नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्ने भएको छ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान मस्यौदा समितिले तयार गरेको विधान माथि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए। शर्माले समसामयिक राजनीतिक घटनाक्रम र नेपाल विद्यार्थी संघको विधानमा पनि छलफल हुने बताए।

शुक्रबारको लागि बोलाइएको बैठक नेविसंघको विधानमा विवाद भएपछि बस्न सकेको थिएन।

पार्टीले संघको विधान पारित नगरिदिएकोले १२औं महाधिवेसन अन्योलमा परेको छ। संघको सभापतिलाई ३२ वर्षे हदबन्दी लगाउने वा नलगाउने विषयमा पार्टीमा फरक–फरक मत छ।

संघको निर्देशक समितिको संयोजक रहेका सह–महामन्त्री डा प्रकाशशरण महत ३२ वर्षे हदबन्दी लागाउने गरी विधान संशोधनको पक्षमा छन्। संघको केन्द्रीय समितिले पार्टीलाई बुझाएको संशोधनमा भने ३२ वर्षे हदबन्दी नरहने गरी प्रस्ताव गरिएको छ।

बैठक दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया जनाउनुहोस्