पत्रकार रानाको उपचारमा २७ लाख लाग्ने, सहयोग रकम हस्तान्त्रण

बागलुङ—प्लाष्टिक एनिमिया अर्थात शरीरले रगत उत्पादन नगर्ने समस्याका कारण पिडित बनेका बागलुङका पत्रकार बिजय रानाको उपचारमा करिब २७ लाख रुपैयाँ लाग्ने भएको छ । सुरुमा करिब १२देखि १५लाख रुपैयाँ लाग्ने चिकित्सकले बताए पनि थप रकम लाग्ने भएपछि राना चिन्तित भएका छन् । पत्रकार महासंघका कोषाध्यक्ष रहेका रानाको लागि पत्रकार महासंघ लगायतका संस्थाले उपचारको लागि सहयोग रकम संकलन गर्दै आएका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङको टोली रानालाई भेट्न काठमाडौं पुगेर सहयोग हस्तान्त्रण गरेको छ । शाखा अध्यक्ष दिल शिरीष नेतृत्वको टोलीले रानाको उपचारमा सहयोग गर्न चलाईएको अभियानमा संकलन भएको ६ लाख ३७ हजार ५ सय रुपैयाँ आईतबार हस्तान्त्रण गरेको छ । टोलीले नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, प्रेस काउन्सिल नेपाल लगायतका सम्बन्धित संस्थाबाट समेत सहयोग रकम संकलन गरेर रानालाई एकमुष्ठ बुझाएको छ । रानाको उपचारमा अहिलेसम्म १७ लाख रुपैयाँ खर्च भैसकेको छ । रानाले सातामा ८० हजार रुपैयाँको औषधी खानु पर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया जनाउनुहोस्