रक्तसंचार सेवाको गुणस्तर बृद्धीमा एनआरएनएको सक्रियता ।

दिपक गौतम, 
एनआरएनए एकेडेमी अन्तर्गतको रक्तसंचार समितिले नेपालको रक्तसंचार सेवामा गुणस्तर बृद्धी गर्न योजनाबद्ध काम शुरु गरेको छ ।
“दिगो र सुरक्षित रक्तसंचार” भन्ने मुख्य नाराका साथ शुरु भएको कार्यक्रमलाई प्रभावकारी बनाउन अल्पकालिन तथा दिर्घकालिन योजना निर्माण गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी, स्वास्थ्य मन्त्रालय र एनआरएनको साझेदारीमा कार्यक्रमले नेपालको रक्तसंचार सेवामा प्रयोग भइरहेको प्रविधि, प्रकृया, सिप र सोचाइमा गुणात्मक सुधारको लक्ष लिएको छ ।
अल्पकालिन योजनामा प्राविधिक क्षमता अभिबृद्धी अन्तर्गत नियमित शिक्षा तथा तालिम प्रविधि तथा सामाग्रि सहयोग, अनुगमन, डाटाबेस निर्माण जस्ता कार्यक्रम रहेका छन ।
अल्पकालिन योजना अन्तर्गत नै नेपालका विभिन्न रक्तसंचार केन्द्रमा कुलर व्याग वितरण गर्ने समितिको योजना रहेको छ । हाल प्रयोग भइरहेका कुलर व्यागलाई प्रतिस्थापन गरि नयाँ व्याग वितरण गर्न केहि जिल्लाका लागी सहयोगदाता समेत भेटिइसकको समितिका संयोजक फडिन्द्र पन्तले बताए ।
दिर्घकालिन योजनामा मानब श्रोत साधन व्यावस्थान र नयाँ नयाँ मेसीन एवं प्रविधिको स्थापनाका लागी प्राविधिक एवं आर्थिक सहयोग गर्ने रहेको छ ।
कार्ययोजना पुरा गर्न आउँदा २ बर्षमा करिव २ लाख अमेरिकि डलर रकम संकलन गर्ने महत्वकांक्षि योजना समेत समितिले लिएको छ । रकम संकलनका लागी नेपाल तथा विभिन्न देशमा च्यारीटी कार्यक्रमहरु संचालन गरिने छन् ।
प्रारम्भीक चरणको कामका लागी गत बर्ष मात्र एनआरएन मार्फत ५५ हजार युरो खर्च भएको छ ।
एनआरएनएका बर्तमान अध्यक्ष भवन भट्ट सम्मिलित टिबिआई गु्रप, एनआरएन नेदरल्याण्ड र नेदरल्याण्डको सेन्क्वीन नामक संस्थाको आर्थीक एवं प्राविधिक सहयोगमा यो कार्यक्रम संचालन भइरहेको छ ।
नेदरल्याण्डका एनआरएनको अगुवाइमा शुरु भएको रक्तसंचार कार्यक्रमलाइ एनआरएनए को ४० औ आइसिसी वैठकले आफु माहतहत संचालन गर्ने निर्णय गरेको थियो ।
आइसिसीको निर्णयपछि रक्तसंचार कार्यक्रम एनआरएनको मात्र भएन त्यसले टिविआई गु्रपबाट आर्थीक सहयोग समेत पायो ।
तत्कालिन समितिले नेपालको रक्तसंचार सेवाको वास्तविकता थाहा पाउन र पेशागत दक्षता बृद्धी गर्न २०१७ को जुलाइमा नेपालमा प्राविधिक गुणस्तर व्यावस्थापन तालिम संचालन गरेको थियो ।
रक्तसंचार क्षेत्रका प्राविधिक तथा स्वयंसेवीहरु संलग्न सो तालिम एवं रक्तसंचार केन्द्रको स्थलगत भ्रमण गरि सवल र दुर्बल पक्षको विश्लेषणका आधारमा योजना निर्माण गरेको हो ।
सोहि योजना अनुरुप यहि फेब्रुअरी ११ गते देखि १९ गते सम्म नेदरल्याण्ड एनआरएनको आयोजना तथा टिविआई ग्रुप र सेन्क्वीन नेदरल्याण्डको सहयोगमा टेक्नोलजी ट्रान्सफर मिसन सम्पन्न भएको छ ।
मिसनमा नेपाल रेडक्रस सोसाइटीका सभापति सन्जिव थापा, एक्जुकेटिभ डाइरेक्टर उमेश ढकाल, केन्द्रिय रक्तसंचार सेवा प्रमुख डा.मनिता राजकर्णिकार, गुणस्तर अधिकृत श्रवण श्रेष्ठ, कार्यक्रम अधिकृत राम बहादुर श्रेष्ठ, क्षेत्रिय रक्तसंचार सेवा चितवनका प्रमुख रमेश कुमार पौडेल र रक्तसंचार सेवा विरगंजका प्रमुख प्रविण मानन्धरको सहभागीता रहेको थियो ।
कार्यक्रममा रक्तसंचार क्षेत्रका विकसित प्रविधि बारे जनकारी दिनुका साथै नेपालमा रक्तसंचार सेवाको गुणस्तर बृद्धीबारे छलफल भएको थियो ।
उपचार प्रकृयामा रक्तजन्य उत्पादनको प्रयोग व्यापक भइरहेको बर्तमान अवस्थामा नेपालीहरुको जिबन संग प्रत्यक्ष सरोकार राख्ने रक्त संचार सेवाको गुणस्तर बृद्धीले नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने संयोजक फडिन्द्र पन्तको भनाइ छ ।
“विदेशमा रहेका नेपालीहरुले सिकेको सिप, दक्षता र कमाएको २ पैसा सामाजिक कार्यक्रममा लगाउन खोज्नु निकै सकारात्मक छ”क्यानडास्थित विनिवेगो जेनेरल अस्पतालको रक्तसंचार समितिका सदस्य शुरेसराज गौतम भन्छन् “यस्ता कार्यक्रमले एनआरएनको लोकपृयता बढाउँछ” ।

प्रतिक्रिया जनाउनुहोस्