जोखिमबाट जोगिन आपतकालीन कार्ययोजना निर्माण

काठमाडौं -वर्षायाम सुरु भएसँगै रसुवामा सम्भावित विपदलाई ध्यान दिँदै जिल्ला विपद् व्यवस्थापन समितिले विशेष तयारी सुरु गरेको छ।

सोमबार समितिको बैठक बसेर यो वर्षका लागि विपद् जोखिम प्रतिकार्यका लागि मनसुन आपतकालीन कार्ययोजना निर्माण गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।

‘जिल्लामा पहिरोको जोखिम उच्च रहेको र बाढीको जोखिम पनि रहेकाले सरोकारवालासँग छलफल गरी सम्भावित जोखिम अनुसार हामीले कार्ययोजना निर्माण गरेका छौं।’

कार्ययोजना अन्तर्गत नौ वटा विषय तोकेर मनसुन आपतकालीन कार्ययोजना २०७५ निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। तोकिएको विषयमा परेका संघसंस्थालाई आवश्यक तयारी गर्न समेत पौडेलले निर्देशन दिएका छन्।

उनले भने, ‘विभिन्न विषय–क्षेत्रसँग सम्बन्धित संस्थाहरुलाई जेठ मसान्तसम्ममा बैठक बसेर कार्ययोजना बनाउन निर्देशन दिएका छौं।’

समन्वय, खोजी तथा उद्धार, खाद्य तथा कृषि, आपतकालीन आश्रयस्थल तथा गैरखाद्य सामग्री, आपतकालीन स्वास्थ्य तथा पोषण, आपतकालीन शिक्षा, खानेपानी, स्वास्थ्य तथा सरसफाइ, आपतकालीन संरक्षण, बन्दोबस्ती र तत्कालीन पुनर्लाभ गरी नौ वटा विषय राखिएको विपद व्यवस्थापन समितिले जनाएको छ।

वर्षाको समयमा कुनै घटना भएको घटेको जानकारी जिल्ला प्रशासन कार्यालयमा आएको ५ मिनेटभित्रै जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र विपद्को क्षेत्रमा क्रियाशील संघसंस्थालाई एसएमएस मार्फत जानकारी गराइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उनले विपद्को समयमा जिल्लामा सहयोग नगर्ने गैरसरकारी संस्थालाई खारेज गरिने बताएका छन्।

कार्यक्रममा विपदको समयमा सहयोग गर्न सबै संघसंस्थालाई आग्रह गर्दै उनले सहयोग नगर्ने संस्थाको दर्ता  खारेज गरिने चेतावनी दिएका हुन्।

 

प्रतिक्रिया जनाउनुहोस्