बागलुङ महोत्सवमा १० करोडको कारोबार ?

संगम घर्तीमगर
बागलुङ-
बागलुङ महोत्सव आइतबार सकिएकोछ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको महोत्सवमा करिब एक करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ ।
‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा तथा व्यापारको प्रवद्र्धन’ भन्ने नाराका साथ प्रदेश नम्बर ४ स्तरीयकृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव पुस १४ गतेबाट सुरु भएको थियो ।
महोत्सवका एनआरएन अध्यक्ष भवन भट्टले उद्घाटन गरेका थिए । महोत्सव पूर्णरूपमा सफल भएको र यसले यहाँको समग्र अर्थतन्त्रलाई फाइदा पु¥याउने उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले जानकारी दिएका छन् । ‘जिल्लाको समग्र आर्थिक विकासका लागि टेवा पु¥याउने उद्देश्यले हामीले महोत्सव आयोजना गरेका थियौं,’ उनले भने, ‘महोत्सव भव्यरूपमा सम्पन्न भएको छ ।’
महोत्सवले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै जिल्लाका पर्यटकीय गन्तव्यका बारेमा समेत अन्य ठाउँमा जानकारी पु¥याउन सफल भएको बताए । ‘स्थानीय उत्पादनको बजारीकरणका लागि र पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचार प्रसारका लागि महोत्सवले मुख्य भूमिका निभाएको छ,’ उनले भने, ‘महोत्सवमा आउने दर्शक पाहुनाका कारण बागलुङ बजारको व्यापारमा प्रवद्र्धन भएको छ ।’
महोत्सवमा करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको बागलुङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष विदेश श्रेष्ठले बताए । ‘हाम्रो प्रारम्भिक अनुमानमा करिब ९८ लाखको आम्दानी र ८५ लाख खर्च भएको देखिएको छ,’ श्रेष्ठले भने, ‘स्टलहरूमा पनि राम्रो व्यापार भएको छ ।
स्टलभित्र करिब १० करोडको कारोबार भएको अनुमान छ ।’ महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको ऊँट नाच ६ हजारबढी दर्शकले टिकट काटेर हेरेको ऊँट नाचका संयोजक पूर्णबहादुर केसीले जानकारी दिए । फोटो प्रदर्शनी, रमाइलो मेला र विभिन्न प्रतियोगितात्मक कार्यक्रममा पनि यहाँका दर्शको उल्लेख्य सहभागिता रहेको देखियो ।
महोत्सवमा यहाँका पर्यटकीय क्षेत्र पञ्चकोट, भकुण्डेलगायतका ठाउँमा समेत पाहुनालाई घुमाइएको छ । करिब ७० जनालाई प्रतिव्यक्ति पाँच हजार पाँच सय शुल्क लिएर हेलिकप्टरमार्फत धौलागिरिका पर्यटकीय स्थलको दृश्यावलोकन गराइएको आयोजकले जनाएको छ ।
महोत्सवमा ४० हजारबढी दर्शकले टिकट काटेर मेला अवलोकन गरेको टिकट वितरणको जिम्मा लिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बताए । ‘हामीले ४० हजार भन्दा बढी टिकट बेचेका छौं,’ शिरीषले भने, ‘टिकट किन्नेभन्दा प्रवेश पास बोक्नेको संख्या बढी देखियो । जसले गर्दा अपेक्षाअनुसारको टिकट बिक्री गर्न सकिएन ।’ दुई लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया जनाउनुहोस्