संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं– लामो समयदेखि रिक्त सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष पदमा सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दैछ। सोमबार ४ बजे संवैधानिक परिषद्को बैठक बस्न लागेको कानुनमन्त्री शेरबहादुर तमाङले बताए।

नयाँ संविधान जारी भएपछि पहिलो पटक संवैधानिक परिषद्को बैठक बस्न लागेको हो। सर्वोच्च अदालतमा चैत १ गतेदेखि प्रधानन्यायाधीश पद रिक्त रहेको छ।

प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा तीन वर्ष स्थायी न्यायाधीश भई काम गरेका दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम न्याय परिषद्ले पठाएको छ। उनीहरुमध्ये जोशी बरियताक्रममा पहिलो नम्बरमा छन्। पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजिनामा दिए लगत्तै उक्त पद खाली रहेको छ।

सर्वोच्चमा रिक्त भएको एक महिनामा पुर्ति गर्ने कानुनी व्यवस्था भएपनि संसदीय सुनुवाई समिति नहुदाँ लामो समयदेखि प्रधानन्यायाधीश नियुक्ति रोकिँदै आएको छ।

उता अख्तियारमा दिप बस्नेतले अवकाश पाएपछि कायममुकायमको भरमा चल्दै आएको छ। हाल नविन घिमिरे अख्तियारको कायममुकायम अध्यक्ष छन्।

संवैधानिक परिषद्को अध्यक्षमा प्रधानमन्त्री तथा कानुनमन्त्री, प्रधानमन्त्रीले तोकेको मन्त्री, सभामुख र विपक्षी दलको नेता सदस्य हुने संवैधानिक व्यवस्था छ।

संवैधानिक परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाई गर्दै राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

 

प्रतिक्रिया जनाउनुहोस्