गाउँमा चहलपहल बढदै

बागलुङ-  मुलुकमा संघीयता कार्यान्वयन सँगै त्यसका प्रभाव पनि विस्तारै बढदै गएको छ । स्थानीय तह गठन र निर्वाचित जनप्रतिनिधि आए सँगै जनताका धेरै काम गाउँमै हुने भएका छन । स्थनिय तहका केन्द्रमा चहलपहल बढ्न थालेको छ । जिल्ला सदरमुकाम भने सुनसान हुन थालेका छन । सरकारी कार्यालयहरूका काम लिएर गाउँगाउँबाट सदरमुकाम झर्नेको संख्या पनि न्युन बन्दै गएको छ । सदरमुकाममा रहेको बढदो चहलपहल अहिले गाउँ र नगर केन्द्रित भएको छ ।
सानो कामका लागि पनि घन्टौं लाएर सदरमुकाम धाउनुपर्ने बाध्यताबाट सर्वसाधारणलाई छुटकारा पाएका छन । सर्वसाधारणलाई यो बाध्यता टरेको छ । साँघुरो मोटरबाटोले जोडिएको साविकको अर्गल गाविस पहिले दुर्गम मानिथ्यो । पहिले सञ्चार सुविधा पनि राम्रो थिएन । स्वास्थ्य चौकीमा नियमित स्वास्थ्यकर्मी पनि बस्दैनथे । पर्याप्त बजार र पसल थिएन् । अहिले यहाँको परिचयनै फेरीएको छ ।
गाउँपालिकाका केन्द्र सुगम बन्दै
संघीयता कार्यान्वयनसँगै ताराखेला गाउँपालिकाको केन्द्र अर्गलको भातखाने डाँडा सुगम बनेको छ । यहाँ सदरमुकामबाट नियमित गाडी चल्छन । मोर्बाइल फोन र इन्टरनेट सुविधा पुगेको छ । स्वास्थ्यचौकीमा पनि बर्थिङ सेन्टर र ल्याबका सुविधाहरु थपिएकका छन । गाउँपालिकाको केन्द्र मातखाने डाँडाको चहलपहलले त्यहाँको परिवेशनै परिवर्तन गराएको छ । मध्यपहाडी लोकमार्ग रिजालचोक देखी शहिद मार्गले गाउँपालिकाका सवै वडाहरु हुँदै गलकोट नगरपालिकाको हरिचौर जोडिएको छ । सडकलाई पनि स्तरबृद्धि गरिँदै लगिएको छ । ‘स्थानीय तह कार्यान्वयनसँगै यहाँको अवस्था फेरिएको छ,। गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले भने, गाउँपालिकालाई ‘छिट्टै नमुना र पर्यटकीय गाउँ बनाउने अभियानमा छौं ।
भातखाने डाँडामा गाउँपालिकाका प्रशासकीय अधिकृतदेखि सामाजिक परिचालकसम्मका झन्डै २० जना कर्मचारीहरू डेरा खोजेर बस्छन । कर्मचारीहरु वरपरका घरहरुमा मिलेर बसेका छन । गाउँपालिका नजिकै सानो सानो होटलहरु संचालनमा ल्याएका होटल व्यवसायीलाई पाहुना राख्न भ्याइनभ्याई भएका छ । घरमा सवै कोठा भरिएका छन स्थानिय होटल संचालक स्थानीय टोपबहादुर रोका भने, होटलमा पाहुनालाई खाना बनाउन भ्याई नभाई छ । सुविधाको खोजीमा पुराना बसोबासी अन्यत्र बसाइँ जान थालेर सुनसान बन्न लागेको ठाउँमा एकाएक बस्ती बढ्ने क्रम र व्यवसाय फस्टाउन सुरु भएको भएको छ ।
स्थानिय उत्पादनले बजार पाउने
गाउँपालिकाको केन्द्र भएकाले ताराखोला, अर्गल, हिल र अमरभूमि लगायतका गाउँले काम लिएर केन्द्रमा आउँछन । उनीहरूलाई दिउँसो खाना खुवाउने व्यवस्थाका लागि खाना र खाजाका होटेलहरूको व्यापार पनि बढदै गएको छ । सेवाग्राहीलाई नियमित कार्यालयमा आउन जानका लागी थुप्रै जिपहरुले पनि काम पाएका छन । स्थानिय किसानहरुले फलाएको तरकारी दूध र अन्नले सहज रुपमा बजार पाएको छ । भौगोलिक विकटताले प्रशासनिक कामका लागि सास्ती खेप्नुपर्ने गाउँलेलाई जिल्लाका १० स्थानीय तहमा विभाजित भएपछि सहज भएको हो ।
सदरमुकाम आएर गर्ने काम वडामै हुन्छ योजना छनोट, बजेट र पछ्र्योटसमेत स्थानीय तहबाटै हुने भएकाले जिल्ला सदरमुकाम धाउनु नपर्ने भएको हो । ताराखोला, बडिगाड र तमान बरेङ गाउँपालिका तथा जैमिनी नगरपालिका अझै बढी विकट गाउँ छन । अझै पनि केन्द्रसम्म आएर सेवा लिन त्यहाँका बासिन्दालाई घण्टौं हिडन पर्ने समस्या रहेको छ । तर, तुलनात्मक रूपमा गाउँपालिकाका केन्द्र सदरमुकाम भन्दा नजिक भएकाले सेवा लिनका लागी केही सहज भएको जैमिनी–८ छिस्तीका दयाराम शर्माले बताए ।
स्थानिय तहमा रौनकता छायो

                                                                                                                                                                       तश्विर नारायण रिजाल

स्थानिय तहको केन्द्र तोकिएपछि धेरै ठाउँमा चलहपहल र उत्साह बढेको छ । पश्चिम तमानखोला, निसीखोला, लगायतका स्थानिय तहमा पनि रौनकता छाएको छ । बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरमा त शहरमा जस्तै पक्कि घर निर्माण भै सकेका छन । बस्ती विस्तार बढदै गएको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार नमूना सहरको रूपमा विकास हुँदैछ । त्यसै गरी ऐतिहासिक महत्व बोकेको गलकोट क्षेत्रका हटिया, नरेठाँटी, हरिचौर, मल्म काँडेबास क्षेत्रमा पनि बजार विस्तार हुँदै गएको छ । मध्यपहाडी लोकमार्गले यस क्षेत्रलाई सुगम बनाएको गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचा बताउँछिन । लोकमार्ग र स्थानिय तहको विकास सँगै यहाँको व्यपार व्यवसाय विस्तारै फस्टाउँदो क्रममा रहेको छ । ‘सिंहदरबारको काम गाउँ नगरमा सरेको छ, सवैको काम स्थानिय तहमा हुन्छ तिनै मानिसको चाप यता बढी छ,’ उनले भनिन, ‘स्थानिय तहमा दिने सेवा र प्राविधिक दरबन्दी पूर्ण भएमा व्यापारिक केन्द्र बनाउन धेरै सहज हुने थियो । जिल्लाका सवै स्थानिय तहमा बैंक पनि पुगेका छन, अहिले आर्थिक कारोबारलाई पनि सहज भएको छ ।
स्थानीय तहको प्रशासनिक कामदेखि दैनिक उपभोग्य सामग्री खरिदका लागि पनि सर्वसाधारण गाउँ र नगरपालिकाको केन्द्रमा पुग्दछन ।
सुनसान बन्दै गयो सदरमुकाम
स्थानीय तह कार्यान्वयनमा आएसँगै सदरमुकाम सुनसान बनेको छ । पहिलेको तुलनामा सदरमुकाम बागलुङ बजारमा भने व्यवसाय खस्कदो अवस्थामा छ । ‘पहिले व्यापार गरेर फुर्सद हुने थिएन, अहिले दैनिक २ हजार रुपैयाँको पनि व्यापार हुँदैन । सदरमुकाममा कस्मेटिक व्यवसायी गदै आएकी पार्वती पौडेलले भनिन । अब व्यवसाय छोडेर गाउँ फर्किने सोच बनाएका छौं । बलेवा देखी बागलुङमा व्यापारका लागि आएको दस वर्षका हरेक दिन व्यापार घटिरहेको उनले बताईन । विगत वर्षको तुलनामा यो वर्ष सदरमुकामको बजारमा ६० प्रतिशत आर्थिक काराबार घटेको बागलुङ उद्योग बाणिज्य संघका उपाध्यक्ष नरेश कंडेलले बताउँछन । ‘संघीयताले स्थानीयलाई गाउँ केन्द्रित बनाएपछि सदरमुकाम आउने क्रम घट्यो, कंडेलले भने ‘अर्काे कुरा सडकको कारण गाउँमा नै दैनिक उपाभोग्य बस्तूहरु पुगेको छ । बजार झर्ने त कोही हुँदैन । सदरमुकामका व्यवसायीलाई भने ठूलै मार परेको छ । सदरमुकाममा रहेका दर्जनभन्दा बढी सरकारी कार्यालय खारेज भएका छन । त्यहाँबाट प्रवाह हुने सेवा अहिले स्थानीय तहको केन्द्रमै पाइन्छ । सदरमुकाममा चहलपहल घटेसँगै घरसमेत खाली हुन थालेका छन । व्यापार व्यवसाय, अध्ययन र रोजगारीका लागि सदरमुकाम केन्द्रित जनशक्ति पलायन हुने क्रम बढदो छ । गैरसरकारी संस्था समेत स्थानीय तहमा केन्द्रित हुन थालेपछि कर्मचारीले पनि सदरमुकाम छोडदै छन ।
कुनै बेला पश्चिम क्षेत्रकै व्यवापरिक नाकाको रुपमा बागलुङ बजार रेहेको थियो । यहाँबाट धौलागिरीका चार जिल्ला, डोल्पा, पश्चिम गुल्मी, रोल्पा र रुकुमका बासिन्दा समेत व्यवसाय र खाद्य सामग्री खरिदका लागि आउने गर्थे । उनीहरूले बागलुङ बजारमा एक दुई रात बिताउनैपर्ने बाध्यता थियो । घोडा, खच्चर लिएर आउनेहरूले चामल, तरकारी, गेडागुडी र तेल बोकेर फर्कन्थे । विभिन्न योजनाको माग लिएर आउनेदेखि सरकारी काम, शिक्षा र स्वास्थ्य उपचारका लागि सदरमुकाम आउनेको घुइँचो सधैं हुँदा बजारको बेग्लै रौनक थियो । अहिले यहाँको व्यापार घट्दै गएको छ । संघियता कार्यान्वय सँगै सदरमुकामका व्यापारी प्रत्यक्ष मारमा परेको बताउँछन ।

प्रतिक्रिया जनाउनुहोस्