मुलुकी संहिता सच्चाउन चिकित्सकको १५ दिने अल्टिमेटम

काठमाडौं – मुलुकी ऐन १६५ वर्षपछि आजदेखि प्रतिस्थापन भएको छ र मुलुकी संहिता

Doctor holding out stethescope

कार्यान्वयनमा आएको छ । राणाकालमा जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला मुलुकी ऐन बनेको थियो । आजदेखि कार्यान्वयनमा आएको मुलुकी संहिताले त्यसलाई प्रतिस्थापन गरेको छ ।

२०७४ असोज ३० मा प्रमाणिकरण भएको संहिता आजदेखि कार्यान्वयनमा ल्याइएको हो । १० महिनाअघि नै प्रमाणीकरण भएर सार्वजनिक भए पनि लागू हुनु केही साता अघिदेखि विभिन्न पक्षले यसको विरोध गर्दै संशोधनको माग गरिरहेका छन् । यसको अग्रपंक्तिमा छन् चिकित्सकहरु । चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले संहिताका केही बुँदा संशोधन नगरे आन्दोलनको चेतावनी दिएको छ । केही दफा र उपदफा भदौ १५ गतेसम्ममा संशोधन र खारेज हुनुपर्ने चिकित्सक संघको माग छ ।

संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले दफा संशोधन र खारेजीका लागि सरकारलाई भदौ १५ गतेसम्मको समय दिइएको बताए । उनले भने, “हामीले भनेबमोजिम संशोधन र खारेज नभए सबै चिकित्सक र स्वास्थ्यकर्मीले लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउनेछन् र हामी सधैंका लागि चिकित्सा पेसाबाट अलग हुनेछौं ।”

दफा २३० को उपदफा २ खारेज गर्नुपर्ने, दफा २३१ खारेज गनुपर्ने, दफा २३२ मा रहेको लापरबाही वा हेलचेक्र्याइँ, बदनियत चिताई इलाज गर्न नहुने शब्दलाई पुष्टि गर्न विशेषज्ञ समिति बनाई छानबिन गर्नुपर्ने, दफा २३८ हटाउनुपर्ने र दफा २३९ पनि खारेज गनुपर्ने माग संघको छ । यही भदौ १५ गतेसम्म पनि संशोधन र खारेज नभए सबै चिकित्सको लाइसेन्स र एप्रोन मेडिकल  काउन्सिलमा बुझाउने संघले चेतावनी दिएको छ ।

यी हुन् चिकित्सक संघले आपत्ति जनाएका दफा–उपदफा

दफा २३० को उपदफा २ 
लामो अनुभवबाट उपचार सम्बन्धमा जानकारी राख्ने चिकित्सकले उचित होसियारी अपनाई सानो तिनो रोग लागेको विरामीको अङ्गलाई कुनै खास असर नपर्ने गरीे औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा रोक लगाएको छैन

दफा २३१
कसैले–कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नु पर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ । जानीजानी वा सो थाहा पाउनु पर्ने मनासिब कारण भई त्यस्तो औषधी खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अंगको चिरफार गर्नु पर्नेमा अर्को अंग चिरफार गर्न वा त्यस्तो बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्न वा गराउन हुँदैन ।

दफा २३२
चिकित्सकको लापारबाही वा हेलचेक्र्याइँँ, बदनियत चिताई इलाज गर्न नहुने

दफा २३८
कानून बमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिन हुँदैन । सोहि ऐनको (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ । सोहि ऐनको (३) उपदफा (१) बमोजिमको प्रतिवेदनको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवनगर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा त्यस्तो प्रतिवेदन दिने व्यक्ति कसूरदार मानिनेछ । (४) उपदफा (३) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई ज्यान मरिसकेको भए ज्यान मारे सरह र अङ्गभङ्ग भएको भए अङ्गभङ्ग गरे सरह सजाय हुनेछ ।

दफा २३९
यस परिच्छेद बमोजिमको कसूर गरेको कारणबाट कसैको मृत्युभएमा वा अङ्गभङ्ग भएमा वा अन्य हानि, नोक्सानी वा क्षति पुगेकोमा कसूरदारबाट सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनुपर्नेछ ।

प्रतिक्रिया जनाउनुहोस्