बागलुङमा पश्चिम नेपाल देख्न पाइने

संगम घर्तीमगर
बागलुङ–
भनिन्छ, तस्बिर आफंै बोल्छ । हुन पनि हो, हजारौं शब्द खर्चेर बयान गर्न नसकिने कुरा एउटै तस्बिरले भनिदिन्छ । त्यही तस्बिरको आकर्षणमा लट्ठिएपछि सशस्त्र प्रहरीका एसपी नवराज अर्यालले बागलुङ महोत्सवमा आयोजना गरिएको फोटो प्रदर्शनी मेलामा भकुण्डे बराहतालको तस्बिर हेरेपछि तत्कालै भकुण्डे जाने निर्णय सुनाए ।
‘बागलुङमा यति धेरै सुन्दर ठाउँ रहेछन्, धेरै ठाउँमा पुग्नै बाँकी रहेछ,’ फोटो हेर्दै गर्दा आफ्ना पिएसओतर्फ संकेत गर्दै उनले भने, ‘यो ठाउँ यहाँबाट नजिकै पर्दोरहेछ । यही शनिबार यहाँ जानुपर्छ है ।’
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा जारी बागलुङ महोत्सव २०७४ मा फोटो प्रदर्शनी आयोजना गरेपछि यहाँ आउनेहरूले पश्चिम नेपाललाई एउटै कोठाभित्र देख्न पाएका छन् ।
‘नेपालका धेरै ठाउँको चर्चा सुनेकी थिएँ,’ फोटो अवलोकनकर्ता गल्कोट नगरपालिकाकी कमला थापाले भनिन्, ‘अहिले पुग्न नसके पनि तस्बिरमा हेर्न पाएँ, अब त्यहाँ पुग्ने हुटहुटी बढेको छ ।’
फोटो प्रदर्शनीप्रति अवलोकनकर्ताहरू आकर्षित हुँदै गएका छन् । चार नम्बर प्रदेशस्तरको फोटो प्रदर्शनीमा अन्य पश्चिम नेपालका विभिन्न ठाउँका तस्बिरसमेत राखिएको बागलुङ महोत्सव फोटो प्रदर्शनी संयोजक अर्जुन चोखालले बताए । ‘बागलुङलाई केन्द्रबिन्दु प्रदेश नम्बर चार स्तरीय फोटो प्रदर्शनी आयोजना गरेका छौं,’ उनले भने, ‘लुम्बिनी र कर्णालीसम्मका तस्बिर पनि समावेश छन् ।’
बागलुङका दश स्थानीय तहका कृषि, पर्यटन, पशुपालन, घरेलु उत्पादन, जीवनशैली, समाज र मनोरम प्राकृतिक स्थलका आकर्षक तस्बिरहरूसमेत प्रदर्शनीमा छन् । धौलागिरि क्षेत्रका फोटोपत्रकारले खिचेका पोखरा, लुम्बिनी, मुस्ताङ, पर्वत, गुल्मी, म्याग्दी, रुकुमदेखि कर्णालीका मुगु र डोल्पासम्म फोटोहरू प्रदर्शनीमा राखिएको फोटो पत्रकार आरेक अदिप्त गिरीले बताए ।
‘फोटोको प्रदर्शनीले धौलागिरि र आसपासका क्षेत्रको पर्यटन तथा धार्मिक स्थलहरूलाई झल्काएको छ,’ गिरीले भने, ‘यसले पश्चिम नेपालको समाज र जीवनशैली बुझ्न सघाउँछ, नयाँ पुस्तालाई पनि यसमा आकर्षित गर्नु जरुरी छ ।’ यस्ता प्रदर्शनीले फोटोपत्रकारलगायत क्यामेरासँग खेल्नेलाई पनि उत्प्रेरित गर्ने उनले बताए ।
प्रदर्शनीमा गिरीसँगै फोटोपत्रकार मञ्जुल शाक्य, किरण आचार्य, राम थापा ‘अविरल’, प्रकाश बराल, नरेश कँडेललगायतका पत्रकारले खिचेका तस्बिर समेटिएको छ । मुगुको राराताल, मनाङको तिलिचो ताल, उपल्लो मुस्ताङलगायतका प्राकृतिक सम्पदाका फोटोले पनि अवलोकनकर्तालाई लोभ्याएको फोटो पत्रकार समूह बागलुङका अध्यक्ष मञ्जुल शाक्यले बताए ।
‘फोटो अवलोकन गर्न आउनेलाई त्यहाँ पुग्नका लागि प्रेरित गरेको छ,’ उनले भने, ‘बागलुङको पञ्चकोट, भकुण्डे, ढोरपाटनलगायतका ठाउँको फोटो हेरेपछि त्यहाँ पुग्न लालायित भएको देखियो ।’ पछिल्लो समय पर्यटन क्षेत्र उद्योगको रूपमा विकास हुँदै गएकाले बागलुङमा यसको विकासका लागि फोटो प्रदर्शनी आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए ।
‘यहाँको व्यापार व्यवसाय बढाउनका लागि पनि पर्यटन क्षेत्रलाई बढावा दिनु जरुरी छ भन्ने हामीलाई लागेको हो,’ भारीले भने, ‘जिल्लाका पर्यटकीय क्षेत्रहरूको मार्केटिङ गर्न सक्यौं भने जिल्लाको आम्दानीमा पनि वृद्धि हुनेछ । यसैका कारण हामीले यो कार्यक्रम राखेका हौं ।’ फोटो प्रदर्शनीले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा आयोजकले लिएको छ ।
पुस २३ गतेसम्म चल्ने महोत्सवमा अहिले दैनिक सयौंजनाले फोटो अवलोकन गर्ने गरेको आयोजकले जनाएको छ । पश्चिम प्याराडाइज नाम दिइएको फोटो प्रदर्शनीमा २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । महोत्सवस्थल धौलागिरि बहुमखी क्याम्पसको ३ नं. हलमा भइरहेको फोटो प्रर्दशनीको सुरुमा गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्टले अवलोकन गरेका थिए । अवलोकनकर्ताले आफूलाई मन परेको तस्बिर तत्कालै खरिद गरी लैजान पाउने समेत व्यवस्था मिलाइएको छ । महोत्सवले कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धनमा सहयोग गर्ने बागलुङ महोत्सवका प्रचार प्रसार संयोजक राजेशचन्द्र राजभण्डारीले बताए । (साभारःनागरिक दैनिक)

प्रतिक्रिया जनाउनुहोस्