किन ब्रेक लाग्यो चित्रबहादुरको संसद यात्रामा ?

बागलुङ—निरन्तर सांसद बन्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.को संसद यात्रामा ब्रेक लागेको छ । तीन पटक सांसद भएका के.सी. यो पाली भने सांसद बन्न नपाउने भएका छन् । दुई पटक बागलुङबाट प्रत्यक्ष निर्वाचन लडेर र एक पटक समानुपातिकबाट सांसद बनेका के.सी. अहिले पनि जनमोर्चाको समानुपातिक सूचीको एक नम्बरमा थिए ।
जनमोर्चाले समानुपातिकतर्फ अहिलेको निर्वाचनमा ६२ हजार एक सय २३ मतमात्र प्राप्त गरेको छ । जनमोर्चाले समानुपातिकमा एक सिट पनि नपाउने भए पनि के.सी. सांसद बन्ने अवसरबाट बन्चित भएका छन् । समानुपातिक सिट पाउनको लागि कुल सदर मतको तीन प्रतिशत ल्याउनु पर्ने बाध्यात्मक अवस्था छ ।
के.सी. बागलुङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने चर्चा चले पनि नेकपा मसालका महामन्त्री पत्नी दुर्गा पौडेललाई प्युठानबाट उम्मेदवार बनाउने निर्णय भए पछि के.सी. उम्मेदवार बनेनन् । एमाले, माओवादीसँग तालमेल गरेर चुनाबमा होमिएको जनमोर्चा राष्ट्रिय पार्टी नबने पछि अरु पार्टीमा विलय हुन्छ की अस्तित्वको लडाइँलाई जारी राख्छ त्यो हेर्न बाँकी छ । अहिलेको संसदमा पार्टी अध्यक्ष के.सी नभएर जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिनिधित्व गर्ने भएकी छिन् । प्रदेश नं ४को प्रदेश सभामा भने बागलुङबाट दुई जना प्रत्यक्ष निर्वाचित कृष्ण थापा र टेक बहादुर घर्ती सहभागी हुनेछन् । प्रदेश नम्बर ४बाट समानुपातिकमा पनि जनमोर्चाको सहभागिता हुने देखिएको छ ।
प्रत्यक्षमा चुनाव लड्दा पराजय हुने डरले समानुपतिकबाट सांसद बन्ने दाउमा रहेका केही नेता यसपटक हिस्स परेका छन् । समानुपातिकमा तीन प्रतिसतको सीमा (थ्रेसहोल्ड) लागेपछि केही पुराना नेता र सदावहार सांसदहरु यसपटक छुट्ने भएका छन् ।  साना दलले संसदमा थ्रेसहोल्डको बिरोध गरेका थिए ।

प्रतिक्रिया जनाउनुहोस्