एकता सभामा गच्छदारले आँशु टिलपिलाए

काठमाडाैं- प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि चहलपहल बाक्लो थियो।  तोकिएको समय ११ बजेभन्दा त्ढिलो गरी लोकतान्त्रिक फोरम र कांग्रेसको एकता सभा सुरु भयो। उपप्रधानमन्त्री समेत रहेका विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम  कांग्रेससँग एक हुने कार्यक्रम थियो।

एकता सभामा प्रधानमन्त्री शेरबहादुर देउवा र गच्छदारले एकताको दस्तावेज सार्वजनिक गरे। अनि दुबै नेताले हात मिलाए। त्यतिञ्जेल गच्छदार भावुक भइसकेका थिए।

एकछिन पछि त उनका आँखामा आँशु टिलपिलाए। उनले आँशू थाम्न सकेनन्। कांग्रेसबाट राजनीति सुरु गरेका गच्छदार १० वर्ष अघि संविधान सभा पहिलो निर्वाचन हुनुभन्दा पहिला कांग्रेस छोडेर गएका थिए। आजको एकता सभामा उनी त्यही क्षण सम्झेर रुन पुगे।

‘१० वर्ष म मधेसी जनताको आन्दोलनलाई साथ दिन गएको थिएँ,’ गच्छदारले भने, ‘त्यो दिन बालुवाटारमा गिरिजा र सुशील (कोइराला) दाजुहरु हुनुहुन्थ्यो, उहाँहरुले रोक्न खोज्दाखोज्दै पनि म गएको थिएँ, त्यतिबेला पनि म भावुक भएको थिएँ।’

उनले आफूलाई मधेसको गद्दार र कांग्रेसको पुच्छर भने पनि संविधान निर्माण र कार्यान्वयन गर्न सकेकोमा खुसी लागेको बताए। मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन’, उनले भने।

उनले राजनीतिमा भएको ध्रुविकरणपछि  आफू लोकतान्त्रिक दलको पक्षमा रहेको बताए।  ‘हाम्रो एकीकरणको कुरा धेरै अघिदेखि चलिरहेको थियो। कार्यकर्ताहरूले एकताको कुरा सुनेर उत्साहित भएको खबर पठाइरहेका छन्,’ गच्छदारले भने,  ‘अब कांग्रेस र फोरमलई एक बनाएर लाग्नुपर्छ।’

एकता सभामा बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले  मुलुकमा कम्युनिष्टले ध्रुविकरण र फेरि अस्थिरता निम्त्याउन आँटे भनेर लोकतान्त्रिक शक्तिहरू जुरमुराउन थालेका र आजको एकता त्यसैको परिणाम भएको बताए।

‘कांग्रेस लोकतन्त्रको जरो मर्न नदिन प्रतिवद्ध छ,’ पौडेलले भने,  ‘अब कांग्रेसमा कुनै भेदभाव हुने छैन हामी एक भएर जान्छौं।’

एकता सभामा बोल्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी एकता गरेकोमा गच्छदारलाई धन्यवाद दिए।

‘विजय हाम्रा नेता हुनुभएको छ, अरु साथीहरू जस्तै उहाँ पनि कांग्रेसको नेता हो,’  देउवाले भने,  ‘मलाई धेरै भन्नू छैन। उहाँले धेरै मेहनत गरेर एक बलियो एक पार्टी बनाउन लाग्नुभयो। फोरमका अरु पनि साथिहरुलाई स्वागत छ।  सेताेपाटीमा खबर छ ।

प्रतिक्रिया जनाउनुहोस्