शक्तिशाली नेता बनाउने अन्ध समर्थकको चाहनामा पहिलो निर्वा्चित संसद्को असामयिक विघटन र मध्यावधि निर्वाचनले कांग्रेसलाई पछि पा(यो ।

अहिलेको वामपन्थीबीच एकता र सहयात्राको पृष्ठभूमिमा यो घटना प्रमुख रहेको छ । कांग्रेसमा त्यतिखेर अहंकारको भूत नचढेको भए राजनीति आजको जस्तो छरिने थिएन । त्यसपछि ०५६ सालसम्म देश कसरी चल्यो ? कोही पनि सम्झिन चाहँदैन । कांग्रेसले आफ्नो भूमिका बदल्न खोज्यो ०५६ को चुनावमा सामान्य बहुमत प्राप्त गरेपछि । उसले जनतासँग गरेको कबुलअनुसार कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नयाँ सरकार गठन ग(यो ।

सरकार बनेको तीन महिना नबित्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सिंहदरबारमा मसान शान्ति छाएको देखे । त्यो समयमा भट्टराई नेतृत्वको सरकार शान्त ढंगले चलिरहेको थियो । त्यो शान्तिले राजा, गिरिजा र भारत तीनवटै शक्तिलाई पोलेको थियो । भट्टराईको सरकार बदलियो । गिरिजाप्रसाद फेरि प्रधानमन्त्री भए । तर, राजदरबार हत्याकाण्ड र माओवादीविरुद्धको सशस्त्र अभियानको चापमा उनले राजीनामा दिनुप(यो ।

राजीनामापछि गिरिजा माओवादीसँग शान्तिवार्तामा लागे । रंगमञ्चीय हिसाबले वार्ता सफल भयो । यसपछि नेपालको राजनीतिक नक्सा नै बदलियो । निरंकुश राजतन्त्रात्मक हिन्दू अधिराज्यको अन्त्य भयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ अस्तित्वमा आयो ।

यतिवेला संस्थापनविरोधी नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवामाथि निरंकुश भएको अभियोग लगाएका छन् । यो अभियोगमा कुनै दम छैन । बिपी स्वयं कांग्रेस सभापतिका रूपमा रहनुहुँदा पनि उहाँमाथि यस्तै अभियोग लागेको थियो । ०१७ सालपछि कार्यवाहक सभापतिको हैसियतमा सुवर्णशमशेरमाथि पनि यही अभियोग लाग्यो । आपूmलाई सुवर्णशमशेरका कार्यकर्ता मान्नेहरू कांग्रेसको मूल प्रवाहबाट अलग्गिएर ‘अठ्तीसे’ समूहका रूपमा अस्तित्वमा आए । पहिले बिपीले अधिकार प्रत्यायोजित गरेर कार्यवाहक सभापति भएका र पछि निर्वा्चित भएका सभापति कृष्णप्रसाद भट्टराईले चर्काचर्का आरोपको सामना गर्नुप(यो । आफूलाई गिरिजाप्रसादको ‘चेला’ भन्ने शेरबहादुर देउवाले पार्टीबाट भएको घात, अन्तर्घात र असहयोगका कारण कांग्रेस पार्टीको ‘कलश संस्करण’ खडा गर्नुप(यो ।

अहिले चलेको रडाकोको पृष्ठभूमिमा सभापति गिरिजा कोइरालाको भूमिकाको ठूलो प्रभाव रहेको छ । सभापतिका रूपमा कोइरालाले आफ्ना कार्यसूचीलाई पार्टीको केन्द्रीय समिति र अन्य तहबाट कहिल्यै अनुमोदन गराएनन् । उनी पहिले काम गर्थे र पछि पार्टीका साथीहरूलाई जानकारी दिन्थे । उनलाई कांग्रेसभित्रका सबैले आफूलाई ‘अभिभावक’का रूपमा हेर्छन् भन्ने भ्रम थियो । सत्य हो, उनको व्यक्तित्वमा जुन राजनीतिक आधिकारिकता थियो, त्यो समकालीन कुनै नेतामा थिएन । त्यसो भन्दैमा संस्थागत तहमा बसेका नेतालाई उनीहरूको विधानसम्मत अधिकारबाट बेदखल गर्नु उचित थिएन । उनले तत्कालीन सात राजनीतिक दललाई एकै ठाउँमा उभ्याएर माओवादीलाई युद्धबाट शान्तिमा ल्याए । माओवादी नेताहरू कसैले पनि उनलाई दबाब दिन सकेनन् । बालुवाटारमा भएका शान्तिवार्ताका क्रममा कहिलेकाहीँ डा. बाबुराम भट्टराई गिरिजासँग निहुँ खोज्थे । तर, उनी आफैँ पछि हट्नुपर्ने परिस्थिति निर्माण हुन्थ्यो ।

कांग्रेसमा अहिले दह्रो आत्मविश्वास र राजनीतिक आधिकारिकता भएका नेता एकजना पनि देखिएका छैनन् । लोकतन्त्रको यति लामो लडाइँमा सरिक भएका नेताहरूको ‘व्यक्तित्व’ निर्माण नहुनु साह्रै दुःखद पक्ष हो । शेरबहादुर देउवा र रामचन्द्र पौडेलजस्ता समकालीन नेता आपसी कटाक्षमा ओर्लिनु कांग्रेसको दुर्भाग्य हो । उच्च शिक्षा र अन्तर्रा्ष्ट्रिय अनुभवले सिँगारिएका रामशरण महतजस्ता व्यक्तिको पार्टी नेताका रूपमा राष्ट्रिय छवि बन्न नसक्नु उत्तिकै ठूलो दुर्भाग्य हो । समर्थ भनेर मानिएका नेताहरूलाई पार्टीमा छाउने वातावरण नहुनु पछिल्लो पुस्ताको दुर्भाग्य हो ।

पछिल्लो चुनावमा पराजयपछि कांग्रेसमा जति पनि मुद्दा उठेका छन्, ती बृहत् शान्ति–सम्झौताका उपज हुन् । कांग्रेसका नेताहरू आफ्नो मौलिक जात र धर्म बिर्सेर हिन्दू राष्ट्रको वकालत गर्न थालेका छन् । डा. शशांक र डा. शेखरले हिन्दुत्वको पहेंलो फेटा गुतिसकेका छन् । उनीहरूले बिर्सेका छन्– कांग्रेस त्यो पार्टी हो, जसले पहिलोपल्ट नेपाललाई आधुनिकताको बाटोमा हिँडायो । आधुनिक राजनीतिसँग साक्षात्कार गरायो । दुःखको कुरा, देशमा भएको पहिलो निर्वाचनमा कांग्रेसले एकलौटी बहुमत पाउँदा पनि राज्यको पुनर्संरचना गर्न पाएन ।

बिपी कोइराला नेतृत्वको सरकार अनुदारवादी तत्वको सिकार भयो । कुनै पनि राजनीतिक दल अग्रगामी हुन्छ । यसलाई पछाडि फर्केर हिँड्ने सुविधा हुँदैन । कांग्रेस नेताहरूले कम्युनिस्टको भन्दा आफ्नो विश्वसनीयता र गतिलाई तेज पार्नुपर्ने हो । तर, नेताहरू पुरानो पोखरीजस्तो स्थिर भएका छन् । ढुंगा हान्दा पनि तरंग नआउने, धापजस्तो ।

कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई भन्ने गर्नुहुन्थ्यो, कांग्रेसमा झगडा छैन, रगडा छ । झगडा त आफैँ सामसुम भएर जान्छ, रगडाले सबैलाई सिध्याउँछ । के संस्थापनविरोधी नेतामा कांग्रेसभित्रको रगडा रोक्ने क्षमता छ ? साभार नयाँपत्रीका

प्रतिक्रिया जनाउनुहोस्