नेपाली कांग्रेस किन देख्दैन, बोल्दैन र सुन्दैन, ?

मेदनी सिटौला-  श्राद्धमा विरालो बाँधेको शैलीमा गरिने परम्परागत भेला, गोष्ठी, कार्यक्रम, वैठक, अधिवेशन आदि इत्यादीले नेपाली कांग्रेसलाई बदल्न सक्दैन । आत्मामा जागरण नभएका भीडको बुतामा हुने यस्ता कार्यक्रमहरुले देशलाई पनि बदल्न सक्दैन ।

हेटौंडामा भएको पार्टी जिल्ला सभापतिहरुको भेला पनि परम्परागत शैलीकै भयो । भेलाले पार्टीभित्र उर्जा संचार गर्न सकेन, जागरण सिर्जना गर्न सकेन, अब पार्टी शशक्त ढंगले अगाडि बढ्न सक्छ भन्ने आशा र विश्वाश जगाउन सकेन । 

भेलाले १९ वटा निर्णय गर्यो तर पार्टीभित्र देखिएको अन्यौल, निरासा, गतिरोधको पहिचान गर्न सकेन । देशको नेतृत्व लिनुपर्ने बेला पार्टी प्रतिपक्षमा खुम्चन पुग्नुको कारण के हो ? रोग पहिचान गर्न सकेन । रोग पहिचान नगरी उपचार सम्भव हुँदैन ।

भेलामा उपस्थितहरु कुहिरोको कागजस्ता देखिए जसले एक अर्कालाई ठुँगेर निर्लज्ज बहादुरी देखाए । गुट र उपगुट नवीकरण गर्ने थलो बनाइयो भेलालाई ।

स्वीकार्नैपर्छ, गुटविहिन राजनीतिक दल हुँदैन । निर्मम तथ्य के हो भने नेपाली कांग्रेसभित्र विचार तथा दृष्टिकोणका आधारमा गुटहरु बनेका होइनन् । कार्यशैलीमा भिन्नता, अवसर प्राप्तिमा होडवाजी, गुट या समूह बनाउने मानवोचित गुणका आधारमा कांग्रेसभित्र गुट बनेका हुन् ।

निर्मम उपेक्षा

हेटौंडा भेला असफल भएको ठहर गर्नुपर्छ । हेटौंडा भेला असफलताका निम्न कारण छन्ः

१) पार्टीले गत तीनवटा चुनावमा अपेक्षित सफलता हासिल गर्न नसक्नुको कारण खोज्ने जमर्काे भेलाले गरेन, व्यक्तिहरुले जमर्काे गरे पनि संस्थागत रुपमा त्यस सम्बन्धमा निर्णय गरिएन ।

३) पार्टीमा किन निरासा फैलिएको छ ? किन उदासिनता छाएको छ ? यसको कारण खोजिएन ।

३) गुट उपगुटबाट माथि उठेर पार्टी भन्ने, पार्टीभन्दा माथि उठेर देश र मानव कल्याण भन्ने कर्म र भावना भेलामा देखाइएन ।

४) हेटौंडा भेला गुटहरुको मञ्चमा परिणत भयो, त्यसैले असफल भयो । यो भेला पार्टीको मञ्च बन्न सकेन ।

५) भेलामा सहभागीहरुले स्वार्थ त्यागको भाव देखाउन सकेनन् । त्यसैले व्यक्तिहरुको इगोले भेलालाई दुष्प्रभावित गर्यो ।

६) विगतमा भएका गल्तीहरुको पहिचान गर्दै ती गल्ती नदोहोराउने प्रतिवद्धता भेलाले गरेन, फलत भेला अर्थहीन बन्यो ।

७) भेलाले तथ्य र सत्यको निर्मम उपेक्षा गर्यो । भेलामा सहभागीहरु पार्टीभित्रका आफ्ना ‘विपक्षी’ प्रति निर्मम बने तर आफैप्रति निर्मम बन्न सकेनन् । आफ्ना गल्तीहरुप्रति आत्मालोचना नगरी अरुको गल्तीको आलोचना गर्न सकिँदैन भन्ने तथ्य अब देशमा स्थापित गर्नुपर्छ । यही महान तथ्यलाई समेत हेटौंडा भेलाले उपेक्षा गर्यो ।

हेटौंडा भेलाको असफलताका यस्ता अन्य अनेक कारण औंल्याउन सकिन्छ । मुख्य कुरा, भेला असफल हुनु चिन्ताको कुरा हो । यो भन्दा ठूलो चिन्ताको कुरा के हो भने भविष्यमा हुने यस्ता अरु भेला, वैठक पनि यसरी नै असफल हुन सक्छन् ।

भेला असफल भएकै हो त ? यो प्रश्न पनि उठाइन सक्छ । देशभरीका कांग्रेसका अगुवाहरुले भेला भएर विमर्श गर्दा समेत पार्टीमा आशा र उत्साहको वातावरण बन्न सकेन । यसैबाट भेला असफल भएको पुष्टि हुन्छ । अतितको गौरवमा चुर्लुम्म डुबेको, निराशाको चरणबाट गुज्रिरहेको, भविष्यको सम्भावना खोजिरहेको राजनीतिक पार्टीको कुनै पनि खालको भेलाको उपलब्धी उसले गर्ने निर्णयका अक्षरमा नभएर भेलाले जगाउने भावना, आशा र उत्साहमा खोज्नुपर्छ, होइन र ?

के गर्नुपर्थ्यो ?

प्रश्न उठ्छ, भेलाले के गर्नुपर्थ्यो ?

प्रभावशाली दस्तावेज बनाएर, निर्णय नै निर्णय गरेर, अनेक खालका घोषणा गरेर मात्र कुनै पनि पार्टीलाई उचाईमा पुराउन सक्दैन । यो तथ्य हाम्रै देशको इतिहास हेरे पुग्छ ।

नेपालमा आजसम्म जति पनि राजनीतिक परिवर्तन भए, जति पनि अग्रगामी निर्णयहरु भए, जति पनि युगान्तकारी कामहरु भए, ती कामहरुका बारेमा कम्युनिष्ट पार्टीहरुले जति धेरै दस्तावेज अरुले बनाएका छैनन् । ०६२, ०६३ को लोकतान्त्रिक आन्दोलनपछि केके गर्ने ? संविधान कसरी बनाउने ? यस्ता विषयमा कम्युनिष्ट पार्टीहरुले जति निर्णय र दस्तावेज अरुले बनाएका छैनन् । तर, यी सबै कामको नेतृत्व नेपाली कांग्रेसले गर्यो ।

नेपाली कांग्रेसकै अगुवाईमा गणतन्त्र आयो। कांग्रेसकै नेतृत्वमा संविधान बन्यो। कांग्रेसकै पहलमा चुनाव भयो । असाधारण परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा भयो । कम्युनिष्ट पार्टीहरुका दस्तावेजहरु दराजका शोभा मात्र बने । यो संविधान नेपाली कांग्रेसको वैचारिक पथको निरन्तरता हो ।

संविधानसभामा कम्युनिष्टहरु बहुमतमा थिए, तैपनि किन कांग्रेसकै वैचारिक पथ हावी भयो ? यो विचारणीय विषय हो । सहि विचार, सहि नीति, सहि नीति अनि विचारप्रति इमानदारी कांग्रेसको पहिचान हो । कांग्रेसका अनेकौं कमीकमजोरी छन्, कांग्रेसले अनेकौं ठूला ठूला गल्ती गरेको छ । तैपनि विचार र निष्ठाको प्रसंगमा कांग्रेस सँधै विश्वशनीय रह्यो । कांग्रेसको राजनीतिक चरित्र अविचलित रह्यो ।

यहाँ फेरि जोड दिएर उल्लेख गरौं, राजनीतिक चरित्र । राजनीतिक चरित्रका विभिन्न आयाम हुन्छन् ।

विचार र निष्ठाको प्रसंगमा कांग्रेसको राजनीतिक चरित्र अविचलित रहे पनि अन्य फाँटमा भने राजनीतिक चरित्र पतन भयो । राजनीतिक चरित्रमा विश्वशनीयता हजारौं दस्तावेज र निर्णयहरु भन्दा माथि हुन्छ, विश्वशनीय हुन्छ । राजनीतिक चरित्रको विश्वशनीयता बहुआयामिक हुन्छ । राजनीतिक चरित्रको स्रोत मन मष्तिष्क हो । मन मष्तिष्कमा बिकार भरिँदै गएपछि राजनीतिक चरित्रमा क्षय हुन्छ । व्यक्तिहरु क्षुद्र स्वार्थमा चुर्लुम्म डुब्न थालेपछि संस्था पनि ओरालो लाग्छ । नेपाली कांग्रेसमा यही भएको हो ।

कांग्रेसका सुधारका लागि हजार बुँदाको प्रस्ताव तयार पार्न सकिन्छ, योजना बनाउन सकिन्छ । तर, त्यो तबसम्म अर्थहीन हुन्छ जबसम्म हामी स्वार्थ त्याग गर्न   सक्दैनौं । संस्था कुनै वस्तु होइन, संस्था भनेको व्यक्तिहरुको सामूहिक अभिव्यक्ति हो । व्यक्तिमा विकार भएपछि, राजनीतिक चरित्रमा ह्रास आएपछि, क्षुद्र स्वार्थमा लागेपछि संस्थामा निरासा छाउँछ नै । अहिले नेपाली कांग्रेसमा भएको यही हो ।

कांग्रेसलाई पुर्नयौवन दिने हो भने पार्टी केन्द्रीय कार्यालय या जिल्ला कार्यालयहरुमा रंगरोगन गरेर हुँदैन, कार्यालयका फर्निचर फेरेर पनि हुँदैन । विभिन्न समितिमा बस्ने पात्रहरु फेरेर या थपेर पनि हुँदैन । नयाँ नयाँ समिति बनाएर पनि हुँदैन । यसका लागि गर्नुपर्छ स्वार्थ त्यागको संकल्प ।

स्वार्थरहित केही हुँदैन तर स्वार्थका लक्ष्मण रेखा हुनुपर्छ । पार्टीभन्दा माथि गुट, गुटभन्दा माथि उपगुट, उपगुटभन्दा माथि आफू भन्ने चरित्र कांग्रेसमा हावी भएको छ । यो चरित्र परिवर्तन नगरेसम्म कांग्रेसलाई पुर्नयौवन दिन सकिँदैन । यो चरित्र परिवर्तन गर्ने काम व्यक्ति व्यक्तिले गर्नुपर्छ। पदमा बसेकाले क्षुद्र स्वार्थ त्याग्नैपर्छ, पदमा नबसेकाले पनि त्याग्नैपर्छ ।

हजारौं हजारवटा निर्णयहरुभन्दा शक्तिशाली हुन्छ स्वार्थ त्याग गर्ने एउटा निर्णय । स्वार्थ त्याग गर्छु भनेर पुरातन पाराले निर्णय लिएर मात्र पुग्दैन, यसका लागि संकल्प व्रत नै लिनुपर्ने हुन्छ । क्षुद्र स्वार्थ त्याग गरेर म भन्दा माथि पार्टी, पार्टीभन्दा माथि देश र मानव कल्याण भन्ने सामूहिक संकल्प लिन मैले हेटौंडा भेलाको संघारमा सभापतिहरुका नाममा खुला पत्र लेखेको पनि थिएँ ।

क्षुद्र स्वार्थमा रुमलिएको हुँदा कांग्रेस आज केही देख्दैन जबकि साथमा आँखा छ । मुख छ तर बोल्नुपर्ने कुरा बोल्दैन । कान छ तर सुन्नुपर्ने कुरा सुन्दैन । त्यसैले मेरो खुला पत्रलाई पनि देखेन, खुला पत्र बारे बोलेन, खुला पत्रलाई सुनेन । आआफ्ना गुटहरुलाई बलियो पार्ने पत्र लेखेको थिएँ भने जरुर सुन्थ्यो, खासखास नेताहरुलाई बलियो या कमजोर बनाउने कुरा लेखेको थिएँ भने अवश्य सुन्थ्यो ।

अर्थात्, नेपाली कांग्रेसको आँखा, नाक, कान, मुख सहित समस्त इन्द्रियहरुको दुरुपयोग भइरहेको छ । यो दुरुपयोग रोक्ने प्रस्थान विन्दु हो, स्वार्थ त्याग गर्ने वृहत् संकल्प ।साभारsaralpatrika.com

प्रतिक्रिया जनाउनुहोस्