मेयरकप फुटबल प्रतियाेगितामा पाेखरा लेखनाथ र वालिङ नगरपालिका फार्इनलमा

बागलुङ-
बागलुङ नगरपालिकाकाे अायाेजनामा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबल प्रतियाेगितामा उपाधिको प्राप्त गर्नका लागि कास्कीको पोखरा लेखनाथ महानगरपालिका र स्याङजाको वालिङ नगरपालिका बिच प्रतिस्पर्धा हुने भएकाे छ ।
शनिबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएका सेमिफाईनल खेलमा पोखरा लेखनाथ महानगरले गोरखा नगरपालिकालाई ८–१ को भारी गोलअन्तरले र वालिङ नगरपालिकाले तनहुँको व्यास नगरपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् ।
एक पक्षिय भएको पहिलो सेमिफाईनल खेलमा पोखरा लेखनाथले खेलको २५ औं मिनेटमा कप्तान उत्तम गुरुङको गोलबाट खाता खोलेका थिए ।  पोखरालाई भारी अन्तरले विजयी गराउने क्रममा विजय श्रेष्ठले ह्याट्रिक गोल गरे । उनले खेलको ३३ औं, ४४ औं र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।
यस्तै पोखराको लागि खेलको ३९ औं र ४८ औं मिनेटमा भिषन गुरुङले गोल गरेका थिएभने खेलको ५५ औं मिनेटमा मैदान प्रवेश गरेका बालप्रसाद गुरुङले ७८ औं र खेलको अतिरित्त समय ९२ औं मिनेटमा गोल गरेका थिए । गोखराको लागि एक मात्र गोल खेलको ७९ औं मिनेटमा सुदिप बस्नेतले गोल गरेका थिए ।
यस्तै दोस्रो सेमिफाईनल खेलका तनहुँको व्यास नगरपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै स्याङजाको वालिङ नगरपालिका फाईनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको एक मात्र गोल वालिङका स्ट्राईकर सुरज हमाल ५५ औं मिनेटमा गोल गरेका थिए । खेलको ६२ औं मिनेटमा व्यासका दिपेश आले मगरले प्रहार गरेको बल गोलबारमा लागेर बाहिरिएको थियो भने ८० औं मिनेटमा पनि उनकै प्रहार बारमा लागेको थियो ।
खेलको ६९ औं मिनेटमा व्यासका स्ट्राईकर दिपेश आले मगरलाई वालिङका डिफेण्डर मंगल रानाले डिबक्समा फल गरेपछि पाएको पेनाल्टी विफल भएको थियो ।

व्यासका प्रेम आले मगरले प्रहार गरेको पेनाल्टी वालिङका गोलरक्षक राजा बाबु थापाले विफल पारिदिएका हुन् ।
बगलुङ नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला फुटबल संघ बागलुङको व्यवस्थापनमा नकआउटका आधारमा संचालित प्रतियोगितामा प्रदेशका ११ नगरपालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको फाईनल खेल आईतबार हुनेछ ।
मेयर कपको विजेता टोलीले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकले सम्मान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया जनाउनुहोस्