बागलुङकी सांसद पियारीलाई प्रदेश बैठकमा प्रहरीले किन रोक्यो ?

बागलुङ— प्रदेश नं ४को बैठकमा खुरुखुरु भित्र छिर्न लागेका सांसदहरुलाई प्रहरीले फर्काउँदै लाइनमा उभ्यायो ।
सोमबार बिहान साढे १० बजेदेखि नै नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्र पोखराको गेटमा प्रदेश सांसदहरु लाइनमा उभिएका थिए ।
प्रहरीले रोक्दै गेटबाहिरै लाइनमा उभ्याएपछि प्रदेश सांसदहरु भन्दै थिए ‘हामीलाई पनि लाइन ?’, हामीले पनि यहाँनाम टिपाउनुपर्ने ?’
गेटमा एक जना प्रहरी जवानलाई फाइलमा नाम, ठेगाना, पद, फोन नम्बर टिप्न भ्याईनभ्याई थियो । एकैजनाले फाइलमा सांसददेखि पार्टीका कार्यकर्ता, कर्मचारी र पत्रकारसम्मका नाम टिप्नुपर्दा अव्यवस्थित र अमर्या्दित देखिन्थ्यो । हिँडेर आएका सांसदको नाम टिप्दा गाडीमा आएका माननीयहरु गेटभित्र छिरेको पत्तै पाएनन् प्रहरीले । सांसदका लागि प्रदेशसभा हलको बाहिर छुट्टै हाजिरी किताब थियो । तर, प्रहरी र व्यवस्थापन पक्षबीच समन्वय नहुँदा सुरुमै अव्यवस्थित देखियो ।
संसद सचिवालयले परिचयपत्र उपलब्ध नगराइसकेको अवस्थामा परिचय खुल्ने कुनै कागजात वा निर्वाचन आयोगले दिएको निस्सा लिएर सांसदलाई बैठकमा आउन आग्रह गरिएको थियो । बागलुङबाट प्रतिनिधित्व गर्ने जनमोर्चाकी सांसद पियारी थापालाई प्रहरीले गेटमा रोक्यो । थापालेआफू सांसद हुँ भने पनि प्रहरीले नपत्याएपछि नागरिकता देखाएरभित्र छिर्नुर्पयो । थापा बागलुङको सुखौराकी हुन् । जनमोर्चाकोतर्फबाट समानुपातिक सूचीमा परेकी थापा रक्तिमको सांस्कृतिक अभियानमा हिँड्दा हिँड्दै सांसद बन्ने अवसर पाएकी हुन् । सम्भबतः प्रदेश नम्बर ४की कान्छि सांसद रहेकी थापालाई सानै देखेर प्रहरीले नपत्याएको हुन सक्छ ।

प्रतिक्रिया जनाउनुहोस्