किन लागें राजनीतिमा ?

किरण पौडेल-

२०२३ माघ १० गते बाग्लुङ, बलेवाको एक निम्नमध्यम वर्गीय परिवारमा जन्मिएको हुँ । पिताजी समाजसेवी हुनुहुन्थ्यो अनि अध्ययनलेशास्त्रीसम्म पढेको पण्डित । मेरो हजुरबा, पिताजीको पुर्खौली घर, त्यही मेरो घर आजसम्म बाग्लुङकै पैयुपाटा, सातबिसे गाउँमै छ ।
पिताजी २००७ सालको क्रान्तिपछि समाज सुधारक आन्दोलमा लाग्नुभएको रहेछ । सात सालमै आफ्नो काम गरेर सानो भइँदैन ‘आफ्नो हलो आफै जोतौं भनेर हलो जोत्ने कामको सुरुवात गर्न‘भएको रहेछ । पिताजीले हलो जोतेपछि हाम्रा नातागोता सबैले (हलो जोता पण्डित) भनेर हामीले छोएको नखाने, बहिस्कार गर्नेसम्मको घटना भएको रहेछ । हजुरबाका पालादेखि नै गाउँमा कसैलाई अन्याय प‍¥यो भने पण्डितकोमा गए न्याय पाइन्छ भनेर आउने मानिसहरूले घरमा जतिखेर पनि कचहरी भइरहन्थ्यो रे । हजुरबाका बेलादेखि नै कुनै दिन कोही पाहुना नआउँदा अचम्म हुन्थ्यो भन्नुहुन्थ्यो हजुरआमाले ।
पिताजीले बाग्लुङको दक्षिण भेकमा २००७ सालदेखि नै पाठशाला, हुलाक, औषधालय, झोलुगे पुल, विमानस्थल बनाउने जस्ता सामाजिक कामको अग्रणी नेतृत्व गर्न‘हुन्थ्यो । शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा पिताजीको रुचि थियो । म सानै छँदा पनि हाम्रो घरमा पिताजीका साथीहरू कांग्रेसका थुप्रै अग्रजहरू आउनुहुन्थ्यो । पाहुनालाई राति राति उठेर खिर र आलुको तरकारी पकाएर खुवाएको अझै याद आउँछ । अग्रज नेता पाहुनाहरू म सुत्ने कोठामा बीपी कोइरालाको फोटो देख्दा खुसी हुँदै राजनीतिक गफ सुरु गर्न‘हुन्थ्यो । उहाँहरू रातिसम्म राजनीतिका गफ गर्दै बस्नुहुन्थ्यो । त्यो राजनीतिक कुराले मेरो बाल मस्तिष्कमा गहिरो छाप बसेको थियो । पिताजीको सबैलाई सम्मान गर्ने स्वभावले गाउँमा सबै कांग्रेस समर्थक हुनुहुन्थ्यो, मलाई पनि प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुन पुलिसको पिटाइ खाँदा पनि नदुख्ने र जेल बस्नसम्मको प्रेरणा गाउँ समाजको हो ।
२०३५–३६ सालको आन्दोलन हुँदा म गाउँकै त्रिभुवन मावि स्कुलमा पढ्थें । सरकारी स्कुल भएकाले त्यहाँ राजनीतिक गतिविधि हुने गथ्र्याे । हामी पढ्ने बेला स्ववियुको चुनाव भएको थियो । २०४० सालमा आइएस्सी पढ्न चितवनको वीरेन्द्र क्याम्पसमा पुगेपछि कांग्रेसी राजनीतिको अखडा गैंडाकोटमा मेरो डेरा थियो । पिताजीका अनन्य मित्रहरूको न्यानो माया र संरक्षण पाएपछि दिनदिनै आन्दोलनका कुरा सुन्नुपर्ने, लुकिछिपी भेटघाट, छलफल र बैठकहरूमा बस्ने त्यस्तै गतिविधिमा पनि मेरो रुचि बढ्दै गएको थियो । त्यसमाथि मेरो सक्रियता २०४२ सालको सत्याग्रहमा एकदिन र रातभर थुनिएर छुटेपछि भएको थियो । त्यति बेलानै मैले (प्र.) कांग्रेस बन्ने र विभिन्न राजनीतिक दलका विद्यार्थी भ्रातृसंगठनका क्रियाकलापलाई बुझ्ने अवसर पाएँ ।
पछि २०४५ सलमा त्रिचन्द्र क्याम्पसमा बीएस्सी पढ्दै गर्दा मेरो मनभित्र एउटा कुरा खेलिरहन्थ्यो । अब्बल विद्यार्थीहरू राजनीतिमा लाग्नु हुन्छ वा हँुदैन ? पञ्चायती व्यवस्था थियो, कठिन अवस्था हँुदाहँुदै शैक्षिक माग राखेर त्रिविका भिसी घेराउमा बस्दै गर्दा राति पक्राउ परियो । हनुमानढोकाको प्रहरी हिरासत पार गर्दै केन्द्रीय कारागारमा चैतदेखि साउनसम्म बस्नुप‍¥यो ।
जेलभित्रै बस्ने बेला चीनको तियानमेन चोकको प्रजातन्त्रका लागि भएको आन्दोलन र मैले सम्पादन गरेर निकाल्ने भित्ते पत्रिका ‘सदर मेल’ (जेल पात्रो) अनि त्यो बेलामा सँगै खाने र सँगै सुत्ने, विद्यार्थी राजनीति गर्न क्याम्पसका क्यन्टिनमा चिया पिउँदै वर्षौंसम्म हिँड्दा साथीभाइको संगतले राजनीतिक लत बढ्दै गयो । २०४५ सालमा स्ववियु निर्वाचनमा नेविसंघबाट स्ववियु सदस्य जितेपछि मेरो राजनीति यति गहिराइमा पुगेछ कि पत्तै भएन । सँगै पढ्ने दौंतरीहरू कोही इन्जिनियर पढ्न हिँडे, कोही डाक्टर पढ्न, कोही अमेरिकालगायतका देशहरूमा पुगे । आईएस्सी पास गरेको अब्बल विद्यार्थी भए पनि मलाई भने (प्र.) नेपाली कांग्रेसको कार्यालय जमल जाने बानी बस्यो । प्रजातान्त्रिक आन्दोलनमा लाग्ने, देशमा बहुदल ल्याउने, देश सम्पन्न र समृद्धि बनाउने भन्ने गफ सुनेर मख्ख पर्दै नेपाली कांग्रेसको सम्मेलन स्थल, चाक्सीबारी, क्षेत्रपाटीको आँगनमा पुगियो ।
२०४६ माघमा सुरु भएको सम्मेलनले फागुन ७ देखि जनआन्दोलन गर्ने भनेपछि नेविसंघका खातापातादेखि पार्टीका गोप्य दस्तावेज लुकाउनुपर्ने जति सबै मेरो कोठामा राख्ने अवसर दिनुभयो नेताजीहरूले । अब डेरा पनि दुईवटा चाहिने भयो, बागबजारमै अर्को डेरा खोजें, गैंडाकोटको घडेरी बेचेको पैसा टन्नै थियो । १०–८ जनालाई भात खुवाउन पनि दुःख थिएन । साथीभाइ मिलेर बसियो, मेस चलाइयो दाल भात खाइयो, आन्दोलन गरियो ।
२०४६ सालको जनआन्दोलनको बेला समर्पित बन्न पाएकोमा धन्य सम्झिन्छु । त्यो बेलामा मैले गरेको साहसिक योगदान व्यवस्था परिवर्तन गर्न, राजनीतिक अधिकार बहाली गर्न, नेपालीलाई रैतीबाट नागरिक बनाउन गणेशमान मन्त्र सुनेर गरेको थिएँ मैले । म आफू सफल भए, देश सफल भयो । २०४६ सालमा नै त्रिचन्द्र क्याम्पसमा नेविसंघको अध्यक्ष बन्न पाएँ । पछि नेविसंघमा केन्द्रीय सदस्य हुँदै महामन्त्रीसम्म बन्ने मौका मिल्यो । २०५१ सालमा बाँकी पृष्ठ ७ मा
नेपाली कांग्रेस बाग्लुङको जिल्ला सदस्य हुँदै २०६० सालदेखि महासमिति सदस्य रहँदै आएको छु ।
राजनीति भनेको पाउने र कमाउने व्यवसाय बनाउन म लागेको होइन । कत्तिले यसलाई यही रूपमा बुझेका पनि होलान् । तर म यहाँ एक्कासि आइपुगेको पनि होइन, धेरै कुरा त्याग गर्न सकेको हुनाले आएको हुँ । त्यागको ब्याज खान राजनीतिमा लागेको पनि होइन । मलाई अध्ययन गर्न सक्नु हुन्छ । सुख–दुःखमा साथ दिन सदा तत्पर रहिरहेको छु, एक वर्ष अगाडि राजनीतिक कामकै सिलसिलामा गैंडाकोटसम्मको यात्रा गर्दा गम्भीर दुर्घटनाबाट बचेको छु, पुनर्जन्म पाएकोमा धन्य छु ।
मैले राजनीतिमा लागेर धेरै गुमाएको छु । मैले आफ्नो उर्वर उमेरसँगै व्यक्तिगत जीवन गुमाएको छु । सधै पार्टी, संगठनभन्दा भन्दै आफ्नो पारिवारलाई समय दिन सकेको छैन । महत्वपूर्ण जग्गा जमिन बेचेर चलेको छु, इष्टमित्र, साथीभाइहरूको माया, स्नेह र सहयोग पाइरहेको छु । त्यसैले आजसम्म सगौरव बाँच्न सकेको छु । आजका दिनसम्म राज्यसत्ताको नामबाट एक रुपैयाँ सेवासुविधा लिएको छैन । २०४७ सालमा बीएस्सी, २०४९ सालमा ब्यवस्थापन विषयमा मास्टर्स गरेको हुँ । सँगै पढेका साथीभाइहरू निजामती सेवा मन्त्रालयको उच्च तहदेखि विदेशी सेनाको अफिसर भई रिटायर्ड भइसकेका छन् । म निरन्तर र अविचलित प्रजातान्त्रिक समाजवादी राजनीतिमा लागेको छु । आफ्ना अग्रजहरूलाई नियालेर हेरेको छु, नयाँ पिँढीले आदर्शलाई अंगाल्न हामीलाई हेर्न आग्रह गर्दछु ।

 

प्रतिक्रिया जनाउनुहोस्