हिलाम्य लाेकमार्ग कष्टकर यात्रा

बागलुङ,
बर्षाले सडक हिलाम्य हुँदा मध्यपहाडी लोकमार्गमा कष्टपुर्ण यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता रहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको लोकमार्ग बागलुङ सदरमुकाम देखी घोडाबाँधे सम्मको २५ किलोमिटर सडकमा चालकहरु जोखिम मोलेर सवारी साधन चलाउन विवश छन् ।

कुनबेला कहाँ पहिरो जाने हो र सडक अवरुद्ध हुन्छ भन्ने भय पालेर यात्रामा निस्कनु पर्ने अवस्था यो वर्षायाममा पनि हटेन । अहिले यो खण्ड एकदमै नाजुक अवस्थामा छ । निर्माण शुरु भएको २० वर्ष बित्दासमेत उक्त खण्ड ‘ग्राबेल’ सम्म हुने सकेको छैन । १७ सय ८६ किलोमिटर लम्बाई रहेको लोकमार्गको सबैभन्दा बढी बाग्लुङ खण्डमा नै १ सय ३५ किलोमिटर पर्छ । त्यसमध्ये घोडाबाँधे देखि बुर्तिबाङ सम्मको ५८ किमि सडक कालोपत्रे भइसकेको छ ।

सदरमुकाम तर्फको सडक निर्माणमा भएको ढिलाइप्रति जनगुनासो पनि निकै बढेको छ । बुर्तिबाङबाट डेढ घण्टामै घोडाबाँधे आउने सवारीलाई बागलुङ सदरमुकाम आउँन बाँकी २५ दुई घण्टा लाग्छ । जीर्ण र हिलाम्मे सडक त्यहीँमाथि पहिरोको अवरोध छिचोल्दै हिँड्नुपर्ने अवस्था रहेको जीप चालक ललित केसीले बताए ।
‘हिलाम्य सडक व्यवस्थित छैन, जोखिम उठाएर गाडी चलाउनु पर्छ’ केसीले भने । निकै जोखिम मोलेर गाडि चलाउनु पर्दछ, कतिवेला कहाँ के हुने हो थाहानै हुँदैन । सडकमा खाल्टा खुल्टी धेरै भएका कारण बेला बेलामा गाडि फसिने समस्याले पनि सताएको छ । हिलो सडक छ त्यसैमाथि गाडि फस्छ उनले भने यात्रु र चालक दुवैले सास्ती खेप्नु परेको छ । जिल्लाको पश्चिम क्षेत्रका अधिकाशं बस्ती जोड्ने यो सडक हिलाम्मे हुँदा यात्रा गर्न निकै कठिनाई परेको छ । सडकमा हिलोले मोटरसाइकल चिप्लिने, साना सवारी फस्ने गर्छन ‘घोडाबाँधेबाट सदरमुकाम बागलुङ बजार निक्कन निकै गाह्रो परेको छ । मोटरसाइकल चालक आनन्द शर्माले भने ‘जुत्ता र कपडाको के कुरा, ज्यानकै जोखिम मोली यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

वर्षायाममा मात्र लोकमार्गको दर्जनौ ठाउँमा पहिरा गएका छन् । तत्काल पहिरो पन्छाएर सवारी चलाउने गरिएपनि सडकको स्तरोन्नति नहुँदा समस्या दोहोरिने गरेको छ । नयाँ मात्र नभएर पुराना पहिरोलाई उचित ढंगले व्यवस्थित नगर्दा सडकको स्वरुप नै बिग्रदै गएको छ । उक्त खण्डमा सडक चौडा बनाउने काम भै रहेको छ त्यसले गर्दा पनि सडक हिलाम्य बनेको हो । विच विचमा नाली निर्माणको काम पनि भै रहेको छ अधिकाशं स्थानमा नाली नबन्दा सडकबाटै बग्ने भलले सडक क्षतविक्षत बनेको छ । वर्षामा हिलो र हिउँदमा धूलोको समस्या झैल्दै आएका स्थानीवासीले लोकमार्ग छिटो कालोपत्रे गर्न माग गरेका छन् । जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा र स्थानीय प्रशासनले समेत लोकमार्ग निर्माणलाई तीव्रता दिन आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन् । नेकपाका नेता एवं सांसद देवेन्द्र पौडेलले त तोकिएको अवधिमा काम नगरे निर्माण कम्पनीलाई कारबाही गर्ने समेत चेतावनी दिएका थिए ।
सदरमुकाम तर्फकै सडकको दुरदशा
ग्रामिण क्षेत्रमा कालोपत्रे भइसक्दा सदरमुकामतर्फकै सडकको दुरदशा हुनु अशोभनीय विषय बनेको यात्रुहरु बताउँछन । कुनैपनि कारणले लोकमार्ग नरोकियोस् भन्नेमा स्थानीय प्रशासन, प्रहरी भने सचेत छ । पहिरोको अवरोध हटाउन प्रहरी, आयोजनाकै जनशक्ति र स्थानीयवासी समेत परिचालित हुने गर्दछन ।

मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र लोकमार्ग र हुलाकी लोकमार्ग पछिको यो तेस्रो लोकमार्ग हो । लोकमार्गले कावेली, तमोर, अरुण, सुनकोशी, तामाकोशी दुधकोशी, सेती, कालीगण्डकी, माथिल्लो कर्णाली, नरसिंहगाड, बुढी गंगा र पश्चिम सेती लगायत आयोजनालाई पनि जोड्ने छ । नेपालको पहाडी क्षेत्रहुदै पुर्ब पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गले बागलुङको विचवाट गएको छ ।
बर्षा रोकिएपछि ग्राभेल गर्ने काम अगाडि बढने छ
अविरल बर्षाले यो वर्ष धेरै ठाउँमा पहिरो गएकोले समस्या निम्तीएको लोकमार्गको बागलुङ खण्डका इन्जिनियर सुरज महर्जनले बताए । ‘वर्षा लागेपछि पहिरो पन्छाउने, सडक, नाली मर्मत गर्ने काममै बढी समय खर्च भएको छ,’ उनले भने । ‘दैनिक जसोको झरीले सडक ‘ग्राबेल’ गर्ने काम रोकिएको छ वर्षा सकिए लगत्तै ग्राभेल गर्ने काम शुरु हुनेछ । सडकको कामलाई हामी तिव्र दिनेछौं । यस वर्ष पुर्वाधार तयारीको सक्ने र अर्को वर्ष कालोपत्रे गर्ने लक्ष्य रहेको उनले बताए ।
सदरमुकाम देखी बिहुँसम्मको १३ किमिको कालोपत्रेको जिम्मा ‘सिद्वीटाई कन्सट्रक्सन’ र बाँकी घोडाबाँधे सम्मको बाँकी खण्ड निर्माणको जिम्मा ‘सुर्य कन्सट्रक्सन’ले लिएको महर्जनले बताए । पूर्वमा नेपाल भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल (भारत) सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व–पश्चिम महेन्द्र लोकमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

प्रतिक्रिया जनाउनुहोस्