दुर्घटना १३ को मृत्यु

काठमाडौं – घटस्थापनादेखि सोमबारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् । काठमाडांै, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा असोज २४ गते घटस्थापनादेखि कात्तिक ५ गते सोमबार बिहानसम्म भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

८ जना गम्भीर र १ सय ८६ जना सामान्य घाइते भएका छन् । यो वर्षको दसैंमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ वर्ष यताकै सबैभन्दा धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाको संख्या पनि ५ वर्ष यताकै धेरै २ सय ७२ वटा भएका छन् । गत वर्ष दसैंको समयमा भएका १ सय ७७ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७३–०७४ मा १ सय ४६ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । विशेष गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । साथै यस वर्षका दुर्घटनाहरु मुख्य सहरी क्षेत्रमा भन्दा उपत्यकाका काँठ क्षेत्रमा बढी भएको महाशाखाले जनाएको छ ।यसैगरी ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी चलाएका १ हजार ७९ सहित ३ हजार ७ सय ३३ सवारी साधनलाई कारवाही गरेको छ । बढी भाडा लिएका ९ सय ५० बढी ट्याक्सी र बढी भाडा लिने लामो दूरीका सवारी चालक तथा बिचौलिया २९ जनालाई प्रहरीले कारवाही गरेको छ ।

प्रतिक्रिया जनाउनुहोस्