आर्थिक समृद्धिको ढोका खाेल्दै कालिगण्डकी करिडोर

बागलुङ,- ‘गाई बाख्रा चराउने पाखा पखेरा र बाँदर हिड्ने भिरमा धुलो उडाउदै गाडी आउला भन्ने कल्पनै थिएन् बागलुङ, जैमिनी ५ विनामारेका देवीदत्त पौडेललाई, उमेरले ७० बर्ष पुगेका पौडेललाई यति छिटो आएको परिवर्तन अहिले सपना जस्तो लाग्छ । उनले कल्पना पनि गरेका थिएनन आफ्नै घर नजिकबाट कालिगण्डकी करिडोर जान्छ र मोटर गुडछ भनेर । पुराना दिन सम्झिदै पौडेलले भन्छन्–‘ऊ बेला हप्तौ दिन लगाएर बटौली बजार नुन लिन जानुपथ्र्यो । करिडोरले जोडे पछि अब ति दिन इतिहास बन्न थालेका छन ।’ मुलुकमा आएको तिव्र परिवर्तन र विकास देखेर उनी दङ्ग छन् । पौडेललाई सपना जस्तो लाग्ने विकासले बागलुङ, गुल्मी लगायतका धेरै जिल्लाका कालीगण्डकी नदि किनार आसपासका गाउँका बासिन्दालाई उत्साह थपेको छ ।

पोखरा, मुग्लिङ, नारायणगढ र स्याङजा, पाल्पा हुँदै बुटवल पुग्न गाडीमा १२ घण्टा लाग्ने जिल्लाको दक्षिण क्षेत्रका बासिन्दा अब चार घण्टामै बुटवल पुग्ने भएका छन । कालीगण्डकी करिडोरले बागलुङ, गुल्मी लगायतका आसपासका क्षेत्रका बासिन्दालाई आर्थिक समृद्धिको नयाँ ढोका खोलेको छ । करिडोरले मुख्य सडक सञ्जालबाट बञ्चित रहेको जैमिनी ८ छिस्ती लाई सडक सञ्जालसँग जोडिदिएको छ नै । यसका साथै जैदी, बिनामारे, अर्जेवा, कुश्मिशेरा, नारायणस्थान, अमलाचौर लगायतका दर्जन बढी स्थानलाई सुगम समेत बनाएको छ । करिडोरमा बागलुङको कुश्मिसेरा देखी बुटबल हुँदै सुनौली सम्म सिधा बस संचालनमा आएका छन । गुल्मीको रिडीदेखी पुर्तिघाट सम्मको ट्रयाक खुलेपछि बागलुङ, पर्वत, स्याङ्जा, गुल्मीका बासिन्दाको दैनिकी समेत फेरिन थालेको छ ।

आर्थिक समृद्धि र सामाजिक विकासको मेरुदण्ड
करिव ४ सय ३५ किमिको कालीगण्डकी करिडोर नेपालको आर्थिक समृद्धि र सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ ।
कालीगण्डकी नदी वारिपारिका दुई छिमेकी जिल्लाहरूको कृषि, पर्यटन, विद्युत, उद्योग र व्यवस्थित बसोबासका लागि थुप्रै अवसरहरू समेत अब सिर्जना हुने बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारी बताउँछन् । ‘सडक सञ्जाल जोडिए पछि करिडोरमा पर्ने जिल्लाका अधिकांश गाउँ बजारमा परिणत भएका छन,’ भारीले भने, ‘सदरमुकाम देखि हप्तौं लाग्ने विभिन्न स्थानमा सडक पुगेपछि व्यापार केन्द्रमा परिणत भएका छन । जिल्लाकोे व्यवसायिक सम्भावना फराकिलो भएको छ ।’ व्यापारिक मार्गका रूपमा करिडोरलाई विकास गरी विभिन्न ठाउँमा बस्ती बसाइ बागलुङलाई व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने उनले बताए ।

कृषि उपजले बजार पाउन थाले
पुर्खौंदेखि तराईका जिल्लासँग जोडिएका बजारहरूबाट लुगा फाटो, नुन तेल लगायत दैनिक आवश्यक सामान किनेर गुजारा चलाउनेहरु अहिले व्यापारी बन्न थालेका छन् । गैंडाकोट देखि कालीगण्डकी किनारको मुस्ताङ सम्म नै बजार बसेको छ । जिल्लाका पुराना बजारमा भन्दा अहिले नयाँ बनेको बस्ती र सडक छेउमा बढी व्यापार हुन थालेको व्यापारीहरू बताउँछन् ।
करिडोरले छिमेकी राष्ट्र चीन र भारत बीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्नेछ । नेपालको दक्षिण सीमा भारतको सुनौलीदेखि र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । करिडोरको ट्रयाक खुलेसँगै यस क्षेत्रमा रोजगारीको सम्भावना देखेर विदेश जाने र सुविधा खोजी शहर रोज्नेहरू गाउँमै फर्किन थालेका छन् । व्यवसायीक रुपमा गाई, बाख्रापालन, कुखुरापालन, तरकारी खेती गर्नेहरू बढेका छन् । ‘गाउँमै सडकको पहुँचले रोजगारीका धेरै सम्भावना खुलेको छ,’ जैमिनी ७ जैदीका विष्णुराज पौडेलले भने, ‘जसले गर्दा धेरैलाई यहीँ बसेर केही काम गरौं भन्ने सोच जागेको छ ।’ यातायातको सुविधाले कच्चा पदार्थ र तयारी वस्तु ढुवानीमा समेत सहज भएको छ ।
अर्को तर्फ गाउँघरमा उत्पादन गरिने तरकारी लगायतका कृषि उपजले बजार पाउन थालेको पौडेलले बताए । ‘शहर बजारबाट मात्र एकहोरो आयातको अवस्थामा सुधार आउने सम्भावना बलियो बन्न थालेको छ,’ जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज शर्माले भने, ‘स्थानीय कृषि उपज बिक्री, पर्यटन प्रर्वद्धन, आयस्तरमा सुधार, व्यवसायिक सोचको विकासमा करिडोरले सकरात्मक उभार ल्याएको छ ।’
करिब ६० करोड रुपैयाँ थप आवश्यक पर्ने
२०३९ सालदेखी ट्रयाक खोल्न थालिए पनि लामो समय यतिकै अल्झिएको करिडोरको यस खण्डको काम नेपाली सेनाले सकेको हो । ०५७ सालमा कालीगण्डकी करिडोरको शिलान्यास भएको थियो । ‘शिलान्यास भए पनि काम अपेक्षाकृत रुपमा अघि बढ्न नसके पछि नेपाली सेनालाई जिम्मा दिइएको हो,’ करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले भने, ‘तिन दशक अघिदेखी अलमलमा परेको ट्रयाक तिन बर्षमै खोलेर करिडोर निर्माण कार्यलाई तिव्रता दिएका छौ ।’ बागलुङ देखी रिडि सम्म ८० किलोमिटर सडकको ट्याक नेपाली सेनाले खोलेको छ । करिडोर निर्माणका लागि करिब ८८ करोड रुपैयाँ खर्चिएको छ । बागलुङदेखी गुल्मीको रिडी सम्म करिडोर जोड्नका लागि केही स्थानमा मोटरवेल पुल बेलिव्रिज निर्माण सम्पन्न भएको छ । १५ करोडको लागतमा ५ वटा बेलिबृज र २ वटा काठेपुल निर्माण सम्पन्न भएको भट्टराईले बताए । अहिले करिडोरको ८ मिटर चौडाई रहेको छ । करिडोरको बाटो पिच नै नभए पनि साइकल रोड भएकाले मालढुङ्गादेखी गुल्मीको रिडी सम्म साइकलमै जान सकिने गरि सडक निर्माण गरिएको छ । सडकलाई थप स्तरोन्नती गरी १० मिटर चौडाईको बनाउने योजना रहेको छ । यस खण्डको सम्पुर्ण काम सम्पन्न गर्नका लागि करिब ६० करोड रुपैयाँ थप आवश्यक पर्ने भट्टराईले बताए । त्यसैगरी कालिगण्डकीको किनार हुँदै मालढुंगा बेनी सम्मको १२ दशमलब ५ किलोमिटरको लागि करिब १५ करोड रुपैयाँ आवश्यक पर्ने उनले बताए ।
भारतको सुनौली नाकादेखि चीन जोड्ने मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर ४ सय ३५ किलोमिटर लामो छ ।
कोरला नाकादेखि मुस्ताङको कागबेनीसम्म ९५ किमि, कागबेनीदेखि बागलुङसम्म ९५ किमि, बागलुङदेखि गुल्मीको रिडीसम्म ७० किमि, रिडीदेखि बुटवलसम्म ६८ किमि र बुटवलदेखि सुनौलीसम्म २५ किमि करिडोर अन्तर्गत पर्छ । यी मध्ये बागलुङ र गुल्मी खण्डमा ८० किलोमिटर ट्याक नेपाली सेनाले नै खोलेको हो । करिब ३ सय २५ किलोमिटरमा अहिले सवारी सञ्चालनमा छन् । कोरलादेखि १७ किलोमिटर उत्तर गएपछि चीनको पक्की सडकसँग यो मार्ग जोडिन्छ ।
२२ अर्ब रुपैयाँ लागत अनुमान गर्दै सरकारले तेस्रो राष्ट्रिय प्राथमिकताको आयोजनामा राखेर २०५९ देखि निर्माण सुरु गरेको थियो । त्यतिखेर २० वर्ष भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य थियो । योजना अनुसार आगामी पाँच वर्षभित्र करिडोरको जोमसोम–कोरला खण्डमा ग्राभेल र बाँकीमा पिच सम्पन्न हुँदै छ । यो करिडोर सम्पन्न भएपछि पश्चिमाञ्चल विकास क्षेत्रका ६ जिल्लाका दुर्गम भेगमा यातायात जोडेर तिनलाई सुगम बनाउने छ । यो सडकले हिमालदेखि पहाड र तराई हुँदै व्यापार विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
धार्मिक पर्यटनका लागि उत्तम मार्ग
करिडोर अन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्ड जस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् । उक्त करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउन लागिरहेका छन । कोरलाबाट दुई सय ५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि उत्तम मानिएको छ ।

सहरीकरण र बस्ती विकासका लागि नयाँ गन्तव्य
निर्माणाधीन कालीगण्डकी करिडोरको अर्को फाइदा सहरीकरण र बस्ती विकासका लागि नयाँ गन्तव्य बन्नु हो । कालीगण्डकी किनार वारिपारि गरी १५ ठाउँमा नयाँ बस्तीको विकास गरेर पहाडी र तराई क्षेत्रमा एक लाख ५० हजार धरधुरीलाई नयाँ बस्तीमा राख्न सकिने सरोकारवालाहरू बताउँछन् । करिडोर संचालन भए सँगै बलेवामा रहेको बलेवा विमानस्थल पनि संचालनमा आउने भएको छ । विभिन्न बायुसेवा निगमहरुले उडान संचालन गर्नका निमित्त बागलुङ नगरपालिका सँग सम्झौता समेत गरेका छन । आगामी चैत्रको दोस्रोे साता जहाज संचालन गरिने योजना रहेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए ।
सहरीकरण र बस्ती विकासका लागि यस क्षेत्र भौतिक पूर्वाधारमा पनि बलियो छ । करिडोर अन्तर्गत बागलुङको बलेवा, अर्जेवाको सुम्सा देखि जैदी, छिस्ती, पर्वतको फलेबास, बाच्छा, रानीपानी, बर्राचौर, गुल्मीको अर्वेणी, अस्लेवा, स्याङ्जाको मिर्मी, बिर्घा, चापाकोट, पाल्पाको रामपुर, अर्गली र नवलसरासीको गुग्लीङटार देखि कुस्टार सम्म नयाँ बस्ती विकास गर्न सकिन्छ ।

कालीगण्डकी करिडोरका रुपमा काम सुरु हुनुपर्व नै सरकारले व्यापारिक पारवहन मार्गका रुपमा देशभर ८ वटा उत्तर दक्षिण करिडोरको परिकल्पना गरेको थियो । मुस्ताङको कोरलाबाट बेनी, कुश्मा, मिर्मी, पाल्पा हुँदै रुपन्देहीको बेलहिया जोड्ने योजना थियो । पछि कालीगण्डकी करिडोर योजना अगाडी सारिए पछि राम्दी पुल, गुल्मीबाट कालीगण्डकी किनारै किनार पाल्पा हुँदै बुटवल झरेर भारतको सुनौली पुग्न सकिने गरि काम अघि बढाइएको छ ।
यो मार्गको आसपासमा नेपालमा भएका प्रायः सबै संस्कृति र जातजातिको बसोवास छ । ‘जलस्रोत, पर्यटन, जैविक विविधता र कृषि नै करिडोर निर्माण पछिका विकासका सूचक हुन्’, स्थानीयको जीवनस्तर उकास्न यो मार्ग कोसेढुगा साबित हुने पुर्व सांसद प्रकाश शर्मा पौडेल बताउँछन । पौडेलले आफुले कालिगण्डकी करिडोरको ट्याक खोल्न नेपाली सेना सँगको समन्वयमा ठुलो भुमिका निर्वाह गरेको दाबि गर्दछन । चीनको कोरला नाका र भारतको सुनौली नाकालाई जोड्ने यो मार्गको पूर्ण सञ्चालनले तराईदेखि हिमालकै बहुआयामिक विकास हुनेछ । लामो समयदेखि यो सडक बनाउन क्रियाशील पौडेलले भने, ’सामान्य नागरिकदेखि राज्य तहसम्म नै यो करिडोरले प्रत्यक्ष फाइदा पु¥याउँछ ।’ यो सडकमा पूर्व– पश्चिम जोड्ने मध्यपहाडी राजमार्ग पनि जोडिने हुँदा आर्थिक समृद्धिका लागि यो मार्ग उत्तम हुनेछ । यहाँका विभिन्न क्षेत्रमा रहेका फलामखानी, सिसाखानी र कालीगण्डकी किनारमा पाइने सुुनबाट धेरै फाइदा लिन सकिने छ । करिडोर निर्माणले प्रदेश नं. ४ र ५ का ६ वटा जिल्लाका १० लाख ३० हजार जनसंख्यालाई सीधा सडक सञ्जालमा जोड्नेछ ।

करिब २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिन
उत्तरदेखि दक्षिणसम्म नै कालीगण्डकी किनारमा पर्ने उक्त करिडोरमा करिब २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ । ऊर्जा इन्जिनियरहरूले कालीगण्डकी आसपासबाट उक्त परिमाणमा विद्युत् उत्पादनको सम्भाव्यता औंल्याएको करिडोर सरोकार समितिले जनाएको छ ।
पर्यटन व्यवसाय फस्टाउनु
कालीगण्डकी करिडोरको अर्को फाइदा पर्यटन व्यवसाय फस्टाउनु हो । उत्तर–दक्षिण छोटो मार्ग पाएपछि सबै पर्यटकले यही मार्ग नै प्रयोग गर्नेछन् । विशेषगरी धार्मिक पर्यटकका लागि यो मार्ग उपयुक्त मार्ग बन्न सक्छ । यस खण्डमा यातायात संचालन सँगै आन्तरिक तथा बाह्र पर्यटकहरु आउन थालेको कालिगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद बहादुर थापा मगरले बताए । अहिले सडक संजाल जोडिए सँगै यस क्षेत्र हुँदै बागलुङ कालिका, र मुक्तिनाथ जाने पर्यटकहरु बढदै गएका छन मगरले भने, ‘यहाँको आर्थिक समृद्धिका लागि करिडोर मुख्य मार्ग बन्ने विश्वास छ ।’ कालीगण्डकीको स्नानपछि यहाँ रहेका धार्मिक स्थलहरू पर्यटकले एकै दिनमा भ्रमण गरेर सक्नेछन् । लुम्बिनी आएका पर्यटकलाई मुक्तिनाथ लैजान र मुक्तिनाथमा आएकालाई लुम्बिनी पु¥याउन यो मार्ग उपयुक्त विकल्प रहेको मगरले बताए । हिन्दु र बौद्ध धर्मावलम्बीहरूले यो मार्गको प्रचुर उपयोग गर्न सक्नेछन् ।
हिमालदेखि भारतको त्रिवेणीसम्म नुन बोक्ने प्राचीन रेशम मार्गमा यो करिडोर निर्माण भइरहेकाले यसले ऐतिहासिक महत्व राख्ने सरोकारवालाहरु बताउँछन । यस मार्ग चीनको कोरला नाकासँग जोडिएपछि त्यहाँबाट मानसरोवरसम्म पुग्न करिब पौने तीन सय किलोमिटर मात्र दूरी पार गर्नुपर्ने हुनाले हिन्दुहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ हुँदै भगवान् शिवको तपोभूमि कैलाश मानसरोवरसम्मको धार्मिक पर्यटनको सम्भावना समेत यसले जोड्नेछ ।

प्रतिक्रिया जनाउनुहोस्