नेविसंघभित्रको विवाद छताछुल्ल्

काठमाडौं– केहि समययता केहि मत्थर जस्तो देखिएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद फेरि सतहमा आएको छ ।  पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा अध्यक्षले एकलौटी ढंगले मनोनयन गरेको भन्दै महामन्त्री कुन्दनराज काफ्ले समूहले आपत्ति जनाउएसँगै विवाद सतहमा आएको हो ।   अध्यक्ष नैनसिंह महरले  पदाधिकारी तथा केन्द्रीय सदस्यमा मनोनयन गर्दा एकलौटी ढंगले गरेको  असन्तुष्ट पक्षको आरोप छ  ।

अध्यक्ष नैनसिंह महरले उपाध्यक्षमा नीलकण्ठ रिजाल  र कृष्ण बस्नेतलाई मनोनयन गरेका छन्  भने सहमहामन्त्रीमा  महेश्वरी कुँवर र बद्री मुडभरीलाई मनोनयन गर्दा अन्य पदमा पनि एकलौटी ढंगले मनोनयन गर्ने काम भएको काफ्लेसहितका असन्तुष्ट समूहको आरोप छ ।

संगठनको १२ आै महाधिवेशन सुनिश्चितताको लागि आफूहरुले पटक पटक  गर्दै आएको पहल र प्रयास गर्दै आएपछि त्यसलाई अध्यक्षले बिथोल्ने प्रयास गरेको महामन्त्री काफ्लेले आरोप लगाएका छन् ।

यसैसन्दर्भमा महामन्त्री काफ्लेसहित उपाध्यक्ष प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारीले एक संयुक्त वक्तब्य जारी गरी केन्द्रीय समितिमा बहुमत पदाधिकारी एवम् सदस्यहरु संगठनलाई विधि   र विधानसम्मत अगाडि बढाउन  तथा समयमै महाधिवेशन सम्पन्न गराउन लागिपरेको भएपनि अध्यक्षको गतिविधिबाट  वातावरण विग्रने अवस्था रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा सहमति र समझदारी बिना अध्यक्षबाट गरिएका सबै मनोनयन महाधिवेशन नगराउने उद्देश्यबाट प्रेरित रहेको भन्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिइएको छ ।
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले पनि अध्यक्षको कार्यशैली विरुद्ध आफूहरु एकजुट भएर अघि बढ्ने भन्दै  १२ औं महाधिवेशन नगराउनका लागि भएका सबैखाले निर्णयहरुका विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।

अध्यक्षको कार्यशैलीविरुद्ध एकजुट भएर अघि बढ्ने विषयमा छलफल गर्न  शनिबार राजधानीको पशुपति बहुमुखी क्याम्पसमा महामन्त्री काफ्ले समूहका  विद्यार्थी नेताहरुको  बैठक समेत बसेको बताइएको छ । उक्त बैठकले  सोमबार राजधानीमा बृहत केन्द्रीय समितिको बैठक बोलाएको र सो बैठकले कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिने एक  नेविसंघ नेताले बताए ।

अध्यक्षको कार्यशैलीविरुद्ध काफ्ले समूहले समान्तर रुपमा संगठन सञ्चालन गर्दै आएको छ । केहि महिना अघिमात्रै बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै काफ्लेले बाल्मिकी क्याम्पसमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर, सो बैठक पार्टीको हस्तक्षेपपछि रोकिन पुगेको थियो ।

प्रतिक्रिया जनाउनुहोस्