हात्तिपाइले रोग निवारण अभियान फागुन दोस्रो साता सञ्चालन गरिने

बागलुङ- बागलुङ जिल्लामा आगामी फागुन दोस्रो साता हात्तिपाइले रोग निवारण अभियान सञ्चालन गरिने भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले आज सदरमुकाममा राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान सम्वन्धि जिल्ला स्तरिय क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरी यस बारेमा सरोकारवालाई जानकारी गराउदै अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।
कार्यक्रममा कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले आगामी फागुन १२, १३ र १४ गते बागलुङ जिल्लाभर हात्तिपाइले रोग बिरुद्धको अभियान सञ्चालन गरिने बताए । १२ गतेका दिन जिल्लाभर एक साथ हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिनेछ । १३ र १४ गते पहिलो दिनमा औषधि खान छुटेकाहरुलाई खुवाइनेछ ।
यसका लागि जिल्लाभरमा ४ सय ३१ स्वास्थ्यकर्मी र ९ सय ५० स्वयमंसेविका सहित २१ सय १३ जना परिचालन गरिनेछ ।
कार्यक्रममा धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सागर राजभण्डारीले कुष्ठ रोग पछि धेरै अपाङ्ग बनाउने रोग हात्तिपाइले भएकाले यसको निदानका लागि सबै लाग्नुपर्ने बताए ।
अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले बिश्वका धेरै देशहरुमा अभियान सफल भएर हात्तिपाइले निवारण भइसकेको जानकारी गराउदै नेपालमा पनि अन्तिम चरणमा अभियान सञ्चालन हुन लागेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषाल र प्रमुख जिल्ला अधिकारीले जिल्लामा अहिले नवौ पटक हात्तिपाइले रोग बिरुद्धको अभियान सञ्चालन हुन लागेकाले सबैलाई निर्धक्क भएर औषधि खान र खुवाउन आग्रह गरे । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थय कार्यालयका तेजप्रसाद न्यूरेले गरेका थिए ।

प्रतिक्रिया जनाउनुहोस्