निर्मलाको बाआमालाई प्रधानमन्त्रीको आश्वासन– न्याय पाउनुहुन्छ, ढुक्क हुनुहोस्

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको खोजीमा काठमाडौं आएको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भेट भएको हो।

निर्मलाको बाआमा यज्ञराज र दुर्गादेवीले प्रधानमन्त्रीलाई लिखित ज्ञापनपत्र बुझाएका थिए।

प्रधानमन्त्रीले घटनाको अनुसन्धानमा सरकार गम्भीर रहेको र दोषी जोसुकै भए पनि कारबाही गरिने आश्वासन दिएका थिए। ‘तपाईंहरुले न्याय पाउनुहुन्छ, ढुक्क हुनुहुोस्’, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले निर्मलाको न्यायको लागि आफू प्रतिबद्ध रहेको समेत बताए। उनले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनेको विषयमा पनि अवगत गराएका थिए।

झन्डै एक घण्टा भएको भेटमा कञ्चनपुरबाट आएको मानवअधिकारकर्मीको टोलीका साथै सोही क्षेत्रका नेताहरु पनि सहभागी थिए।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला ११ गते मृत अवस्थामा भेटिएकी थिइन्।

प्रतिक्रिया जनाउनुहोस्