पहिरोले रोक्यो नारायणगढ–मुग्लिन सडक

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ। थप पहिरो नखसेमा पहिरो पन्छाउन ३ देखि ४ घन्टा लाग्ने प्रहरीले जनाएको छ। त्यसैगरी, सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन्।

यसअघि हिजो राति पौने १२ बजेतिर गाईघाटमा खसेको पहिरो आज बिहान साढे १ बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। रासस

प्रतिक्रिया जनाउनुहोस्