सरकारले मूल्याङ्कन गर्ने कामै पो के गरेको छ र ?- डा.मिनेन्द्र रिजाल

काङ्ग्रेसका केन्द्रिय सदस्य एवं सांसद डा. मिनेन्द्र रिजाल प्रष्ट वक्ताका रूपमा चिनिन्छन् । कम्युनिस्ट सरकारले ल्याएको श्वेतपत्रदेखि नीति तथा कार्यक्रम र आगामी बजेटबारे उनले सङ्घीय संसदमा काङ्ग्रेसको तर्फबाट तर्कपूर्ण धारणा राख्दै आएका छन् । उनै नेता रिजालसँग सरकारको सय दिने अवधि, सरकारका लक्ष्य, योजना र सत्तापक्षबाट गरेका प्रतिबद्धतालाई काङ्ग्रेसले कस्तो र कसरी मूल्याङ्कन गर्दैछ भनेर गरिएकाे कुराकानी 

कम्युनिस्ट नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ, सरकारले यो अवधिमा गरेका काम कारवाहीलाई प्रमुख प्रतिपक्षले कस्तो मूल्याङ्कन गरेको छ ?

सरकारको खासै मूल्याङ्कन गर्ने ठाउँमा हामी पुगिसकेका छैनौँ । त्यसरी मूल्याङ्कन गर्ने कामै पो के गरेको छ र ? यो सय दिन त उसले कुरा गरेरै मात्र विताएको छ भन्दा पनि अतियुक्ति नहोला । कुरा धेरै गरेको छ, तर काम गरेर देखाउनेतर्फ खासै छैन । सरकारलाई हामीले पहिलेदेखि नै भन्दै आएका छौँ कुरा गर्न बन्द गर्नुस्, काम गर्नुस् भनेका छौँ । स्वेतपत्र ल्याउँदा अर्थमन्त्रीले राज्यको ढुकुटी रित्तो छ भन्नुभयो, अहिले नीति तथा कार्यक्रम ल्याउँदा ढुकुटीमा जति पनि छ भन्नुभयो । अर्को हुलाकी राजमार्ग ५ वर्षमा सक्ने भनिएको छ ।

मदनभण्डारी राजमार्ग बनाउने भनिएको छ । हुलाकी राजमार्ग छोडेर मदनभण्डारी मार्ग पूरा गर्नतिर लाग्दा हुलाकी राजमार्ग सफल नहुेन हो कि भन्ने शङ्का गर्ने ठाउँ छ । हिजो मध्यपहाडी राजमार्ग शुरु गर्दा  मधेश केन्द्रीत दलहरुबाट त्यसमा असन्तुष्टि व्यक्त भएको थियो । आज पनि त्यो नहोला भन्न सकिन्न । त्यसैले प्राथमिकताबाट हुलाकी राजमार्ग सरकारले बाहिर पार्छ कि भन्ने यो एउटा चिन्ता छ । एकातिर सरकार ढुकुटी रित्तो छ भन्छ, अर्कातिर ठुल्ठुला योजना देखाउँछ । यसमा दोहोरो चरित्र देखियो ।

सरकारले लिएका लक्ष्यहरू त नराम्रा हैनन् नि, किन तपाईंहरू राम्रो कुरालाई राम्रो भन्न सकिरहनुभएको छैन ?  

अहिले कसैले यहाँ उभिएर १५ वर्षभित्र अमेरिका जस्तै बनाउँछु नेपाल भन्यो भने त्यो पनि त खराब लक्ष्य त हैन नि । भन्नका लागि त कविता लेखे पुग्छ । नीति कार्यक्रम भनेको कविता होइन, नीति कार्यक्रम अलिकता चुनौतीपूर्ण हुनुपर्छ अलिकति जनताको आशा जगाउने हुनुपर्छ । उत्साहित र प्रोत्साहित गर्ने हुनुपर्छ । यसको अर्थ गर्न नसक्ने कुरा गर्नुभएन भन्ने हो । योजना राम्रा आउँछन् तर कार्यान्वयन हुँदैनन् । म व्यवस्थापनको विद्यार्थी हुँ । महत्वकाङ्क्षी योजना बोकेर आउने अनि योजना खराब भयो भन्न हुँदैन । उदाहरणकै लागि नवौँ योजना हाम्रै पालामा बनाइयो । यो लुकाउनुपर्ने कारण नै छैन । त्यसमा के लेखियो भने २० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्छौं भनियो । आज २० वर्ष पुग्यो खै ? त्यो दस्तावेजमा पछाडिपटिट् २० हजार होइन, २२ हजार पनि भनियो । हामी यसरी गल्ती गर्दैछौं । यसकारण मैले के मात्रै भन्न खोजेको भने गर्ने हो भने काम गर्नलाई योभन्दा राम्रो समय कहिल्यै आउँदैन । सबैभन्दा राम्रो अवसर छ, राजनीतिक मुद्दा टुङ्गिएको छ ।

त्यसैले गर्न सक्ने काम गर्दै जाऊँ भनेर मैले बारम्बार भन्दै आएको छु । अर्को उदाहरण जलमार्ग बनाउने कुराको कसले विरोध गर्छ ? तर त्योभन्दा महत्वपूर्ण तमोरको जलासयुक्त आयोजना निर्माणमा जोड दिनुपथ्र्यो, जसले नेपालको सुख्खा मौसममा पनि लोडसेडिङ भोग्नुपर्दैन । विद्युत आयात गर्नुपर्दैन । हुन त जलमार्ग योजना मात्रै हो भनिएको छ । तर कतिपयलाई त जलमार्ग बनिहाल्छ भन्ने छ नि । सपना त देख्ने हो तर भुइँमा टेकेर मात्रै सपना देख्नुपर्छ भन्ने मेरो मान्यता हो ।

सपना देख्नु नै गलत हो र सपना नदेखी अर्थात योजना नै नबनाई त झन् लक्ष्यमा पुग्न सकिँदैन भन्ने मान्यता नै छ नि ? कि तपाईंहरू प्रतिपक्ष भएपछि आलोचना गर्नैपर्छ भन्ने मान्यतामा हो ? के दोहोरो आर्थिकवृद्धि दर र प्रतिव्यक्ति आय दोब्बर बनाउने कुरा योजनामा राख्नु गलत हो र ?

होइन, मैले नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दा तपाईंले भनेका कुरा राम्रा हुन् भनेर भनेको छु । अहिले नगरे कहिले गर्ने ? मैले यति मात्रै भनेँ ५ वर्षमा हामी त्यहाँ पुग्ने हो भने यो वर्ष के गर्ने त, अर्को वर्ष कति गर्ने त ? त्यसरी प्राथमिकीरण गरिदिएको भए हुन्थ्यो भनेको हो । १५ प्रतिशत कृषिमा वृद्धि गर्ने भनिएको छ । त्यसो हो भने ५ वर्षमा त्यति लगानी हुने र विकास गर्ने हो भने त्यसपछि कृषिबाट मानिस झिक्नै पर्दैन । त्यसकारण लक्ष्य र योजनामा प्राथमिकता दिएको र गम्भीर भएको पाइएन भनिएको हो ।

त्यसो हो भने सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले भन्दै आएको सुशासन र समृद्धि पूरा हुन सक्दैन भन्ने निष्कर्ष हो ?  

हैन, मेरो भूमिका के हो ? होसियारी गर्ने, चुनौती देखाइदिने हो नि । हाम्रो होसियारी र चुनौतीको सामना गर्ने सरकारले हो । हाम्रो खबरदारी र होसियारीले मात्रै उहाँहरूले सफलता लिन सक्नुहुन्छ भन्ने मेरो भनाइ हो । हामीले उहाँहरूको छेउमा बसेर ल गजब गर्नुभयो, जिन्दावाद भन्ने कि भूमिका पृथक बनाउने हो ?

समृद्धि र सुशासनका लागि सरकारले लिएका कार्यक्रमलाई प्रतिपक्षले कस्तो–कस्तो सहयोग गर्न सक्छ त ? 

प्रधानमन्त्रीले लिएको लोकतन्त्रप्रतिको निष्ठालाई म सम्मान गर्छु तर एउटा कुरा उहाँका बेलाबेलाका अभिव्यक्तिप्रति चिन्ता छ । दोस्रो कुरा यस पटक जनताको मत पाएर जुन पोजिसनमा हुनुहुन्छ, त्यो सफलताका लागि बधाई पनि दिन्छु । तर उहाँको सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रतिपक्षले पनि समर्थन गरे हुन्छ अनि फेरि गएर प्रतिपक्षमा गएर बसे भइहाल्छ नि भन्नुभयो । अर्को केपी ओलीलाई भोट हालिस् हालिनस भनेर ड्राइभरले सोध्लान् ? घरमा सोध्लान् ? पनि भन्नुभयो यो घमण्ड देखाउनु हुँदैनथियो ।

प्रधानमन्त्रीले खिसिट्यौरी गर्ने होइन, हिजो उहाँ एउटा ठाउँमा हुनुहुन्थ्यो, त्यो ठाउँबाट बोल्दा मान्छेहरूलाई रमाइलो पनि लाग्थ्यो तर आज झण्डै दुई तिहाइ भएको पार्टीको नेताका रूपमा देशको प्रधानमन्त्री हुनुभएको छ । त्यस्तो व्यक्तिले मलाई अब विपक्षी चाहिएन, विपक्षी हेर्न चाहान्न भन्ने ? मेरो बारेमा आलोचना र टिप्पणी गर्नेहरूलाई घरमा भात खान पनि समस्या पर्छ भन्नेजस्ता अभिव्यक्ति र भ्रम उहाँले त्याग्नुभएन भने मुलुक समस्यामा पर्छ । अहिले प्रधानमन्त्रीलाई जे पनि गर्न सकिन्छ भन्ने लागेको छ । जे पनि गर्न सकिने होइन, केही लक्ष्यहरूमा प्रष्ट भएर काम गरियो भने सफलता प्राप्त गर्न सकिन्छ । तर त्यसो गर्नुभएन भने सबभन्दा ठूलो गल्ती हुन्छ र त्यसबेला हामी आलोचना गर्नेहरूले नै उहाँलाई साथ दिनुपर्ने अवस्था आउनसक्छ ।

सरकार र प्रधानमन्त्रीले बढी दम्भ देखाए, जसले अफ्ठ्यारो पार्न सक्छ भन्ने बुझाइ हो काङ्ग्रेसको ? 

असाध्यै ठूलो महत्वकाङ्क्षा लिएका प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई भोलि उपलब्धि हाँसिल भएन भने सपना पूरा गर्न सकेनन् भने त्यो बेला उहाँहरूमा आउने निराशाबाट नेपाल सर्वसत्तावादी बाटोमा नधकेलियोस् । आफ्ना कुरा गर्नसक्ने तागत छ, तर गर्न नसक्ने कुरामा सपना नदेखाउनुस् । नीति कार्यक्रम अस्पष्ट छ, त्यो बजेटमा सच्याउनुस् । यदि त्यो भएन भने उहाँहरूको एक दुई वर्षको समय जान कुनै बेर लाग्दैन । केही उपलब्धि नभई जान्छ । त्यो बेलाको निराशामा यति ठूलो आन्दोलन, यति धेरैको ज्यान गएको तर उपलब्धि हुन सकेन भनेर दोष आफूतिर होइन, अरूतिरै देखाउन थाल्नुभयो भने त्यसबेला सर्वसत्तावाद जन्मन्छ । आफूले काम गर्दा अरूको हातखुट्टा, मुख बन्द गर्न थाल्नुभयो भने निश्चित रूपमा सर्वसत्तावादी बाटोमा जान्छ । हाम्रो चिन्ता त्यो हो, त्यसैले मैले बोलिरहेको छु, काङ्ग्रेसले बोलिरहेको छ, त्यो बाटोमा जानुहुन्छ भनेर भविश्यवाणी गरेको होइन । त्यस बाटोमा जाने खतरा छ, सचेत हुनुस् । नेपाल बनाउने अवसर छ । इतिहासमा कहिल्यै नभएको अवसर प्राप्त यसलाई सही सदुपयोग गर्नुस् । तर काम गर्ने शैलीले दोषी अरूलाई करार गर्ने देखिन्छ । त्यस्तो नहोस् भनेर हामीले कडा रूपमा सचेत गराइरहेका छौँ ।

तर काङ्ग्रेसले गराएको सचेत सरकारले आत्मसाथ गरेको अनुभव भएको छ ?

बोल्ने शैलीमा खासै परिवर्तन भएको पाइँदैन । त्यो हामीले खोजेको पनि होइन तर एउटा उदाहरण दिन्छु– श्वेतपत्रमा देखाएको नकारात्मक कुरा विनियोजन विद्येयकको सिद्धान्त र प्राथामिकताका केही सुधार भयो । नीति तथा कार्यक्रममा पनि हामीले अहिले गरेको टिप्पणीबाट बजेटमा सुधारियोस् भन्ने आशा गरेका छौँ । हाम्रा आलोचनालाई आत्मसाथ गर्दै बजेट धरातलमा उभिएर साँच्चै अर्थमा अवसरलाई सदुपयोग गर्ने हिसाबबाट सरकारले ल्याओस् भन्ने कामना हो ।

सरकार पक्षले अब सत्तापक्ष प्रतिपक्ष नभई मिलेर काम गरौँ भनेर गरेको प्रस्तावलाई काङ्ग्रेसले कसरी बुझेको छ । यदि कामै गर्ने हो भने मिलेर गर्न काङ्ग्रेस तयार हुन सक्दैन ?

यसमा हाम्रो तीनवटा भूमिका छ । मैले संसदमा पनि भनेको छु । पहिलो भूमिका हामीहरू सबै सँगै बसेर संविधान बनाएका हौँ । अहिले संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो पार ग¥याँै । तर , सङ्घीयतालाई परिभाषित गर्ने बेलामा हामीले भनेका समावेशी राजनीतको जग बनाउने बेलामा छौँ । तिनै तहमा निर्वाचन भए । जनताले प्रधानमन्त्री, सात मुख्यमन्त्री, ७५३ स्थानीय तहका प्रमुख उपप्रमुख मात्रै होइन, विकास खोजेको हो । त्यसैले संविधानलाई कार्यान्वयन गर्ने कुरामा हाम्रो साथ सहयोग नहुने भएन । प्राकृतिक स्रोतसाधन र वित्तीय आयोग बनाउने कुरामा सत्ता र प्रतिपक्ष हुँदैन भन्ने मेरो मान्यता हो । त्यो कुरा संसदमा पनि बोलेको छु ।

दोस्रो ५० वा सय वर्ष संसदीय वा लोकतान्त्रिक अभ्यास भएको मुलुक होइन हाम्रो । हामीले ०१६ सालबाट अभ्यास गरे पनि धेरै कठिनाइ भए, अहिले फेरि राम्रो काम गर्ने अवस्थामा पुगेका छौँ । त्यसैले बेलायत वा अमेरिकाको जस्तो सम्बन्ध हुँदैन । सत्ता र प्रतिपक्षको सम्बन्धको पनि परिभाषित गर्ने, सत्ता पक्षले कसरी व्यवहार गर्छ ? प्रतिपक्षले कसरी गर्छ ? यो परिभाषित गर्ने चरणमा छौँ ।

तेस्रो कुरा सामान्य रूपमा सत्तापक्ष र प्रतिपक्षको जुन सम्बन्ध हुन्छ, सत्तापक्षले कार्यक्रम लिएर आउने हो । त्यो कार्यक्रमका बारेमा यहाँ गर्न नसकिने ठाउँ छ भनेर हामीले एक्लै भए पनि भन्छौँ । लोकतन्त्रको यो सुन्दर पक्ष हो । खाँबो मैले बाङ्गो देखेँ भने, सरकारले नदेख्ला । मैले त्यो देख्दा त्यो अधिकार मेरो सुरक्षित हुनुपर्छ । प्रतिपक्षको काम त्यो हो । सरकारलाई हामीले मन नपर्ने कुरा ग¥यौँ भने उसलाई अझ सजगता हुने र होसियारीपूर्वक काम गर्न सहयोग पुग्छ । त्यसैले सत्ता र प्रतिपक्षको भूमिका नै सकियो भन्ने हैन । त्यो भनियो भने गलत हुन्छ । हुन त दार्शनिक रूपले हमी बेग्लाबेग्लै स्कुलबाट आएका हौँ । कम्युनिस्टको स्कुल र लोकतन्त्रवादीको स्कुलबाट । हामी प्रतिपक्षले सरकारलाई चनाखो गराएनौँ भने विपक्षको स्वर भएन भने, सरकारले आफ्नो काम ठीकसँग गर्दैन । जहाँसुकै पनि सत्ता पेलाहा हुन्छ, थिचोमिचो गर्न खोज्छ । त्यो थिचोमिचोमा भएन है भन्ने तागत नहुँदासम्म लोकतन्त्रले काम गर्न सक्दैन भन्ने मान्यता हो । त्यसकारण उहाँहरूले हामीलाई सत्तापक्षको लाममा उभ्याउन हैन कि शसक्त प्रतिपक्षका रूपमा उभियो भने सहयोग हुन्छ भनेर बुझ्नुभयो भने बेस हुन्छ ।

तपाईंले त्यसो भन्दै गर्दा अब काङ्ग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका ननिभाउने हो कि भन्ने चिन्ता पनि प्रकट भएको पाइन्छ नि ?

हामी रचनात्मक भूमिका निभाउन तयार छौँ, सक्षम छाँै । मैले अघि नै भने संविधानको कार्यान्वयनका सन्दर्भमा हामी सहयोग गर्न तयार छौँ । दोस्रो-संसदीय व्यवस्था, लोकतान्त्रिक व्यवस्था संस्थागत रूपमा सुदृढ नहुँदासम्म सत्ता र प्रतिपक्षको कतिपय स्थानमा मिलापको काम हुन्छ, त्यो पनि गर्छौं । तेस्रो-सरकार बलियो भएका बेला हामीले नडराई निर्भयतासाथ बोलेनौँ भने, भोलि कोही पनि मान्छे आफ्नो असहमति राख्न डराउने हुनसक्छ । त्यसकारण एउटा नागरिकको पनि अधिकार सुरक्षित गर्ने काम विपक्षको हुन्छ । त्यो भूमिका काङ्ग्रेसले निभाउँछ । राताेपाटीबाट साभार 

प्रतिक्रिया जनाउनुहोस्