धौलागिरी अञ्चल अस्पतालमा बेथिती

बाग्लुङ -स्वास्थ्य मन्त्रालयले नौ महिनाअघि धौलागिरि अञ्चल अस्पतालमा डाइलाइसिस मेसिन पठाए पनि अझैसम्म सञ्चालन भएको छैन । मिर्गाैला फेल भएका बिरामीलाई सेवा दिने उद्देश्यले मन्त्रालयले डाइलाइसिस मेसिन पठाए पनि सञ्चालनका लागि अस्पतालले पहल नगर्दा अलपत्र परेको हो ।

अस्पतालले उपकरण जडानमा चासो नदिँदा यस क्षेत्रका बिरामी डाइलाइसिस सेवा लिन हजारौँ खर्च गरेर पोखरा, काठमाडौंका अस्पतालमा जान बाध्य भएका छन् ।

उपकरण सञ्चालन नगर्नु अस्पताल व्यवस्थापनको लापर्बाही भएको बिरामीको दुखेसो छ । जैमिनी नगरपाकिला–१ का देवशर्मा आचार्यले धौलागिरि अस्पतालले सेवा नदिँदा बुबालाई काठमाडौं, पोखरा लगेर उपचार गराउँदै आएको बताए । ‘अस्पतालमा मेसिन हुँदाहुँदै पनि सेवा लिन बाहिर जानुपरेको छ ।’ देवले भने, ‘अन्यत्र जानुपर्दा धेरै आर्थिक भार व्यहोर्नु परेको छ ।’ आचार्यका ७३ वर्षीय बुबा लक्ष्मीप्रसाद मिर्गाैला रोगबाट पीडित छन् । नियमित डाइलाइसिस गर्नुपर्ने भएकाले निकै समस्या परेको आचार्यले बताए । ‘यहीँको अस्पतालमा सञ्चालन गरे ठूलो राहत हुने थियो,’ उनले भने । निजामती सेवामा कार्यरत देव जिल्ला छाडेर पटक–पटक बाहिर जानुपर्दा
हैरान छन् ।

जनशक्ति नहुँदा उपकरण अलपत्र
यस क्षेत्रका बिरामीलाई निःशुल्क उपचार सेवा दिन स्वास्थ्य मन्त्रालयले गत वैशाखमा धौलागिरि अस्पतालमा दुईवटा डाइलाइसिस उपकरण पठाएको थियो । उपकरण चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा नौ महिनादेखि मेसिन थन्किएको छ ।

उपकरण भए पनि प्राविधिक जनशक्ति अभावले सेवा दिन नसकेको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बताए । ‘उपकरण चलाउने प्राविधिक जनशक्तिको व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ,’ भण्डारीले भने, ‘यहाँ आउने बिरामीलाई पोखरा रिफर गर्छौं ।’

मिर्गाैला रोगको उपचार निःशुल्क गर्ने सरकारको निर्णयअनुसार डाइलाइसिस मेसिन पठाइएको अस्पताल विकास समितिका अध्यक्ष रामजीप्रसाद सुवेदीले बताए । ‘मेसिन सञ्चालन गर्न कम्तीमा तीन महिना तालिम गरेको दक्ष स्वास्थ्यकर्मी आवश्यक पर्छ ।’ सुवेदीले भने, ‘जनशक्तिको व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ ।’

लामो समयदेखि उपकरण प्रयोग नहुँदा मेसिनमै खराबी आउने स्वास्थ्यकर्मीको भनाइ छ । सेवा सुचारु गर्ने उद्देश्यले अस्पतालमै कार्यरत दुईजना स्वास्थ्यकर्मी र एकजना सहयोगीलाई तालिममा पठाइएको छ । अस्पतालले सेवा सुरु गर्नका लागि मानवअंग प्रत्यारोपण केन्द्रबाट एकजना दक्ष कर्मचारी माग गरे पनि मन्त्रालयले नपठाएको सुवेदीले बताए । ‘अस्पतालमा दरबन्दी अनुसारका डाक्टर र स्वास्थ्यकर्मी पनि छैनन्’ अध्यक्ष सुवेदीले भने ।

सात वर्षदेखि निर्माणाधीन भवन अझै पूरा भएनन्
सात वर्षदेखि निर्माणाधीन अस्पतालका भवन अझै पनि निर्माण सम्पन्न भएका छैनन् । अञ्चल अस्पताल भए पनि विशेषज्ञले सेवा दिन सकेका छैनन् । दरबन्दीमा आएका तीन विशेषज्ञ डाक्टर तीन महिना नबित्दै फर्केपछि सेवा थप प्रभावित भएको छ । ‘एउटा मन्त्रीले अस्पतालाई महŒव दिएर सरुवा गरेर पठाउँछन्, अर्को मन्त्री आउन नपाउँदै ती डाक्टर काज बनाएर जान्छन्,’ अध्यक्ष सुवेदीले भने, ‘अस्पताल प्रशासनलाई जानकारी नै नगराई फर्किने गरेका छन् ।’

दैनिक साढे तीन सय बिरामी आउने अस्पतालमा ल्याब सञ्चालनका लागि पनि प्राविधिक कर्मचारी अपुग छन् । पूर्वाधार अभावमा छाप्रोमा ल्याब सञ्चालन गरिएको छ ।

प्रतिक्रिया जनाउनुहोस्