एमाले र माओवादी एकता लम्बिने

काठमाडौं – एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता लम्बिने संकेत देखिएको छ ।

दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको वान टु वान वार्ताअनुसार मंगलबार पार्टी एकतापछि हुने पदको टुंगो लगाउन र नीति सिद्धान्त तय गर्न छुट्टाछुट्टै कार्यदल बनाउने सहमति भएको थियो ।

तर सहमतिअनुसार मंगलबारको बैठकले दुवै कार्यदल बनाउन सकेन ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि साताब्यापी भ्रमणमा निस्कने भएपछि एकता प्रक्रिया सुस्त हुने देखिएको नेताहरुले बताएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चारघण्टा बसेको बैठकले राष्ट्रियसभा र प्रदेशसभा गठन प्रक्रिया र भागबण्डा मिलाउनका लागि छुट्टै कार्यदल बनाएको छ ।

जसमा नेकपा एमालेका ३ र माओवादी केन्द्रका ३ नेता रहेका छन् । एमालेका सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रका रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् । उनीहरुले राष्ट्रियसभामा उमदेवारको भागबण्डा मिलाउने र प्रदेशसभामा बन्ने सरकारमा सहमति जुटाउने प्रयास गर्नेछन् ।

तर पद बाँडफाँट र नीति टुंगो लगाउने कार्यदल भने चयन हुन सकेन । बैठकमा सहभागी माओवादी केन्द्रका नेता रामबहादुर थापाले बाह्रखरीसँग कुरा गर्दै आन्तरिक तयारी नपुगेको बताए ।

उनले गृहकार्य बाँकी रहेकाले समिति चयन हुन नसकेको बताए । थापाले भने, “पार्टी एकताको सम्बन्धमा अझै गृहकार्य गर्नुपर्ने देखियो । थप गृहकार्य गरेर अर्को बैठकमा वैचारिक र सांगठानिक कार्यदल बनाउने भन्ने कुरा भएको छ ।’’

एकता संयोजन समितिका अर्का सदस्य नारायणकाजी श्रेष्ठले पनि वैचारिक र सांगठनिक कार्यदल एमाले अध्यक्ष केपी शर्मा ओली विदेशबाट फर्किएपछि मात्रै बनाउने बताए ।  उनले समय अभाव र आन्तरिक छलफल बाँकी रहेकाले कार्यदल निर्माण गर्न नसकेको बताए । नेता श्रेष्ठले बाह्रखरीसँग भने, “अर्को बैठकमा पद बाँडफाड र वैचारिक कार्यदलको विषयमा छलफल हुन्छ । दुवै पार्टीभित्र वैचारिक सिद्धान्तहरु रहेका छन् । त्यसलाई के गर्ने भन्ने बाँकी नै छ । जबज र माओवादको कुरा आजको बैठकमा समय अभावको कारण गर्न सकिएन । दुवै पार्टी एकता गर्ने काम सजिलो होइन ।’’

वैचारिक र सांगठनिक कार्यदल बन्न नसकेपछि पार्टीभित्रकै नेताहले आशंका व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य मणी थापाले आफूहरुले सोचेको जस्तो निर्णय बैठकबाट नआएको बताए । “एउटा निर्णय आजको बैठकले गर्नुपर्थ्यो तर सामान्य कुरामात्र भयो । यसलाई हामीले भित्रैबाट विश्लेषण गर्दा एमाले अझै पनि हामीलाई अध्यक्ष दिन तयार भएन ।”

प्रतिक्रिया जनाउनुहोस्