कोरियाली भाषा परीक्षा आंशिक रूपमा खारेज हुँदै

काठमाडौं-सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ । हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै आएकोमा अर्को वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने भएको छ ।
कोरियाली भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यक्षमता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए पनि कोरिया जान योग्य हुनेछ । मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरिया नेपाल शाखाका अनुसार २०१९ देखि रोजगार अनुमति प्रणाली अन्तर्गतका कोरियाली भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ छनोट प्रणाली लागू गरिने योजना रहेको जनाएको छ । शाखाका महानिर्देशक किम कि होकले रोजगार अनुमति प्रणाली लागू भएका १६ वटा राष्ट्रहरूमध्ये प्रायः सबै राष्ट्रहरूमा यस अंक प्रणाली लागू भइसकेको उल्लेख गर्दै नेपालमा घटेको अप्रत्यासित भूकम्पको कारणले लागू गर्न ढिलो भइ २०१९ बाट लागू गर्ने योजना रहेको जानकारी दिए ।
अंक प्रणाली लागू गरिएमा पहिलो चरणमा कोरियाली भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन (अतिरिक्त अंक) ल्याएको आधारलाई जोडेर कुल प्राप्तांकको आधारमा सबैभन्दा धेरै अंक ल्याउनेलाइ अन्तिम छनोटमा गरिने छ । यस प्रणाली लागू गर्नुको मुख्य उद्देश्य भनेको हालसम्म कामदारको नामावली कोरियाली भाषा दक्षताको आधारमा मात्र छानिएको जनाइएको छ ।
हालसम्म रोजगारदाताले माग गरेअनुसार काम गर्ने क्षमता, शारीरिक शक्ति, कामको अनुभवलगायत विभिन्न तत्वलाई समावेश गर्न नएसकिएको शाखाले जनाएको छ । “विदेशी कामदारहरूको दृष्टिकोणमा पनि कोरियाली भाषा दक्षता अलि कम भए पनि सीपको स्तर र कार्यक्षमता उच्च भएका इमानदार व्यक्ति नछानिनुको सीमितता छ,” शाखाले जारी गरेको सूचनामा भनिएको छ, “यस्ता सीमिततालाई सुदृढ गर्दै कोरियन भाषा परीक्षामात्र नभएर शारीरिक अवस्था, सीपको स्तर, कामको अनुभव र व्यक्तिको दक्षतालाई एकैसाथ मूल्यांकन गर्ने छनोट प्रक्रिया विकास गरिएको छ ।”
कोरियामा काम गर्न इच्छुक व्यक्तिमा कोरियाली भाषा दक्षता अलि कमजोर भए पनि सीपको स्तर उच्च हुनुका साथै कामको अनुभव धेरै भएमा इमानदार व्यक्तिलाई कोरियामा रोजगारीको मौका बढाउनको निमित्त यो प्रणाली लागू गर्न लागिएको हो । काठमाडौंमा अवस्थित सीप विकास तालिम केन्द्रमा बनिरहेको सीबीटी भवन योजनाअनुसार पूरा भएमा हाल चलिरहेको परीक्षा दिने तरिका पेपर बेस टेस्ट (पीबीटी) बाट परिवर्तन भइ कम्प्युटर वेस टेस्ट (सीबीटी) को माध्यमबाट सञ्चालन हुने छ । अर्थात हाल कागजमा नै परीक्षा सञ्चालन भइरहेका छ भने यसलाई कम्प्युटरको माध्यमबाट दिने प्रणाली विकास हुने छ ।

भाषा परीक्षामा ३८ हजार सहभागी
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत शानिबार भएको नवौं कोरियाली भाषा परीक्षामा ३७ हजार ७ सय ३ जना परीक्षार्थी सहभागी भएका छन् । शनिबार र आइतबार २ दिन ४ सिफ्टमा सञ्चालन हुने परीक्षाको पहिलो दिन परीक्षा आवेदन दिएकामध्ये ३ हजार ४ सय २९ अनुपस्थित भएकाको वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले जनाएको छ । परीक्षाका लागि काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ केन्द्रसहित २८ केन्द्र निर्धारण गरिएको थियो । ईपीएसअन्तर्गतको नवौ कोरियाली भाषा परीक्षामा अरुको नाममा परीक्षा दिने ८५ जनालाई प्रक्राउ गरिएको छ ।
ईपीएस शाखा नेपालका सूचना अधिकृत शोभाकर भण्डारीका अनुसार पक्राउ परेकालाई प्रहरीको जिम्मा लगाइएको छ । भण्डारीले भने, “नक्कली परीक्षालाई प्रचलित कानुनअनुसार कारवाही गरिने र कोरियाली भाषा परीक्षामा निश्चित समय सामेल हुन नपाउने व्यवस्था छ ।” मूल्यांकनमा कागजपत्र नक्कली ठहर भएमा सो वर्षको परीक्षालाई मान्यता दिइनेछैन र त्यसपछिको ३ वर्षसम्म रोजगार अनुमति प्रणालीको छनोट परीक्षा दिनबाट बञ्चित गरिने छ ।
प्रतिक्रिया जनाउनुहोस्