ढोरपाटनमा १० झारल र १९ नाउरको शिकार , ४६ लाख राजश्व

बागलुङ-
मुलुकको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा चालु आवमा १० झारल र १९ नाउरको शिकार भएको छ । शिकारका लागी पहिलो याम असोज देखी कात्तिक र दोस्रो याम फागुन देखी बैशाख सम्ममा संचालन भएको थियो । लाखौं खर्चेर विदेशी शिकारीहरु आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगी शिकार खेलेका थिए । शिकारबाट ४६ लाख १६ हजार रुपैयाँ राजश्व उठेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । कार्यालयका अनुसार पहिलो शिकार याममा ४ झारल र ९ नाउरको शिकार भएको थियो भने दोस्रो याममा ६ झारल र १० नाउरको शिकार गरिएको थियो ।
आरक्षका घुस्तुङ, बार्से, सेङ, दोगाडी, फागुने, र सुनदह गरि ६ ‘ब्लक’मा शिकार खेलाउने गरिएको छ । शिकारका लागी नेपाल वाइल्ड लाईफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज र ट्रयाक एण्ड टे«ल्र्स प्रा.लि.मार्फत् शिकारी ढोरपाटन पुगेका थिए । शिकारीले रोजेको ‘ब्लक’मा लगेर कम्पनीहले शिकार खेलाउने गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्ने गरेको छ । यो वर्ष २० नाउर र ११ झारलको कोटा भएपनि १९ झारल र १० नाउरको मात्र शिकार भएको हो । शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व पनि घट्ने गरेको छ । प्रर्तिस्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले शिकार गराउने अनुमति पाउने गरेको छ । यो वर्ष प्रर्तिस्पर्धा कम हुँदा शिकारको राजश्व दर पनि घटेको आरक्ष कार्यालयले जनाएको छ ।

नाउर शिकारको अधिकतम दर रु. १ लाख १५ हजार र झारलको रु. २ लाख २१ हजार कायम भएको थियो । शिकार कम्पनीले केही वर्षअघि एउटा झारल शिकारको रु. १३ लाख ५ हजारसम्म बुझाएका थिए । शिकारको दर बढ्दा वार्षिक करोड भन्दा बढी राजश्व उठ्ने गरेको छ ।
बन्दुक, गोलीगठ्ठा र सहयोगीसहित शिकारीहरु आरक्ष आउने गरेको अधिकृत बरालले बताए । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’मा शिकार खेल्न रुचाउछन बराले भने, ‘विदेशी शिकारी सहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ । शिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वे जस्ता देशबाट पेशेवर शिकारीहरु वर्षेनी ढोरपाटन आउने गर्छन् । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवको लागि ढोरपाटन शिकार आरक्ष विदेशीहरुको आकर्षक गन्तव्य मानिन्छ । शिकार आरक्षको वरी परि होमस्टे संचालनका लागी ढोरपाटन नगरपालिकाले पहल थालेको छ । मध्यपहाडी लोकमार्गमा यातायात नियमित संचालन भए सँगै आरक्ष क्षेत्रमा पर्यटकहरु बढदै गएका छन । शिकार आरक्ष बाह्रय र आन्तरीक पर्यटकको आकर्षणको केन्द्र विन्दु बनेको छ ।

प्रतिक्रिया जनाउनुहोस्