नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण

मोहनविक्रम सिंह-
नेकाभित्र नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ भनेर एउटा अभियान नै चलिरहेको छ । त्यसको लागि महासमितिको बैठक र महाधिवेशनको समेत माग भइरहेको छ । त्यो अभियान एकैसाथ सही र गलत दुवै छ । अहिलेको नेतृत्वमा परिवर्तनको प्रश्नले निर्णयार्थक महत्व राख्दछ । त्यसका कारणले नै चुनावमा नेकाको ठूलो हार भयो । वर्तमान नेतृत्वको विरोध गर्ने नयाँ पुस्ताले नेतृत्वको कार्यशैलीको कारणले नै चुनावमा त्यसको हार भएको बताएका छन् । कार्यशैली एउटा पक्ष हो । तर त्यो एक मात्र वा मुख्य पक्ष होइन, मुख्य पक्ष नीति हो । अहिलेको नेतृत्वको नीति नै गलत छ, त्यसकारण मुख्य रूपले त्यो नीतिका कारणले नै त्यसको चुनावमा हार भएको हो । नेकाको नेतृत्वमा परिवर्तन हुनुपर्छ भनेर अभियान चलाउने पक्षले अहिले नेकाको नेतृत्वले अपनाएको नीतिमा नै परिवर्तन हुनुपर्छ भन्ने कुरा उठाइरहेको छैन । त्यसकारण उनीहरूको अभियानको मूल चरित्र र अभिप्राय नै गलत छ ।
नेकाले आफ्नो सम्पूर्ण इतिहासमा कुन प्रकारको नीति अपनायो र कुन प्रकारको भूमिका खेल्यो ? अहिले हामी त्यो कुराको चर्चा गर्नपट्टि लाग्दैनौँ । यहाँ हामीले आफूलाई माओवादी केन्द्रसँग गठबन्धन गरेर सत्तामा पुगेपछि त्यसले अपनाएका नीतिहरूको चर्चासम्म नै आफूलाई सीमित राख्ने छौँ । त्यसले अपनाएको त्यस प्रकारको नीतिको मुख्य पक्ष हो ः भारतपरस्त नीति । त्यसले तराईमा चलिरहेको राष्ट्रिय विखण्डनको आन्दोलनप्रति सम्झौतपरस्त नीति अपनायो । त्यस सिलसिलामा संसदमा प्रस्तुत गरिएको दोश्रो संविधान संशोधन विधेयक विशेष रूपले उल्लेखनीय छ । त्यसका त्यस प्रकारका कार्यहरूबाट त्यो देशको राष्ट्रियताको विरुद्ध उभिने शक्ति हो भन्ने कुरा प्रष्ट भयो । भारतीय निर्देशनमा चीनसितको सम्बन्धको विस्तार गर्ने नीतिमा बाधा हाल्ने नीतिका कारणले पनि त्यसको छवि धेरै धमिलो भएको थियो । माआवादी केन्द्र पनि नेकाको त्यस प्रकारको व्यवहारसित मुछिएर वद्नाम भएको थियो । नेकासितको गठबन्धनबाट अलग भएपछि र दोश्रो संविधान संशोधन विधेयकका विरुद्ध महत्वपूर्ण भूमिका खेलेको एमालेसित गठबन्धन गरेपछि त्यसको पहिलेको बदनामी धेरै नै पखालियो ।
प्रधानन्याधिशका विरुद्धको महाभियोगको प्रस्ताव, आइजीपी प्रकरण, चरम प्रकारको भ्रष्ट र नोकरशाही कार्यपद्धति, पहिले राजासित साँठगाँठ गरेको इतिहास, त्यो सङ्गठनभित्र बढेका राजापरस्त, हिन्दू राष्ट्र पक्षपाति विचारहरू आदिका कारणले पनि नेकाका विरुद्धको जनमतले देशव्यापी रूप लिएको थियो । यी सबैमाथि जोडियो ः नेकाको नेतृत्वले आफ्नै पार्टीभित्र अपनाएको अप्रजातान्त्रिक वा अधिनायकवादी कार्यशैली । त्यसरी शेरबहादुरको कार्यशैली उनको सम्पूर्ण नीति वा भूमिका एउटा गौण र सहायक पक्ष मात्र हो । तर अहिले नेकाभित्रको नयाँ पुस्ताले देउवाले अपनाएको त्यो गौण पक्षको मात्र विरोध गरेर नेतृत्वमा परिवर्तन गर्न खोज्दैछन् । त्यो अवस्थामा सम्भवतः उनीहरू अहिलेको नेतृत्वलाई बदलेर नेतृत्वमा पुग्न सफल होलान्— तर त्यो पनि निश्चित छैन, तर देउवाको सम्पूर्ण नीति वा राजनीतिक पक्षमा परिवर्तन गर्ने उनीहरूले उद्देश्य राख्दैनन् र उनीहरूको वर्गीय राजनीतिक चरित्रले गर्दा उनीहरूका लागि त्यो सम्भव पनि छैन । वास्तवमा उनीहरूको सङ्घर्ष देउवाले अपनाएको नीतिमा परिवर्तनका लागि होइन पनि । त्यो खालि नेतृत्वको लागि मात्र सङ्घर्ष हो ।
एमालेको उदाहरण पनि हाम्रा अगाडि छ । त्यसले ७० वर्षको उमेरपछि नेतृत्वमा बस्न नपाइने नियम बनाएको छ । त्यस अनुसार त्यसका कैयौँ पूराना नेताहरू विस्थापित भएका छन् वा हुने क्रममा छन् । कुनै व्यक्ति कति उमेर पुग्दासम्म नेतृत्वमा रहने वा त्यसबाट हट्ने ? उमेरको आधारमा त्यस प्रकारको कुनै सीमा बाँध्नुलाई सही भन्न सकिन्न । कुनै व्यक्तिको उमेर ७० वर्षभन्दा धेरै कम भए पनि ऊ निष्कृय हुन्छ, शारिरिक दृष्टिकोणले अस्वस्थ भएर काम गर्न अक्षम हुन्छ । उसका नीतिहरू गलत हुन्छन् वा पार्टीको कुनै तहको कमिटिको उसमाथिको विश्वास खतम हुन्छ भने त्यस प्रकारका व्यक्तिहरूलाई पार्टी नेतृत्वबाट हटाउनु पर्ने आवश्यकता हुन्छ । तर पहिले उल्लेख गरिएका कमजोरीहरू देखा परेको अवस्थामा बाहेक कुनै व्यक्तिको उमेर धेरै भए पनि ऊ नेतृत्वमा रहिरहन सक्दछ र त्यो अवस्थामा उमेरको हिसाव गरेर मात्र नेतृत्वबाट हटाउने नीतिलाई सही भन्न सकिन्न । कम्युनिष्ट आन्दोलनकै कुरा गरौँ, माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ, होचि मिन्ह र संसारका धेरै कम्युनिष्ट नेताहरूका उदाहरणहरू हाम्रा अगाडि छन् । ती उदाहरणहरूबाट प्रष्ट हुन्छ, एमालेले निर्णय गरेको ७० वर्षको नियमले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको पद्दतिसित कतै पनि मेल खान्न । त्यो नियमले खालि नयाँ पुस्ताका मानिसहरूको नेतृत्वमा पुग्ने महत्वाकांक्षालाई मात्र प्रतिविम्बित गर्दछ । स्वयम् पूर्व माले वा एमालेभित्र पनि ७० वर्षको उमेर नपुग्दै कैयौँ नेताहरूलाई नेतृत्वबाट हटाइएका उदाहरणहरू पनि छन् ।
निश्चय नै, पूरानो पिंढी सँधै नेतृत्वमा बसिरहन सक्दैन । बृद्ध भएर काम गर्न अशक्त भएपछि वा मृत्युका कारणले पूरानो पुस्ता नेतृत्वबाट हट्नै पर्दछ र त्यो ठाउँ नयाँ पुस्ताले लिनै पर्दछ । त्यो प्राकृतिक नियम नै हो । त्यसलाई हामीले रोक्न सक्दैनौँ । तर नयाँ पुस्तामा नेतृत्वको हस्तान्तरणले मात्र, कमसेकम, कम्युनिष्ट आन्दोलनको नयाँ पुस्तामा नेतृत्वको हस्तान्तरणको आवश्यकतालाई पूरा गर्दैन । त्यो कुरा केही उदाहरणहरूबाट प्रष्ट हुनेछ । प्लेखानोभको ठाउँमा लेनिन आए, उनले क्रान्तिकारी आन्दोलनलाई धेरै अगाडि बढाए र रूसमा समाजवादी क्रान्ति सफल पारे । लेनिनको ठाउँमा स्तालिन आए र उनले रूसमा समाजवादी व्यवस्थाको निर्माण गरे । तर स्तालिनको ठाउँमा नयाँ पुस्ताबाट ख्रुश्चेभ आयो र त्यहाँ समाजवादी व्यवस्था धराशयी भयो । त्यसबाट प्रष्ट हुन्छ, पूरानो पुस्तासँग नयाँ पुस्ता नेतृत्वमा पुग्ने बित्तिकै अगाडि बढ्दछ भन्ने कुनै नियम छैन ।
चीनको उदाहरण पनि हाम्रा अगाडि छ । पूरानो पुस्तालाई नै नेतृत्वबाट हटाएर माओ नेतृत्वमा आएका हुन् । उनले क्रान्तिकारी आन्दोलनलाई धेरैमाथि उठाए र त्यहाँ नयाँ जनवादी क्रान्ति सफल भयो । उनले त्यो क्रान्तिलाई समाजवादको उच्च स्तरमा अगाडि बढाए । माओको ठाउँमा तेङशाओपिङ आएपछि चीनले समाजवादी बाटो छाडेर पूँजीवादी बाटो लियो । त्यसले के कुरा प्रष्ट हुन्छ भने पूरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्वको हस्तान्तरण नै समस्याको समाधान होइन । त्यस प्रकारको सोचाइले रूप पक्षमाथि ध्यान दिन्छ र सार पक्षको उपेक्षा गर्दछ ।
व्यक्तिगत महत्वाकांक्षा, पद वा सत्ताका लागि पूराना पींढीका वृद्ध लड्ने र उनीहरूका ठाउँमा आफूलाई स्थापित गर्ने प्रयत्न गर्ने— यो प्रतिक्रियावादी वा वुर्जुवाहरूको बिचमा पनि पहिलेदेखि नै चल्दै आएको प्रचलन हो । त्यहाँ कुनै सिद्धान्त वा नीतिहरूको प्रश्न हुँदैन, तर व्यक्तिगत महत्वाकांक्षा, पद वा सत्ताको प्रश्न नै मुख्य हुन्छ । राजा महाराजाहरूका नैे इतिहासको कुरा गरौँ । त्यहाँ नयाँ पुस्ताका मानिसहरूले आफ्ना पिता वा अग्रजहरूको हत्या गरेर राजगद्दी कब्जा गरेका थुप्रै उदाहरणहरू पाइन्छन् । विश्वको इतिहासमा त्यस प्रकारका हत्याकाण्डहरूको लामो सुचि छ । केही समय पहिले नारायणीहिटी दरवारमा भएको हत्याकाण्ड पनि त्यस प्रकारको एउटा ताजा उदाहरण हो ।
बुर्जुवा पार्टीहरूमा आफ्ना महत्वाकांक्षाहरू पूरा गर्न वा सत्ता प्राप्त गर्नको लागि प्रायशः गुटवन्दीहरू भइरहन्छन् । नेकाको इतिहास त्यस प्रकारका गुटबन्दीहरूले भरिएको छ र अहिले शेरबहादुरको नेतृत्व विरुद्ध चलिरहेको अभियान पनि त्यस प्रकारको गुटबन्दीको एउटा ताजा उदाहरण हो । जस्तो कि माथिको विवरणबाट प्रस्तुत भएको छ, अहिले नेकामा नेतृत्वमा परिवर्तनको लागि चलिरहेको अभियानको सिद्धान्त वा नीतिसित कुनै सम्बन्ध छैन । त्यो अभियानको उद्देश्य पुरानो नेतृत्वलाई हटाएर नेतृत्वमा पुग्ने उद्देश्यसम्म मात्र नै सिमित छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि नेतृत्वको लागि बारम्बार गुटवन्दी हुने वा फुटहरू हुने गरेका छन् । मधेशवादीहरू ता त्यसका लागि सबैभन्दा बढी बद्नाम छन् । मन्त्री पदका लागि उनीहरूमा बारम्बार फुट हुने गरेको थियो । अहिलेको चुनावमा आपसमा नमिलेमा आफ्नो अस्तित्व नै साफ हुने देखेपछि उनीहरूले आपसमा एकता गरेका हुन् । बुर्जुवा पार्टीमा देखा पर्ने त्यस प्रकारका प्रवृत्तिहरू कम्युनिष्ट पार्टीभित्र पनि एक वा अर्को प्रकारले देखा पर्ने गर्दछन् । कैयौपल्ट कुनै सिद्धान्त र नीतिका लागिभन्दा व्यक्तिगत महत्वाकांक्षा, नेतृत्व वा कतिपय अवस्थामा व्यक्तिगत असन्तोष, अन्तर्विरोध वा रिस–इवी र प्रतिशोधको भावनाका कारणले पनि कम्युनिष्ट पार्टीभित्र गुटबन्दी हुने, फुट हुने वा दलबदल गर्ने कार्यहरू हुने गर्दछन् । एमालेभित्रको ७० वर्षको नियम कुनै सिद्धान्त वा नीतिमाथि आधारित छैन । त्यो वास्तवमा उमेरको हद लगाएर पूरानो पींढीलाई हटाएर नेतृत्वमा पुग्नको लागि गरिएको एउटा अभ्यास मात्र हो । नत्र भने अन्त कतै नभएको जात्रा हाँडी गाउँमा भने झैं– त्यस प्रकारको नियम बनाउनु पर्ने आवश्यकता किन पर्यो ?
जस्तो किमाथि भनियो, कम्युनिष्ट पार्टीको कुनै पनि पुस्ताले कम्युनिष्ट आन्दोलनलाई सँधैभरि अगाडि बढाउन सक्दैन । त्यसकारण जुनसुकै रूपमा भए पनि त्यसका लागि नयाँ पुस्ता अगाडि आउनु पर्दछ । नेतृत्वको नयाँ पुस्तामा हस्तान्तरण हुनै पर्दछ । त्यसको कुनै विकल्प छैन । त्यसको एक मात्र विकल्प छ ः कुनै देशको कम्युनिष्ट पार्टीमा त्यसरी नयाँ पींढीले पूरानो पुस्ताको स्थान लिन सकेन भने त्यहाँ कम्युनिष्ट पार्टीको अन्त हुन्छ । त्यही प्रकारको अवस्थामा संसारका कैयौँ देशहरूमा कम्युनिष्ट पार्टीको अन्त भएको छ । जस्तो कि पहिलेमाथि पनि भनियो नेतृत्वको नयाँ पुस्तामा हस्तान्तरण नै समस्याको समाधान होइन, मुख्य आवश्यकता कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने र त्यसलाई अरू उच्च र क्रान्तिकारी रूपमा विकसित गर्ने हो । नयाँ पुस्ता त्यसका लागि उपयुक्त भएमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलन अगाडि बढ्दछ, अन्यथा त्यसले कम्युनिष्ट आन्दोलनलाई एक वा अर्को प्रकारले गलत दिशामा लैजान्छ । संसारका धेरै देशहरूमा त्यस्तो हुने गरेको छ ।
ख्रुश्चेभ र तेङ–शाओपिङहरूले रूस र चीनका महान क्रान्तिकारी आन्दोलनहरूलाई कसरी पतनको दिशामा लगे ? त्यो कुराको हामीले पहिले नै चर्चा गरिसकेका छौँ । नयाँ पींढीमा नेतृत्वको हस्तान्तरणको सन्दर्भमा हुने त्यस प्रकारको खतराप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । नयाँ पुस्ताको नाममा केही महत्वाकांक्षी र अवसरवादी व्यक्तिहरूले नेतृत्वमा पुगे भने कम्युनिष्ट आन्दोलनलाई लाभको सट्टा नोक्सान नै बढी पुग्ने सम्भावना रहन्छ । त्यस्तो हुन नदिनको लागि खालि नयाँ पुस्ता मात्र होइन, क्रान्तिकारी नयाँ पुस्ता अगाडि आउनु पर्दछ र उनीहरूमा नेतृत्वको हस्तान्तरण हुनुपर्दछ ।
नयाँ पींढीबाट आएको भन्दैमा सबैले नयाँ क्रान्तिकारी पींढीको आवश्यकतालाई पूरा गर्न सक्दैनन् । हाम्रो जस्तो देशमा नयाँ पींढीबाट आउने पार्टी सदस्यहरू अधिकतर अवस्थामा निम्न पूँजीपति वर्गबाट नै आएका हुन्छन् । मध्यम किसान, विद्यार्थी, वुद्धिजीवि, कलाकार, लेखक आदि सबैमा त्यो नियमले काम गरेको हुन्छ । लामो समयसम्म जनताको बिचमा काम, सङ्घर्षमा सहभागिता, लामो पार्टी जीवन, अनुशासनको अभ्यास, सर्वहारा दृष्टिकोणको विकासका बिचबाट गएर नै एउटा क्रान्तिकारी पींढीको निर्माण हुन्छ । कसैको त्यस रूपमा कति विकास भएको छ ? त्यो कुरा कसैको विद्धता, भाषणकला, कुनै खास बेलामा देखाएको त्याग, वलिदान र वीरता, कसैका व्यक्तिगत गुणहरू आदिका आधारमा मात्र मूल्याङ्कन गर्न मिल्दैन । एकातिर कसैको दृष्टिकोण र व्यवहारिक पक्ष र अर्कातिर, क्रान्तिकारी आन्दोलनमा उसको निरन्तरताका आधारमा नै कसैको क्रान्तिकारी चरित्रमा कति विकास भएको छ ? त्यो कुराको मूल्याङ्कन गर्नु पर्दछ ।
यससँग जोडिएको अर्को महत्वपूर्ण पक्ष हो– व्यक्तिवाद । त्यसले पनि कसैको क्रान्तिकारी चरित्रको निर्माणमा धेरै नै बाधा पुर्याउँछ । निम्न पूँजीवादी चरित्रको एउटा मुख्य विशेषता हो ः उसले व्यक्तिगत लाभका लागि नै काम गरिरहेको हुन्छ । पार्टी वा राजनीतिको क्षेत्रमा पनि उसले व्यक्तिगत लाभलाई केन्द्र बनाएर काम गरेको हुन्छ । उसले पार्टीभित्र काम गर्दा जे–जति परिश्रम गर्दछ, दुःख र कष्ट उठाउँछ, यी सबैको बदलामा उसले लाभ वा क्षतिपूर्ति चाहन्छ । यस प्रकारको क्षतिपूर्तिमा नपाएमा असन्तुष्ट हुने, निराश हुने, निष्कृय हुने, पलायन हुने वा दलबदल पनि गर्ने गर्दछ । अनुशासन बस्नु पनि उसका लागि धेरै कठिन हुन्छ । अनुशासनको अर्थ हुन्छ, सामूहिक नीति वा निर्णयहरूमा आवद्ध भएर काम गर्नु । अर्काशब्दमा, जनवादी केन्द्रीयताको सिद्धान्त मानेर अनुशासित भएर काम गर्नु । व्यक्तिवादी स्वभावले गर्दा उसमा त्यस प्रकारको क्षमताको कमी हुन्छ । पार्टीभित्र लामो समयसम्म अनुशासनको अभ्यास गरेपछि नै उसमा त्यस प्रकारको क्षमताको विकास हुन्छ । नयाँ पींढीका कार्यकर्ताहरूमा लामो समयसम्मको त्यस प्रकारको शिक्षा र दीक्षापछि नै उनीहरूमा क्रान्तिकारी चरित्रको निर्माण हुन्छ । त्यसरी क्रान्तिकारी चरित्र भएका नयाँ कार्यकर्ताहरू वा नयाँ पींढी नै नेतृत्वको हस्तान्तरणका लागि योग्य हुन्छन् । त्यस प्रकारको नयाँ पुस्ताले नै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई सही प्रकारले अगाडि बढाउन सक्दछन् ।
अहिले हाम्रो पार्टीमा नयाँ पींढीबाट आएका थुप्रै कार्यकर्ता वा नेताहरू पार्टी वा जनवर्गीय सङ्गठनहरूका बिभिन्न स्तरमा क्रियाशील छन् । त्यसरी पार्टीमा नयाँ क्रान्तिकारी पींढीको निर्माण भइरहेको छ । तर त्यो मात्र पर्याप्त छैन । नयाँ पार्टी सदस्यहरूमा पाइने निम्न पूँजीवादी प्रकारका असङ्गति र कमजोरीहरू पनि उनीहरूमा प्रशस्त मात्रामा पाइन्छन् । त्यसले गर्दा क्रान्तिकारी नयाँ पींढीको निर्माणमा कैयौँ समस्याहरू देखा पर्ने गर्दछन् । उनीहरूमा माक्र्सवादी–लेनिनवादी शिक्षा र दृष्टिकोणको विकास भएपछि नै एउटा क्रान्तिकारी पींढीको निर्माण हुन सक्दछ । तर त्यो कार्य सजिलो छैन । त्यो कार्य लामो प्रकृयाबाट गएर नै पूरा हुन सक्दछ । यसका लागि सैद्धान्तिक प्रश्नहरूमा पनि ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । कम्युनिष्ट आन्दोलनलाई कैयौँ बुर्जुवा वा स्वयम् कम्युनिष्ट आन्दोलनभित्र पाइने कैंयौँ बेग्लाबेग्लै प्रकारका विचारहरूले पनि असर पारिरहेका हुन्छन् । आफ्ना निम्न सैद्धान्तिक स्तरका कारणले पार्टीका कैयौँ सदस्यहरूले त्यस प्रकारका विचारहरूलाई अपनाउने गर्दछन् । माक्र्सवादी–लेनिनवादी दर्शनले एकातिर क्रान्तिकारी सिद्धान्त र व्यवहार, र अर्कातिर, रणनीति र कार्यनीतिका बिचमा सामाञ्ज्यसता कायम गर्दै तात्कालिक कार्यदिशा निर्धारण गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ । तर नयाँ पींढीमा रणनीतिक वा क्रान्तिकारी पक्षमा बढी जोड दिने र कार्यनीतिक पक्षको उपेक्षा गर्ने प्रवृत्ति प्रायशः देखा पर्ने गर्दछ । त्यसैले उनीहरूको बढी झुकाव उग्र‘वामपन्थी’ वा ‘वामपन्थी’ सङ्कीर्णतावादतिर हुन्छ ।
हाम्रो पार्टीको इतिहासले नै बताउँछ, प्रायशः नयाँ पुस्तामा त्यस प्रकारका सोचाइहरू देखा पर्ने गर्दछन् । सामान्यतः सैद्धान्तिक प्रशिक्षण र आलोचनाद्धारा त्यस प्रकारका समस्याहरूको समाधान हुने गर्दछ । तर कुनै कुनै बेला त्यस प्रकारका सोचाइहरूले गम्भिर भड्कावको रूप पनि लिने गर्दछन् । झापाली समूह वा माओवादीहरूका समयमा देखा परेका उग्रवामपन्थी भड्कावहरू त्यस सन्दर्भमा विशेष रूपले उल्लेखनीय छन् । तिनीहरूका विरुद्ध हामीले कडा सैद्धान्तिक सङ्घर्ष गर्नु परेको थियो । तर सँधै त्यस प्रकारको गम्भिर स्थिति उत्पन्न हुन्न र सामान्य सैद्धान्तिक प्रशिक्षण, आलोचना वा अन्तर्सङ्घर्षद्धारा पनि त्यो समस्याको समाधान हुने गर्दछ । तैपनि नयाँ पींढीको सन्दर्भमा त्यस प्रकारका सैद्धान्तिक समस्याहरूप्रति हाम्रो सँधै ध्यान जानुपर्ने आवश्यकता हुन्छ ।
अन्तमा, क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको प्रवाहलाई निरन्तरता दिन हामीले क्रान्तिकारी नयाँ पींढीको निर्माणको कार्यलाई योजनावद्ध प्रकारले अगाडि बढाउन प्रयत्न गर्नुपर्दछ । खास गरेर क्रान्तिकारी उद्देश्य, दृष्टिकोण र अनुशासनद्धारा ओतप्रोत क्रान्तिकारी पींढी तयार पार्ने कार्यलाई हामीले सङ्गठित र योजनावद्ध प्रकारले पूरा गर्ने प्रयत्न गर्नु पर्दछ । तर त्यसरी नयाँ पींढीको निर्माण गर्ने सन्दर्भमा व्यक्तिगत महत्वाकांक्षा वा नेतृत्वको भोकद्धारा प्रेरित व्यक्तिहरूलाई नै नयाँ पींढी सम्झने गल्ति गर्नु हुँदैन । तर त्यसको अर्थ उनीहरूलाई पूरै निषेध गर्नु पर्छ भन्ने पनि होइन । निश्चय नै त्यस प्रकारका प्रवृत्ति भएका कार्यकर्ताहरूलाई पनि एकातिर सैद्धान्तिक प्रशिक्षण र अर्कातिर लामो समयसम्म पार्टी कामहरूमा अभ्यस्त गराएर उनीहरूमा क्रान्तिकारी चरित्रको निर्माण गर्ने प्रयत्न गर्नु पर्दछ । त्यसरी नै नयाँ क्रान्तिकारी पींढीको निर्माण हुन्छ र उनीहरूमा नेतृत्वको हस्तान्तरणको लागि मार्ग प्रशस्त हुन्छ । तर यसबारे हामी एकदम सतर्क हुनुपर्दछ कि नयाँ पींढीका नाममा व्यक्तिगत महत्वाकांक्षाद्धारा प्रेरित काम गर्ने व्यक्तिहरूको समूहमा नै नेतृत्वको हस्तान्तरण भयो भने त्यसका दुष्परिणामहरू हुन सक्दछन् र त्यसबाट कम्युनिष्ट आन्दोलनलाई गम्भिर प्रकारको क्षति पुग्न सक्दछ ।

प्रतिक्रिया जनाउनुहोस्