उपत्यका छाड्नेको लर्को

काठमाडौं-उपत्यकाबाट दसैँ मान्न घर जाने क्रम वढेको छ। विगत केही दिनदेखि विभिन्न नाका हुँदै दैनिक सवा लाख सर्वसाधारणले उपत्यका छाड्न थालेका छन्।

केही दिनदेखि दैनिक सवा लाख भन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यात्रु बाहिरने क्रम वढेकाले यतिबेला सवैजसाे सडकमा सवारीकाे चाप छ।

काठमाडौँ उपत्यकाबाट थानकोट नाका, विपी राजमार्ग, बल्खु–कुलेखानी–हेटौंडा सडकबाट धेरैजसो यात्रु बाहिरिने गरेका छन्। विपी राजमार्गको कारण पूर्वी नेपालका जिल्लामा आवतजावतमा सहज भएको छ।

मंगलबार र बुधबार गरेर झण्डै अढाई लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन्। सोमबार ९० हजार बाहिरिएका थिए। घटस्थापनापछि उपत्यकाबाट बाहिरिनेको संख्या अझ वढ्छ।

नागरिक बाहिरिने क्रम वढेकाले उपत्यकाका सडकमा सवारी जाम कम हुँदै गएको छ। दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेका छन्।

दसैँमा गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ। टिकट विक्रीमा विचौलियाले गर्न सक्ने वेइमानीप्रति कडाई गरिएको प्रहरीको दावी छ।

उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य नाका नौबिसे–नागढुङगा सडकमा जाम हुन नदिन ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ।

घटस्थापनादेखि एक हप्ताका लागि यो सडकमा ठूला मालबाहक सवारी आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए।

सडकमा ठूला मालबाहक सवारीले जाम वढाएपछि यात्रुबाहक सवारीलाई सहज आवतजावतका लागि ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो।

राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीका साधनहरुको चाप अत्याधिक हुने र मालवाहक सवारीका कारण नौविसे–नागढुङगा सडक खण्डमा सवारी जाम हुने गरेको छ।

नौबिसे–नागढुङगा सडकमा खास गरी साना छ पाङग्रे सवारीले भन्दा पनि भारतीय नम्वर प्लेटक लामो लामो मालवाहक टेलर र कन्टेनरले गर्दा सडकखण्डको उकालोमा जाम लाग्ने गरेको छ।
दसैँ अबधिभरी सरकारले सवारी साधनलाई रुट परमिट खुल्ला गरेको छ। रुट परमिट खुल्ला गरिएकाले यात्रुबाहक सवारीलाई आवतजावतमा सहज भएको छ।

प्रतिक्रिया जनाउनुहोस्